Monday, February 6, 2012

टेलिकमले यो वर्ष १४ अर्ब लगानी गर्ने

कारोबार संवाददाता, काठमाडौं, २२ माघ
नेपाल टेलिकमले पूर्वाधार विकास, सेवा विस्तार, गुणस्तर सुधारलगायत ठूला तथा साना योजनामा यो वर्ष १४ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । चालू आवमा टेलिकमले जीएसएम, सीडीएमए, साधारण टेलिफोनमा १६ लाखभन्दा बढी ग्राहक संख्या थप्ने लक्ष्य राखेको छ । हालसम्म टेलिकमका ग्राहक ७४ लाख पुगेका छन् । टेलिकमको आठौं वार्षिकोत्सवमा कम्पनीका प्रवन्ध निर्देशक अमरनाथ सिंहले ग्राहक संख्या ७४ लाख नाघेको घोषणा गरे । उनले मोबाइलका ग्राहक बढ्दै गएबमोजिम सेवालाई गुणस्तरीय बनाउन कम्पनी प्रयत्नरत रहेको जानकारी गराए । “खुट्टा बाँधेर दौडमा प्रतिस्पर्धा गर्न सकिँदैन” सिंहले भने । सिंहले सार्वजनिक खरिद ऐनबाट टेलिकमलाई समस्या आएको बताए । “सार्वजनिक खरिद ऐनमा बँंधिएर निजी क्षेत्रसँग प्रतिस्पर्धामा दौडन टेलिकम सक्दैन” प्रवन्ध निर्देशक सिंहले भने, “रणनीतिक साझेदार आएपछि प्रतिस्र्धामा जान सहज हुनेछ ।” चालू आर्थिक वर्षमा टेलिकमले अगाडि सारेका योजनामा २० लाख लाइन आईपी सीडीएमए लाइन बिस्तार, नेक्स जेनेरेसन नेटवर्क (एनजीएन), पोस्टपेड, साधारण टेलिफोन र एडिएसएलको बिल एकै स्थानमा तिर्न मिल्ने ‘कन्र्भजेन्स रियल टाइम विलिङ’, प्रणाली छन् ।

पोस्टपेड मोबाइलमा कार्डमार्फत रिचार्ज, भीडभाडका क्षेत्रमा गुणस्तरीय नेटवर्कका लागि ‘मोबाइल बीटीएस भ्यान’ लगायत सेवाको गुणस्तर सुधारजस्ता क्षेत्रमा पनि टेलिकमले लगानी गर्दै छ । मोबाइलमा ग्राहकको बढ्दो रुचिलाई ध्यान दिँदै सेवामा देखिएका समस्या तथा जटिलतालाई प्राथमिकतामा राखेको प्रबन्ध निर्देशक सिंहले बताए । इन्टरनेट प्रोटोकल (आईपी) सीडीएमए लाइनको जडान कार्य सुरु भएको छ । करिब ३ करोड अमेरिकी डलरबराबरको लागतमा यो योजना सम्पन्न हुनेछ । कम्पनीका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेका अनुसार जेठसम्ममा आईपी सीडीएमए लाइन वितरण सुरु हुनेछ । यो योजनामा पुराना लाइनलाई पनि इन्टरनेट प्रोटोकल (आईपी) मा रूपान्तरण गर्न सकिनेछ । भ्वाइस र उच्च गति क्षमताको इन्टरनेट सेवा सर्वसधारणले लिन सक्नेछन  । भ्वाइस, इन्रनेट र भिडियोसमेत हेर्न मिल्ने प्रविधि नेक्स्ट जेनेरेसन नेटवर्क (एनजीएन) पनि यतिबेला कार्यान्वयन चरणमा छ । कम्पनीले यो प्रविधि लागू भएपछि सर्वसाधारणले सजिलै भिडियो डाउनलोड गर्न सक्नेछन् । टेलिकम उच्च अधिकारीका अनुसार यो योजना १ करोड अमेरिकी डलरको लागतमा सञ्चालन हुँदैछ । कम्पनीले यसैवर्ष उच्च गतिको इन्टरनेटका लागि सबै गाउँ विकासका कार्यालयमा सेवा पुग्ने गरी वाई–म्याक्स विस्तार गर्दैछ । यसका लागि कम्पनीले ७८ करोड रुपैयाँ लागत छुट्याएको छ । वायरलेस प्रविधिमा आधारित ब्रोडब्यान्ड सेवाको क्षमता विस्तारमा उपकरण खरिद गर्ने योजना छ । कम्पनीको भ्यालु एडेड सेवा आम्दानी महत्वपूर्ण स्रोत भएको भन्दै कम्पनीले चालू आवमा पनि विस्तारलाई व्यापकता दिने बताएको छ । सेवालाई सर्वसुलभ र प्रतिस्पर्धी बनाउन महसुलदरमा आवश्यक परिमार्जन गर्ने लक्ष्य पनि कम्पनीको छ । नयाँ बस्ती विस्तार भएका ‘पकेट एरिया’ मा अप्टिकल नेटवर्क युनिट (ओएनयु), मल्टिसर्भिस एक्सेस नोड (एमएसएन) जस्ता प्रविधिमार्फत टेलिफोन लाइन विस्तार गर्ने लक्ष्य राखेको छ ।
सञ्चालनमा भएका परम्परागत प्रविधिमा आधारित साधारण टेलिफोन सेवालाई आईपी प्रविधिमा रूपान्तरण गर्ने भएको छ । सेवाको गुणस्तर सुधार कार्यक्रमअन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइल सिस्टमको रेडियो फ्रिक्वेन्सी अप्टिमाइजेसन कार्यलाई व्यापक बनाई आवश्यक स्थानमा थप बीटीएस जडान गर्ने कार्यलाई निरन्तरता दिनेछ । गाउँ–गाउँमा ब्रोडब्यान्ड, सबै सहरमा ‘फोन अनडिमान्ड’ भन्ने सरकारको अभियानलाई सफल पार्न मद्दत पुग्ने कम्पनीको दाबी छ । यसबाहेक चालू आवमा टेलिकमले एक करोड जीएसएम लाइन पु¥याउने महत्वकांक्षी योजना कार्यान्वयन प्रक्रियामा छ । टेलिकम उच्च अधिकारीका अनुसार यसको लागत करिब २० करोड डलरबराबर पुग्ने अनुमान छ । कम्पनीले यो योजनामा जीएसएम पोस्टपेड, प्रिपेड तथा थ्रीजी लाइन वितरण गर्नेछ । चालू आव ०६८÷६९ मा कम्पनीले कुल राजस्व ३१ अर्ब हुने र खुद नाफा १२ अर्ब हुने अनुमान गरेको छ । आर्थिक वर्षको छ  महिनाको प्रतिवेदनबमोजिम घोषित लक्ष्य पुग्ने कम्पनीका प्रबन्ध निर्देशक सिंहको दाबी छ । ०६६÷६७ मा कुल आम्दानी २७ अर्ब २२ करोड रहेको मा आव ०६७/६८ मा ९ .६५ प्रतिशतले वृद्धि भई २९ अर्ब ८५ करोड रुपैयाँ पुगेको थियो । २६६÷६७ मा आयकर पछिको मुनाफा १२ अर्ब १२ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment