Tuesday, September 4, 2012

टेलिकमको गुणस्तर सुधार्ने नौलो उपाय


काठमाडौं, भदौ २० (नागरिक) - पटकपटक दिइएको निर्देशनले मोबाइल टेलिफोनमा सुधार नभएपछि मुख्य सचिव लीलामणि पौडेलले नयाँ उपाय निकालेका छन्। उनले मंगलबार त्यो उपाय सार्वजनिक गरे। उनको उपाय हो-टेलिकमका प्रबन्ध निर्देशकलाई एनसेलको मोबाइल उपहार। 'प्रधानमन्त्रीज्यू र मबीच कुराकानी हुँदा धेरैपटक अप्ठेरो परिसक्यो,' उनले भने। नसुनिने, काटिने, आवाज स्पष्ट नआउने समस्या भएपछि प्रधानमन्त्रीले सुधार्न असाध्यै चासो दिएको उनले बताए। निर्देशनले मात्र टेलिकमको मोबाइल सुधार नहुने भएकाले अर्को कम्पनीको सेवा प्रयोग गर्दा मानसिक दबाब हुने भएको हुँदा एनसेलको मोबाइल उपहार दिने योजना बनाइसकेको उनले सार्वजनिक गरे। 'मानसिक पीडा होला भनेरमात्र अहिलेसम्म यस्तो कदम नचालिएको हो,' उनले भने। मंगलबार सञ्चार मन्त्रालय निरीक्षणको क्रममा पुगेका मुख्य सचिव पौडेलले झन्डै डेढ घन्टासम्म अन्तर्त्रि्कया गरेका थिए। त्यसक्रममा उनले मन्त्रालय र मातहतका निकायका समस्याको जानकारी लिनुका साथै निर्देशनसमेत दिएका थिए। पौडेल साढे तीन वर्षअघि सञ्चार सचिव थिए। त्यतिखेर उनी टेलिकम सञ्चालक समितिमा सदस्यसमेत थिए। त्यतिखेरदेखि उनले कुराकानी गर्दा समस्या भएपछि सुधार्न निर्देशन दिएका थिए। संयोग कस्तो परेको छ भने सिंह त्यतिखेर पनि टेलिकमका प्रबन्ध निर्देशक थिए। 
दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा समेत टेलिकमको जिएसएम मोबाइलको निम्ति तोकिएको मापदण्ड पूरा नभएको प्रतिवेदन सार्वजनिक गरिएको छ। गत पुसमा प्राधिकरणले सार्वजनिक गरिएको प्रतिवेदनअनुसार एनसेलको भन्दा टेलिकमको मोबाइलको गुणस्तर कमजोर देखिएको थियो। टेलिकमका अधिकारीले 'सुधार भइरहेको' भने पनि गुणस्तर कहिल्यै नभएपछि मुख्य सचिव पौडेल टेलिकमप्रति निकै आक्रामक देखिएका थिए। मुख्य सचिव हुनुअघि पनि दूरसञ्चार ंसम्बन्धी विभिन्न कार्यक्रममा उनले ग्राहक सेवा चुस्त बनाउन, गुणस्तरीय बनाउन र समस्या आएको अवस्थामा ग्राहकसँग माफी माग्नसमेत बेलाबखतमा सुझाउँदै आएका थिए। हालै मात्र टेलिकमले मोबाइल सुधार्न नसकेपछि त्यहाँका निर्देशक विष्णु कसजुलाई सरुवा गरेको छ। कुराकानी गर्दागर्दै काटिने, आवाज नसुनिने र एउटा कल पूरा गर्न ३/४ कल गर्नुपर्ने गुनासो ग्राहकहरुको छ। टेलिकमले जतिसुकै प्रयास गरे पनि समस्या समाधान गर्न सकेको छैन। चिनियाँ कम्पनीकै उपकरण प्रयोग गरे पनि तुलनात्मक रुपमा एनसेलको मोबाइलमा समस्या कम देखिएको प्राधिकरणको प्रतिवेदनले देखाएको छ। प्राधिकरणले राजधानी लगायत देशका पाँचवटै विकास क्षेत्रका सदरमुकाममा मोबाइलको गुणस्तर मापन गरेको थियो। 

प्राधिकरणको मापदण्डअनुसार ग्राहकले नम्बर डायल गरिसकेपछि १५ सेकेन्डभित्र सम्पर्क गर्न खोजेको नम्बरमा घन्टी बजिसक्नुपर्छ। त्यस्तै ९० प्रतिशत कल सफल हुनुपर्ने, कलड्रप तीन प्रतिशतभन्दा कम हुनुपर्ने मापदण्ड छ। समष्टीगत ग्राहक सन्तुष्टि ९० प्रतिशत हुनुपर्नेमा सरकारी संस्था टेलिकमको अवस्था निकै नाजुक भएपछि मुख्य सचिव निकै चिन्तित देखिन्थे। टेलिकमका ग्राहक अहिले ७७ लाख छन्। पछिआएको एनसेलले टेलिकमका ग्राहकलाई उछिनिसकेको छ। एनसेलका ग्राहक ८१ लाख पुगिसके। टेलिकम झन्डै ९३ प्रतिशत सरकारको स्वामित्व भएको कम्पनी हो। बाँकी सात प्रतिशत सेयर नेपाली नागरिककै छ। निजी कम्पनीहरु टेलिकमभन्दा आक्रामक रुपमा अघि बढेका छन्। खरिद प्रकृया छिटो हुने भएकाले निजी कम्पनीहरु टेलिकमलाई पछि पार्दै अघि बढेका हुन्। टेलिकमको खरिद प्रक्रिया ढिलासुस्ती, निर्णयमा समस्याले गर्दा पछि पर्दै गएको छ। सञ्चार मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले ऐन, नियमहरु पुरानो भएका, सेवाको गुणस्तर मापनका लागि दक्ष टिम नभएको अवगत गराएका थिए। 

No comments:

Post a Comment