Sunday, February 19, 2012

टेलिकम जनकपुर चुरोट बन्न सक्छ

काठमाडौं, फागुन ८ (नागरिक)- अर्थमन्त्री वर्षमान पुनले अहिलेकै पद्धतिबाट सञ्चालन भए नाफामा रहेको नेपाल टेलिकमको हालत जनकपुर चुरोट कारखानाजस्तै हुने बताएका छन्। 'अहिलेकै तरिकाबाट सञ्चालन भए टेलिकम र वाणिज्य बैकको हालत जनकपुर चुरोटजस्तै हुनेछ,' उनले चुरोट कारखाना चलाउने विषयमा सरोकारवालाको छलफलमा भने, 'संस्थान सञ्चालन तौर तरीकामा व्यापक सुधार गर्नुपर्छ।' उनले संस्थान चलाउने त्यस्तो तौर तरिका के हो बताएनन्। उनले संस्थान सञ्चालनका लागि सार्वजनिक संस्थान निर्देशक बोर्ड गठन गरिएको बताउँदै बोर्डले लिने नीतिअनुसार सबै संस्थान सञ्चालन गरिने जानकारी दिए। अर्थमन्त्री पुनले सम्भावना रहेका संस्थान सञ्चालनका लागि उद्योगमन्त्रीसँग छलफल गरिरहेको बताए।

'जनकपुर चुरोट, नेपाल औषधी लिमिटेड र गोरखकाली टायर सरकारको प्राथमिकतामा छ,' उनले भने, 'त्यसका लागि उद्योगमन्त्रीसँँग मैले छलफल गरिसकेको छु।'उनले जनकपुर चुरोट सञ्चालनका लागि आवश्यक पर्ने रकम दिन नसक्ने जानकारी दिए। चुरोट कारखाना सञ्चालक समिति र प्रशासनले काराखाना सञ्चालनका लागि तत्काललाई ६० करोड ६४ लाख रुपैयाँ माग गरेको थियो। पुनले कारखाना सञ्चालनका लागि विभिन्न मोडेलमा छलफल अगाडि बढिरहेको बताए। 'चुरोट कारखाना सरकारले आफै सञ्चालन गर्ने, सार्वजनिक-निजी साझेदारी मोडेल, लिजमा दिएर सञ्चालन गर्ने वा रसियाबाट सहयोग ल्याएर चलाउने भन्ने उपायहरूमा छलफल भइरहेको छ,' पुनले भने। उनले कारखाना सञ्चालनको लागि रसिया सरकार सकारात्मक रहेको बताउँदै उसले लगानी थप्नसक्ने जानकारी आएको बताए। उनले कारखाना तत्काल सञ्चालनको लागि सम्पत्ति धरौटीमा राखेर बैंकहरुबाट ऋण लिएर चलाउन सकिने बताउँदै त्यसका लागि उद्योग मन्त्रालयले निर्णय लिनुपर्ने जानकारी दिए। उद्योग मन्त्रालयले कारखाना धरौटीमा राखेर ऋण लिने निर्णय गरे अर्थ मन्त्रालय ऋणको व्यवस्था गर्न तयार रहेको पुनले बताए। कारखानाका निमित्त महाप्रबन्धक रामस्वरथी यादवले तत्कालका लागि कच्चा पदार्थ खरिदमा १२ करोड, मेसिन मर्मतमा २ करोड ५० लाख, पुरानो सूर्तिको भुक्तानीमा ७ करोड ७४ लाख, राजस्व तिर्न ३ करोड, फागुनसम्मको कर्मचारी तलब १३ करोड, घरभाडा र बिजुली पानीको १ करोड र अवकाश प्राप्त कर्मचारीहरूको लागि २० करोड ६० लाख गरी ७४ करोड भएमा उद्योग सञ्चालनमा आउने जानकारी दिए। प्रशासनले हाल काराखानमा ८ सय ३३ जना मजदुर रहेको, २५ करोडको कच्चा पदार्थ कुहिने अवस्थामा भएको, ३६ बिगाहा जमीन भएको र अर्बौंको मेसिन रहेको जानकारी गराएको थियो।

1 comment:

  1. concrete plan of action (work ,resources, expenses and timeline) khoi? Bolna lai tax lagdaina j bole pani bhayo.

    ReplyDelete