Thursday, February 9, 2012

टेलिकम टावरहरुमा सोलार ऊर्जा जडान गर्न लेखा समितिको निर्देशन

रामचन्द्र भट्ट, सिंहदरबार, माघ २६- संसदको सार्वजनिक लेखा समितिले नेपाल टेलिकमको बिटिएस (टावर) हरुमा वैकल्पिक ऊर्जा व्यवस्था गर्न निर्देशन दिएको छ। उसले अहिले खोलिएको टेण्डर चाँडो र पारदर्शीरुपमा टुङ्ग्याउन पनि सञ्चार सचिव, टेलिकमका प्रबन्ध निर्देशकलगायत पदाधिकारीलाई निर्देशन दिएको छ।  समितिले बिहीबार सञ्चारसचिव अवनिन्द्रकुमार श्रेष्ठ र प्रबन्ध निर्देशक अमरनाथ सिंहलगायत् पदाधिकारलाई बोलाई टेलिकमको सेवा गुणस्तरीय बनाउन सोलार जडान गर्न र टेण्डर प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएको हो। टेलिकमले ५३४ टावरमा सोलार जडान गर्न गत वर्ष नै टेण्डर आह्वान गरेको थियो। तर सोलार ठेकेदारहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरीद अनुगमन कार्यालय र लेखा समितिमा उजुरी हालेपछि यो प्रक्रिया अघि बढ्न सकेको छैन। समितिले टेलिकमको सेवा नयाँ प्रविधिमा लैजानका लागि सोलार ऊर्जा आवश्यक भएको बताउँदै बिजुलीबाट चल्ने टावरहरुमा समेत यस्तो व्यवस्था गर्न पनि भनेको छ। अहिले १४ घन्टासम्म लोडसेडिङ भएकाले टेलिकमको सेवा प्रभावकारी नभएको भन्दै यस समस्या तत्काल समाधान गर्न सभासद्हरुले आग्रह गरेका थिए।

No comments:

Post a Comment