Saturday, September 29, 2012

उपकरणविहीन मोबाइल टावर

telecome
योगेश खतिवडा  काठमाडौ, आश्विन १३ - उच्च गतिको इन्टरनेट दिने भन्दै नेपाल टेलिकमले झन्डै ६ वर्षअघि थर्ड जेनरेसन (थ्री जी) सेवा भित्र्यायो । तर टुजीजस्तै थ्री जी पनि गुणस्तरीय हुन सकेन । थ्री जी विस्तार गर्ने जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले मोबाइल टावर (बीटीएस) मा चाहिने सबै उपकरण दिएन । त्यसले गुणस्तरमा असर गर्‍यो ।   'बीटीएसहरूलाई नियन्त्रण गर्न 'बेस स्टेसन कन्ट्रोलर (बीएससी) र बीटीएस टावर जोड्ने स्विच पोर्ट हुन्छ,' टेलिकमका एक कर्मचारी भन्छन्, 'ती बीटीएसलाई बेस स्टेसनमा जोड्न आवश्यक पर्ने सबै पोर्ट जेडटीईले उपलब्ध गराएन र यसले गुणस्तरमा समस्या पर्‍यो ।' उनका अनुसार एउटा बेस स्टेसनमा चार पोर्ट भएका २० बीटीएस जोडिएको छ भने स्टेसनमा ८० पोर्ट चाहिन्छ । तर जेडटीईले आधाभन्दा कम पोर्ट भएको बेस स्टेसन जोडेको उनको भनाइ छ । बीटीएस भनेको मोबाइलको तरंग फाल्न विभिन्न ठाउँमा राखिएको टावर हो । बेस स्टेसनले यी टावरलाई व्यवस्थित गर्छ । किन बीटीएसमा भएअनुसारको पोर्ट स्टेसनमा नराखेको प्रश्नमा जेडटीईको भनाइ उद्धृत गर्दै ती कर्मचारीले थपे, 'हामीलाई बीएससीमा यति पोर्ट चाहियो भनिएको छैन । थप चाहिए पैसा थप ।' काम दिने सम्झौतापत्रमा यसबारे पूर्ण विवरण नभएकाले टेलिकम पछि पर्‍यो । यो एउटा समस्या हो टेलिकमको गुणस्तर सुधार नहुनुको । तर न्यून गुणस्तरीय सेवाको कारक उपकरण प्रदायक कम्पनी मात्र हैन । समयमा मर्मत गर्न नसक्ने टेलिकम गुणस्तर बिग्रनुको मुख्य कारण हो । अझ अहिले आएर बीटीएसमा चाहिने सबै उपकरण नभएको समेत खुलासा भएको छ ।

