
योगेश खतिवडा काठमाडौ, आश्विन १३ - उच्च गतिको इन्टरनेट दिने भन्दै नेपाल टेलिकमले झन्डै ६ वर्षअघि थर्ड जेनरेसन (थ्री जी) सेवा भित्र्यायो । तर टुजीजस्तै थ्री जी पनि गुणस्तरीय हुन सकेन । थ्री जी विस्तार गर्ने जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले मोबाइल टावर (बीटीएस) मा चाहिने सबै उपकरण दिएन । त्यसले गुणस्तरमा असर गर्यो । 'बीटीएसहरूलाई नियन्त्रण गर्न 'बेस स्टेसन कन्ट्रोलर (बीएससी) र बीटीएस टावर जोड्ने स्विच पोर्ट हुन्छ,' टेलिकमका एक कर्मचारी भन्छन्, 'ती बीटीएसलाई बेस स्टेसनमा जोड्न आवश्यक पर्ने सबै पोर्ट जेडटीईले उपलब्ध गराएन र यसले गुणस्तरमा समस्या पर्यो ।' उनका अनुसार एउटा बेस स्टेसनमा चार पोर्ट भएका २० बीटीएस जोडिएको छ भने स्टेसनमा ८० पोर्ट चाहिन्छ । तर जेडटीईले आधाभन्दा कम पोर्ट भएको बेस स्टेसन जोडेको उनको भनाइ छ । बीटीएस भनेको मोबाइलको तरंग फाल्न विभिन्न ठाउँमा राखिएको टावर हो । बेस स्टेसनले यी टावरलाई व्यवस्थित गर्छ । किन बीटीएसमा भएअनुसारको पोर्ट स्टेसनमा नराखेको प्रश्नमा जेडटीईको भनाइ उद्धृत गर्दै ती कर्मचारीले थपे, 'हामीलाई बीएससीमा यति पोर्ट चाहियो भनिएको छैन । थप चाहिए पैसा थप ।' काम दिने सम्झौतापत्रमा यसबारे पूर्ण विवरण नभएकाले टेलिकम पछि पर्यो । यो एउटा समस्या हो टेलिकमको गुणस्तर सुधार नहुनुको । तर न्यून गुणस्तरीय सेवाको कारक उपकरण प्रदायक कम्पनी मात्र हैन । समयमा मर्मत गर्न नसक्ने टेलिकम गुणस्तर बिग्रनुको मुख्य कारण हो । अझ अहिले आएर बीटीएसमा चाहिने सबै उपकरण नभएको समेत खुलासा भएको छ ।

