Sunday, February 12, 2012

प्रतिस्पर्धाबिनै मूल्यांकनकर्ता राख्न अख्तियारको निर्देशन

रामचन्द्र भट्ट, काठमाडौं, माघ २९ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमले ल्याउन लागेको आइपी (इन्टरनेट प्रोटोकल) ब्याकबोनको सामान परीक्षणको जिम्मा बेलायती क्राउन प्लाजाबाटै गराउन निर्देशन  दिएको छ।  टेलिकमले डेढ लाख इन्टरनेट ग्राहकलाई सुविधा थप्नेगरी ल्याउन लागेको आइपी ब्याकबोन सेवाको स्थलगत परीक्षण गर्न बिना प्रतिस्पर्धा क्राउन प्लाजालाई जिम्मा दिन निर्देशन दिएको हो। लन्डनमा मुख्य कार्यालय रहेको क्राउनप्लाजाको ३३ देशमा शाखा छन्। 'आइपी ब्याकबोनको विषयमा आयोगले एउटा कम्पनीको नामै तोकेर उसैबाट परीक्षण गराएर मात्र सामान किन्नू भनेर निर्देशन दिनु उचित होइन,' टेलिकमका एक अधिकारीले भने। क्राउनप्लाजाले गर्ने मूल्यांकनलाई संसारभरि विश्वसनीय मानिए पनि बिना प्रतिस्पर्धा यही कम्पनीलाई मात्र दिनू भन्नु सार्वजनिक खरिद ऐनविपरीत हो। 'क्राउन एजेन्ट सार्वजनिक खरिदको क्षेत्रमा संसारमै सबैभन्दा विश्वसनीय संस्था हो,' अख्तियार प्रवक्ता ईश्वरीप्रसाद पौड्यालले भने। उनको दाबीअनुसार यो संस्थाले प्रमाणित गरेपछि आइएसओ मापदण्ड सरह संसारभरि मान्यता दिने चलन छ। त्यही आधारमा यो कम्पनी उपयुक्त ठानिएको पौड्यालले भने। 

अख्तियारले क्राउन एजेन्टबाटै चीनको सन्चनमा रहेको जेडटिई कम्पनीको कारखाना र सामान परीक्षण गराउन निर्देशन दिएको छ। आयोगको निर्देशन आउनासाथै टेलिकमले समेत बिनाप्रतिस्पर्धा क्राउन एजेन्टलाई नै मूल्यांकन र परीक्षणको जिम्मा दिने तयारी गरेको छ। क्राउन एजेन्टले मूल्यांकन र आइपी ब्याकबोन सामानको परीक्षण गर्दा कति शुल्क लिन्छ भन्ने निश्चित समेत नभई टेलिकमले पत्राचार गरेको हो। 'हामीले क्राउन एजेन्टलाई अनुरोध गर्‍यौं,' टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने। सुरुमा इच्छुक भए पनि अहिले यो कम्पनीले चासो दिएको छैन। नेपालमा झन्डै ३० वर्षअघि बेलायती सहयोग अन्तर्गतको एउटा प्रोजेक्टमा क्राउन एजेन्टले काम गरेको थियो। काठमाडौंको बलम्बुमा जडान भएको पहिलो स्याटेलाइट केन्द्रको काम यो कम्पनीले गरेको थियो। त्यसयता क्राउन एजेन्टले नेपालमा कुनै काम गरेको छैन। बिनाप्रतिस्पर्धा क्राउन एजेन्टलाई मूल्यांकन र परीक्षणको जिम्मा दिँदा लाग्ने हिसाबसमेत टेलिकमले गरेको छैन। 'अन्तर्राष्ट्रिय कम्पनी भएकोले उसले जति माग्छ त्यसअनुसार हामी दिन भने तयार छौं,' प्रबन्ध निर्देशक सिंहले भने। अख्तियारले क्राउनप्लाजा ख्यातिप्राप्त कम्पनी भएको दाबी गरे पनि यसले गर्ने काम भने परामर्शदाताको रुपमा बढ्ता चिनिएको छ। सरकारी राजस्व, व्यापार, सार्वजनिक खरिद (ठेक्कापट्टा), सार्वजनिक क्षेत्रको सुधार, ऋण र अनुदानको प्रभावकारिता, आपूर्ति व्यवस्थाको क्षेत्रमा यसले काम गर्दै आएको छ। 'क्राउन प्लाजापनि परामर्शदातै हो, यसको सेवा लिन शुल्क तिर्नुपर्छ,' टेलिकमका अर्का एक अधिकारीले भने। अरु परामर्शदाता नियुक्ति गर्दा टेन्डरै गर्नुपर्ने प्रावधान छ। तर क्राउनप्लाजालाई भने बिना टेन्डर दिन खोजिएको छ। अख्तियारले आफूकहाँ उजुरी परेपछि केही न केही निर्देशन दिनैपर्ने भएकोले तेस्रो पक्षीय स्वतन्त्र मूल्यांकनकर्ताको रुपमा क्राउनप्लाजाबाट गराउन निर्देशन दिएको हो। दुई वर्षअघिदेखि नै यस्तै खालको राउटरलगायत उपकरण टेलिकमले जेडटिईसँग लिएर प्रयोग गर्दै आएको छ। यो उपकरणमा कुनै समस्या नभएको र सन्तोषजनक रहेको प्रमाणितसमेत टेलिकमले गरिसकेको छ। बिनाप्रतिस्पर्धा काम दिन खोज्दा पनि अहिले क्राउन एजेन्टले चासो नदिएपछि टेलिकमको महत्वपूर्ण योजना रोकिने सम्भावना बढेको छ। क्राउन एजेन्टलाई टेलिकमले पत्र लेखेको तीन साता बितिसक्दा पनि 'रेस्पोन्स' समेत गरेको छैन। यो प्रविधिबाट अहिलेको भन्दा इन्टरनेट उच्चगतिमा चल्नुका साथै टेलिकमका अधिकांश प्रविधिलाई इन्टरनेट प्रोटोकलमा आधारित बनाउँछ। यसले अहिलेको भन्दा छिटो गतिमा इन्टरनेट चल्ने र टेलिकमका अधिकांश सेवाहरु इन्टरनेट प्रविधिमा आधारित हुनेछन्। आगामी वैशाखभित्र यो प्रविधि जडान गरेर नयाँ प्रविधिमा जाने निर्णय टेलिकमले गरेको हो। अख्तियारको निर्देशन अर्को कारणले पनि अव्यावहारिक देखिएको टेलिकम स्रोतले बतायो। कम्पनीले सामान बनाउने अर्डरसमेत प्राप्त नगरि परीक्षण गर्ने विषय सम्भव होइन। टेलिकमले कम्पनीको प्रस्ताव स्वीकृत गरेपछिमात्र सम्बन्धित कम्पनीले सामान बनाउन सुरु गर्छ 

No comments:

Post a Comment