Sunday, September 9, 2012

नेपाल टेलिकमको ल्यान्डलाइनबाट देशभर १ रुपैयाँ मिनेट कल


रामचन्द्र भट्ट, काठमाडौं, भदौ २४ - नेपाल टेलिकमको ल्यान्डलाइनबाट देशभरि अब जहाँसुकै फोन गरे पनि मिनेटको एक रुपैयाँमात्र लाग्नेछ। टेलिकमले असोजदेखि एसटिडी महसुल हटाएर मिनेटको एक रुपैयाँमात्र बनाउने तयारी गरेको होटेलिकमको नयाँ महसुल प्रस्तावलाई दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएको छ। 'हामीले स्वीकृत गरेको दरअनुसार अब देशभरि टेलिकमको ल्यान्डलाइनमा एसटिडी चार्ज लाग्दैन,' प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने। अहिले एउटै अञ्चलभित्र एसटडी कल गर्दा मिनेटको एक रुपैयाँमात्र लाग्छ। तर अर्को अञ्चलमा कल गर्दा भने मिनेटको दुई रुपैयाँ लागिरहेको छ। 'हाम्रो नीति देशभरि एउटै महसुल बनाउने हो,' टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्, 'त्यहीअनुसार मोबाइल सरह एक रुपैयाँमा झार्न प्रस्ताव पठाएका हौं।' 
लोकलमा दबाब एसटिडी महसुललाई घटाउँदै गएको टेलिकमले लोकल कल कम गर्न उपभोक्तालाई मानसिक दबाब दिएको छ। लोकल कल गर्दा बिहान-बेलुका, दिउँसो र राति छुट्टाछुट्टै समयावधि गणना हुने गरेकोमा अबदेखि त्यस्तो सुविधा हुनेछैन। अब जुनसुकै बेलाको पनि दुई मिनेट बराबर एक कल मानिनेछ। राति १० बजेपछि लोकल कल सस्तो हुन्छ भनेर लामो कुराकानी गर्नेलाई अब असर पर्नेछ।  अहिले स्थानीय कलमा दिउँसो दुई मिनेट बराबर एक कल हुन्छ भने बिहान बेलुकी चार मिनेटको एक कल छ। राति १० बजेदेखि भोलिपल्ट बिहानसम्म ८ मिनेटको एक कल हुन्छ।  यसलाई परिवर्तन गरेर टेलिकमले ल्यान्डलाइनबाट कल गर्दा चौबीसै घन्टा दुई मिनेट बराबर एक कल गणना गर्ने भएको छ। 'एसटिडीलाई हटाएर मिनेटको एक रुपैयाँमा झार्दा आयमा हुने असरलाई घटाउन स्थानीय कललाई एउटै बनाउन प्रस्ताव गरिएको हो,' टेलिकमका अर्का एक अधिकारीले भने।  अहिले कायम रहेको स्थानीय कलको समय टेलिकमले २०५९ सालमा लागु गरेको हो। त्यतिखेर स्थानीय कलको अवधि तीन मिनेट बराबर थियो। २०५९ सालमा तीन मिनेटलाई फेरेर बिहान बेलुकीलाई चार मिनेट, दिउँसोलाई दुई मिनेट र राति ८ मिनेटको एक कल बनाइएको थियो।  २०५१ सालअघि लगातार जति मिनेट कुराकानी गरे पनि एक कलमात्र हुन्थ्यो। त्यतिखेर लोकल कलको असीमित समयलाई कटौती गरेर तीन मिनेट बनाइएको थियो। तीन मिनेटको समयलाई फेरि २०५९ सालमा फेरिएको हो। यसपटक प्रस्ताव गरिएको नयाँ व्यवस्थाअनुसार अब हरेक दुई मिनेटमा एक कल बराबरको महसुल चढ्दै जाने भएको छ। 'हामीले असोज १ बाटै नयाँ महसुल दर लागु गर्नेगरी काम सुरु गरेका थियौं,' प्रधानले भनिन्। प्राधिकरणमा सञ्चालक समिति नभएकाले नयाँ महसुल पारित हुन समय लागेकाले कार्यान्वयनमा केही थप समय लाग्नसक्ने भएको छ। 
असोजभित्रै नयाँ महसुल कार्यान्वयनमा ल्याउने टेलिकम अधिकारीले बताएका छन्। नयाँ महसुल दर लागु गर्न कम्तीमा दुई साताको तयारी चाहिन्छ। असोज १ देखि लागु गर्न नभ्याउने भएकाले १५ गतेदेखि लागु गर्ने तयारी टेलिकमको छ। देशभरि एसटिडी फोनको एउटै दर भए पनि बिलिङ भने लोकल कलको रुपमा हुँदैन। एसटिडीकै रुपमा बिलिङ हुन्छ र मिनेटको एक रुपैयाँ महसुल लाग्छ।  टेलिकमले मासिक दुई सय रुपैयाँमा एक सय ७५ लोकल कल गर्न दिन्छ। एक सय ७५ कलभन्दा माथि उठे थप महसुल लाग्छ।  साउन १ गतेदेखि टेलिकमले ल्यान्डलाइनबाट टेलिकमकै देशभरिका मोबाइलका कल गर्दा मिनेटको एक रुपैयाँमात्र महसुल लगाएको थियो। एउटा अञ्चलबाट अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा हुनुपर्नेमा टेलिकमले हटाएको थियो। मोबाइलबाट मोबाइलमै कल गर्दा देशभरि जहाँ गरे पनि एक मिनेट बराबर एक रुपैयाँमात्र छ

No comments:

Post a Comment