Tuesday, September 18, 2012

टेलिकमको सोधपुछ सेवा :सस्तो गर्न खोज्दा पहिलेभन्दा महँगो


काठमाडौं, असोज ३ (नागरिक)- टेलिकमले सोधपुछ सेवा (इन्क्वायरी) का लागि अहिलेभन्दा पनि बढी शुल्क तिर्नेगरी टेण्डर स्विकृत गरेको छ। टेलिफोनका सबै प्रकारका सेवाको सोधपुछ निजी क्षेत्रलाई दिने क्रममा अहिलेकै कम्पनी हरिदेबी स्टोर्सलाई पहिलेभन्दा प्रतिकल ४५ पैसा बढीमा दिने निर्णय गरेको हो। साधारण टेलिफोनको सोधपुछ सेवा १९७ मा एक कल ह्याण्डल गरे वापत हरिदेबी स्टोर्सले एक रुपैयाँ १२ पैसा लिँदै अएको थियो। अब प्रतिकल एक रुपैयाँ ५७ पैसा दिनुपर्नेछ। सञ्चालक समितिको आइतबार बसेको बैठकले परेका चारवटा टेण्डरमध्य सस्तो प्रस्ताव गर्ने हरिदेबीलाई दिने निर्णय गरेको हो। हरिदेबीले मोबाइलको सोधपुछ सेवा (१४९८) लाई प्रतिकल एक रुपैयाँ २९ पैसा प्रस्ताव गरेको थियो। त्यस्तै १९१ को लागि प्रतिकल ४३ पैसामा टेण्डर स्विकृत गरिएको छ।  'ल्याण्डलाइनको इन्क्वायरीका लागि पहिलेभन्दा टेलिकमले दिने चार्ज बढेको छ भने मोबाइलको भने घटेको छ,' टेलिकम काठमाडौं क्षेत्रीय निर्देशनालय प्रमुख मधुसुदन कर्माचार्यले भने। जिएसएम मोबाइलको सोधपुछको नम्बर (१४९८) मा कल गर्दा पहिलेभन्दा प्रतिकल एक पैसा कम शुल्क टेलिकमले तिरेहुन्छ। त्यस्तै सिडिएमए मोबाइलको सोधपुछ (१९१) मा भने पहिलेभन्दा ८७ पैसा सस्तो दर हरिदेबीले प्रस्ताव गरेको थियो। हरिदेबी स्टोर्सले गत वर्षको साउनदेखि मोबाइलको सोधपुछ सेवा सञ्चालनको जिम्मा लिएको हो। त्यतिखेर सम्झौता हुँदा प्रति कल औसत ६० सेकेण्ड हुनै पर्नेमा ५० सेकेण्डमात्र भएपछि टेलिकम र कम्पनीबीच विवाद भएको थियो। टेलिकम सञ्चालक समितिले पहिलेभन्दा सस्तो हुने अपेक्षा लिएर पुनः टेण्डर गरेकोमा सबैभन्दा बढी कल हुने नम्बरमा बढी शुल्क तिर्नुपर्ने भएको छ। 
सोधपुछका तीनवटा नम्बरहरुमध्य सबैभन्दा धेरै १९७ मा आउँछ। दैनिक ३० हजार कल १९७ मा आउँछ भने १४९८ मा १२ देखि १३ हजार कल हुन्छ। सबैभन्दा थोरै कल भने १९१ मा हुन्छ। यो नम्बरमा दैनिक एकहजार दुईसय कलमात्र हुन्छन्।  हरिदेबी स्टोर्सले बढी कल आउने नम्बरका लागि भाउ बढाएर थोरै कल हुनेमा भने घटाएर प्रस्ताव गरेको छ। 'कम्पनी निकै चलाख भएको देखियो, कल ज्यादै कम हुनेमा भाउ घटाएर बढी हुनेमा बढाएको छ,' टेलिकमका एक अधिकारीले भने।  हरिदेबीले भाउ बढाएपनि टेण्डरमा सहभागी अरु तीन कम्पनीहरुको भन्दा सस्तो भएपछि टेलिकमले वाध्य भएर स्विकृत गरेको छ। टेलिकमका उच्च अधिकारी र सञ्चालक समितिका पदाधिकारीहरुले टेण्डर गर्दा पहिलेभन्दा सस्तो हुने भन्दै आएका थिए। हरिदेबी स्टोर्सले प्रतिकल औसत ३० सेकेण्डलाई गणना गरिदिन माग गर्दा त्यसलाई बेवास्ता गर्दै सस्तोमा अर्को कम्पनी आउन तयार रहेको भन्दै टेलिकमले जेठमा टेण्डर गरेको थियो। 
सस्तोमा अर्को कम्पनी त आएन, उल्टो पुरानै कम्पनीले पहिलेभन्दा महंगो दर प्र्रस्ताव गर्दा समेत टेण्डर स्विकृत गर्नुपर्ने वाध्यतामा टेलिकम परेको छ।  इन्क्वायरीको सेवा चलाउन प्रस्ताव गर्ने चार कम्पनीमध्य जी-फोर्सले १९१ का लागि ४९ पैसा, १९७ का लागि १ रुपैयाँ ५४ पैसा र १४९८ का लागि २ रुपैयाँ ५ पैसा प्रस्ताव गरेको थियो। त्यस्तै अर्को प्रस्तावक सन्ट्रन्जाले १९१ का लागि १ रुपैयाँ ६९ पैसा, १९७ का लागि १ रुपैयाँ ५० पैसा र १४९८ का लागि १ रुपैयाँ ७० पैसा माग गरेको थियो। टेण्डर भर्ने नेटवर्क एसोसिएट्सले भने बिडबण्डनै समावेश नगरेको हुँदा अयोग्य ठहरिएको थियो। हरिदेबी स्टोर्सका प्रोप्राइटर शेषभक्त श्रेष्ठले कल अवधिको विवादले गर्दा १३ महिनादेखि टेलिकमबाट १४९८ र १९१ सेवा सञ्चालन गरे वापतको रकम पाउन नसकेको बताए। सञ्चालक समितिले नयाँ दर स्विकृत गर्दै पुरानै कम्पनीलाई इन्क्वायरी सेवा सञ्चालन गर्न दिने निर्णय अनुसार केही दिनमै कार्यान्वयन हुने भएको छ।  टेलिकमले इन्क्वायरी सेवा चलाउँदा ग्राहकले राम्रो सेवा नपाएको भन्दै सञ्चालक समितिले आउटसोर्सिङमा निजी कम्पनीलाई दिने निर्णय गरेको थियो। त्यस अनुसार १९७ लाई सात वर्षदेखि आउटसोर्सिङ गरिएको छ भने १९१ र १४९८ गत वर्षदेखिमात्र निजी कम्पनीलाई दिइएको हो। १४९८ र १९१ मा कल गर्दा मोबाइलको बिल, लक-अनलक नम्बर, कालोसूची, हराउँदा ब्लक गर्न सकिने सुबिधा उपलव्ध हुन्छ। १४९८ मा अहिले सबैभन्दा बढी गुनासो जिपिआरएस सेटिङको विषयमा आउने गरेको कम्पनीले जनाएको छ।  टेलिकमका जिएसएम मोबाइल उपभोक्ता ६२ लाख र सिडिएमए ८ लाख ५१ हजार छन्। ल्याण्डलाइनका उपभोक्ता ६ लाख २८ हजार छन्

No comments:

Post a Comment