Sunday, September 9, 2012

मोबाइल खरिद प्रकरण : एरिक्सनलाई पत्राचार


काठमाडौं, भदौ २४ (नागरिक) - नेपाल टेलिकमले ५२ लाख मोबाइल उपकरण आपूर्ति गर्नेबारे वार्तामा आउन युरोपेली कम्पनी एरिक्सनलाई कुरियरमार्फत पत्र पठाएको छ। एरिक्सनको स्थानीय प्रतिनिधिले पत्र बुझ्न अस्वीकार गरेपछि नयाँदिल्लीस्थित एरिक्सनको कार्यालयलाई टेलिकमले पत्र पठाएको छ। '१५ दिनभित्र वार्तामा आउन एरिक्सनको भारतस्थित कार्यालयलाई पत्र पठाएका छौं,' टेलिकम उच्च स्रोतले भन्यो।  एरिक्सनका स्थानीय प्रतिनिधिले हुवावेको मूल्यमा युरोपेली गुणस्तरको सामान दिन नसकिने जनाएर पत्र बुझ्न मानेका छैनन्। हुवावेले प्रस्ताव गरेको १२ करोड २० लाख अमेरिकी डलरमा एरिक्सनले दिन नसक्ने जानकारी दिनुका साथै पत्र बुझ्न अस्वीकार गरेपछि कुरियर गरेर भारत पठाइएको हो।  गत वर्ष टेन्डर खुल्दा भने एरिक्सनले सस्तो प्रस्ताव गर्ने कम्पनीको मूल्यमा दिन तयार रहेको प्रतिबद्धता जनाएकाले टेलिकमले वार्तामा आउन पत्र पठाएको हो। 'त्यतिखेर सस्तो मूल्यमा दिन सक्ने जानकारी एरिक्सनले दिएको थियो,' टेलिकम उच्च स्रोतले भन्यो।  एरिक्सनले ५२ लाख जिएसएम मोबाइलका लागि २४ करोड ३० लाख डलर प्रस्ताव गरेको थियो। टेलिकमले गरेको एक करोड लाइनको टेन्डरमा सस्तो प्रस्ताव गर्नेसँगै किन्नुपर्ने प्रावधान छ। एक करोड लाइनलाई दुई भागमा बाँडेर प्याकेज-'ए' मा ५२ लाख र प्याकेज-'बी' मा ४८ लाख लाइन राखिएको थियो। दुवै प्याकेजमा चिनियाँ कम्पनी हुवावेको प्रस्ताव सस्तो परेको थियो। दुवै प्याकेजमा एउटै कम्पनीको सस्तो प्रस्ताव परे पनि एकाधिकार हुन नदिन सस्तो प्रस्ताव गर्नेकै भाउमा दोस्रो महँगो दिन चाहने अर्को कम्पनी तयार भएमा त्यसैसँग किन्ने टेन्डरको सर्त छ। त्यसै अनुसार प्याकेज-'ए' को सबैभन्दा सस्तो प्रस्ताव गरेको हुवावेकै दरमा जेडटिईसँग किन्ने प्रक्रिया अघि बढेको थियो।  आठ महिनासम्म वार्ता हुँदा पनि जेडटिईले उपकरण दिने चासो नदिएपछि उसको धरौटी ४६ लाख डलर जफत गरेर गत साता टेलिकमले तेस्रो महँगो प्रस्ताव गर्ने एरिक्सनलाई पत्र पठाएको हो। एरिक्सनले सुरुमा चासो दिए पनि हुवावेकै प्रस्ताव (१२ करोड २० लाख डलर) मा मोबाइल उपकरण दिनुपर्ने भएपछि दिन नसकिने जानकारी दिइसकेको छ।  गत वर्ष सस्तो हुवावेकै भाउमा दिन सक्ने प्रतिबद्धता जनाएकोले प्रक्रिया पूरा गर्न टेन्डर भर्ने कम्पनीकै ठेगानामा कुरिएरबाट पत्र पठाइएको टेलिकम स्रोतले बतायो। एरिक्सन वार्ताका लागि आएन भने यो टेन्डरको हकदार चिनियाँ हुवावे नै हुन्छ।

No comments:

Post a Comment