Saturday, September 29, 2012

आफ्नै ब्राउजर र सञ्जाल बनाउँदै टेलिकम

काठमाडौं, असोज १४ (नागरिक) - नेपाल टेलिकमले युनिफाइड कम्युनिकेसन सिस्टमको नाममा एउटै वेबसाइटबाट सबै प्रकारका सेवा प्रयोग गर्न मिल्ने प्रविधि ल्याउने भएको छ। सामाजिक सञ्जालका एप्लिकेसन लगायत टेलिफोन, भिडियो च्याटसमेत गर्न मिल्ने गरी नयाँ सेवा सुरु गर्न प्रक्रिया अघि बढेको छ। डेढ वर्षअघि टेलिकमले फेसबुकजस्तै सामाजिक सञ्जाल 'एनटी चौतारी' बनाएको थियो। त्यतिखेर परीक्षणकै क्रममा टेलिकम सञ्चालक समितिका तत्कालीन पदाधिकारी र कर्मचारीले सञ्चालनमा ल्याउन रोक लगाएका थिए। संसारभरिका ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीले आफ्ना ग्राहकलाई सजिलो बनाउन विभिन्न एप्लिकेसनहरु बनाएर त्यसबाटै सेवा दिन्छन्। 'फेसबुक चलाउन हामीले किनेको ब्यान्डविथमध्ये आधा खर्च भइरहेको छ,' टेलिकमका नायब प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले भने। ब्यान्डविथ खर्च कम गर्न र टेलिकमका सेवाहरु एकीकृत रुपमा एउटै साइटमार्फत दिन यो सेवा सुरु गर्न लागिएको उनले बताए। स्रोतका अनुसार यो सेवा ६ महिनाअघि नै सञ्चालनमा ल्याउने गरी तयारी भएको थियो। 'तत्कालीन सञ्चालक समितिका अध्यक्ष अबनिन्द्रकुमार श्रेष्ठले टेलिकमले यस्तो वाहियात सेवा चलाउने हो भन्दै निर्णय हुनबाट रोके,' टेलिकमका अर्का एक अधिकारीले भने। अहिले श्रेष्ठको ठाउँमा सूर्य सिलवाल सञ्चालक समितिका अध्यक्ष छन्। यस्तो प्रकारको नयाँ सेवा सुरु गर्नुपर्छ भन्नेमा सिलवाल सकारात्मक देखिएपछि टेलिकमले सिस्टम किन्न प्रक्रिया अघि बढाइसकेको छ। 'यो सिस्टमको हार्डवयर र सफ्टवेयर किन्न टेन्डर भइसकेको छ, आउँदो जनवरीभित्र सञ्चालन गर्ने लक्ष्य छ,' भट्टराईले भने। सञ्चालन टेलिकम र डिजाइन एवं मर्मत सप्लायर्स कम्पनीले गर्ने गरी प्रस्ताव आह्वान गरिएको छ। ल्यान्डलाइन, मोबाइल, एडिएसएल, वाइम्याक्स सेवा लिने ग्राहकलाई दिइने यस्तो एप्लिकेसन कम्प्युटर र मोबाइल दुवैमा सञ्चालन हुने गरी तयार गर्ने योजना टेलिकमको छ। ग्राहकले वेबसाइट वा एप्लिकेसनबाट दैनिक रुपमा तोकेर निशुल्क वेब एसएमएससमेत गर्न दिने तयारी टेलिकम छ।  मोबाइल फोनबाटै वेब एसएमएस लगायत अरु सुविधा प्रयोग गर्न पाएपछि ग्राहकहरु आकर्षित हुने अपेक्षा टेलिकमको छ। वेबसाइटमा 'नेपाली कन्टेन्ट' बनाउनेबीच प्रतिस्पर्धा गराउने तयारीमा टेलिकम छ। 'हामी विदेशी कन्टेन्टमै भरपर्दा हाम्रो रकम नजानिँदो हिसाबले विदेशतिर गइरहेको छ, यसलाई रोक्न जरुरी भइसकेको छ,' भट्टराईले भने।

No comments:

Post a Comment