'मोबाइल बीटीएसमा आवश्यकताअनुसार उपकरण नभएकाले गुणस्तर कमजोर भएको पाएका छौं,' सूचना तथा सञ्चार मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले भने, 'बिगि्रयो भने मर्मत वा अर्को ल्याएर नराख्दा गुणस्तर नै बिगि्रएको छ ।' नयाँ नल्याउने मात्र हैन टेलिकमका प्रविधिकले भएको ठाउँको समेत झिक्दा अझ समस्या आएको उनी बताउँछन् । 'एउटा बीटीएसमा ८ वटा एउटै खाले उपकरण चाहिने छ भने त्यसमा ४ वटा हुने गरेको पाइयो,' सचिव सिलवालले भने, 'अझ अर्कोमा अभाव भए त्यसबाट पनि झिकेर ३ वटा वा अझै कम उपकरण राखेको पाइयो । यसले गुणस्तरीय सेवा दिन नसकिएको रहेछ ।' बीटीएसको उपकरण बिग्रेपछि ल्याएर दिन नसकेको र प्राविधिकले पनि आफ्नो काम गर्न नसकेको पाइएको उनले बताए ।   नयाँ उपकरण समयमा ल्याउन नसकेको टेलिकमले व्यवस्थापन र प्रविधिका कारण गुणस्तर बिगि्रएपछि सरकार यसको सुधारमा लागेको उनले बताए । 'कम्पनीलाई प्रतिस्पर्धी बनाउन जसरी भए पनि गुणस्तर सुधार गर्न लागेका छौं,' उनले भने, 'कम्पनीको भरमा गुणस्तर सुधार्न गाह्रो भएपछि पूर्वाधार बनाउने कम्पनीलाई नै मर्मतको जिम्मा दिन खोजिएको छ ।' मन्त्रालयले गुणस्तर सुधारका लागि टेलिकम सञ्चालक समितिका सदस्य वैकुण्ठ अर्यालको संयोजकत्वमा बोर्डका तीन सदस्य रहेको एउटा समिति गठन गरेको छ । 'उपकरण र समयमा मर्मत नभएर गुणस्तरीय सेवा दिन नसकेको अवस्था जसरी पनि हटाउन लागेका छौं,' सचिव सिलवालले भने, 'यसका लागि जेडटीईसँग छलफल भइरहेको छ ।' जेडटीईबाट मर्मत सेवा लिएबापत सही मूल्य दिनेबारे दुई पक्षबीच छलफल भइरहेको उनले बताए । 'समिति छलफल गरेर आइतबारसम्म निक्र्योलमा पुग्न जुटिरहेको छ,' उनले भने ।
टेलिकमका जनशक्तिले समयमा मर्मत गर्न नसकेकाले यो काम जेडटीईलाई दिनुपरेको उनले बताए । जेडटीईले टेलिकमको झन्डै ८० प्रतिशत पूर्वाधार निर्माण गरेको छ । अझ कम्पनीका प्राविधिकसँग कम्पनीले मागेअनुसारको गुणस्तरीय उपकरण ल्याएर राखे नराखेको पत्ता लगाउने क्षमता पनि छैन । 'यसले उनीहरूले कम गुणस्तरको सामान दिए पनि चुप लाग्ने अवस्था छ,' सिलवालले भने । सुरुमा काठमाडौंमा गुणस्तर सुधार गर्ने योजनाअनुसार मर्मतको सबै काम दिइने उनले बताए । 'मर्मतको जिम्मा लिएपछि गुणस्तर सुधार आए नआएकोबारे अनुगमन गर्छौं,' उनले भने । सुरुमै आवश्यकताअनुसार उपकरण नआएकोबारे अझै अध्ययन गर्न बाँकी भएको उनले बताए । 'अहिले बीटीएसमा आवश्यकता अनुसार पूर्ण उपकरण नभएकाले त्यो थपेर गुणस्तर सुधार गर्ने पहिलो काम हो,' उनले भने, 'सुरुमै आवश्यकता अनुसार उपकरण आएको छैन भने त्यसको पनि छानबिन गर्छौं ।' टेलिकमले भने सचिवले भनेजस्तो अवस्था नभएको बताएको छ । 'बिगि्रएपछि तत्काल मर्मत गर्न नसकेको हो,' कम्पनीकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्, 'कुनै बीटीएसमा तत्काल उपकरण आवश्यक भए कम चाप भएको बीटीएसबाट उपकरण केही समयका लागि लैजाने गरेको छ । तर छिट्टै मर्मत गरेर फेरि पुरानै ठाउँमा राख्ने गरिएको छ ।' उनका अनुसार बीटीएस टावरमा राखिने कार्डहरू एक ठाउँबाट अर्कोमा सार्ने काम धेरै हुन्छ । 'पहिले कार्ड बिगि्रयो भने बनाउन बाहिर पठाउनुपथ्र्यो,' उनले भनिन्, 'तर अब काठमाडौंमै मर्मत हुने भएकाले त्यत्ति ढिला पनि हुँदैन ।' उनले २४ सै घन्टा मर्मतको काम गर्ने गरी कर्मचारी नराखिएकाले राति बिगि्रएमा केही ढिला भए पनि तत्काल सुधार गरिने दाबी गरिन् । 'हामीले अहिले पनि मर्मतको काम जेडटीईलाई नै दिएका छौं,' उनले भनिन् । 

No comments:

Post a Comment