Monday, March 10, 2014

उपत्यकाको मोबाइल नेटवर्क हुवावेमा प्रतिस्थापन

सरस्वती ढकाल, कारोबार दैनिक  काठमाडौं, २६ फागुन- नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले जेडटीई कर्पाेरेसनको मोबाइल नेटवर्कलाई हुवावेको नेटवर्कमा प्रतिस्थापन गरेको छ । थर्ड जेनेरेसन (थ्रीजी) तथा  सेकेन्ड जेनेरेसन (टुजी) मोबाइलको गुणस्तर तथा डेटा सेवाको क्षमता विस्तारका लागि कम्पनीले पुरानो जेडटीई मोबाइल नटेवर्कलाई प्रतिस्थापन गरेको हो । उपत्यकामा नेटवर्क प्रतिस्थापन गरिसकेको कम्पनीले २ वर्षभित्र देशभरको मोबाइल तथा डेटा सेवाको गुणस्तरमा ग्राहकको अपेक्षाकृत सुधार ल्याउने जनाएको छ । उपत्यकाका ३ सय ७७ वटा बेस्ड स्टेसन टावर (बीटीएस) नयाँ नेटवर्कमा प्रतिस्थापन गरिएको प्रवक्ता गुणकेशरी प्रधानले बताइन् । हुवावे नेटवर्कमा प्रतिस्थापन भएपछि पहिलेको तुलनामा सेवाको गुणस्तरमा सुधार भएको दाबी उनको छ । उनका अनुसार उपत्यकाभित्रको मोबाइल सेवाको गुणस्तर अभिवृद्धि गर्दै डेटा सेवाको क्षमता विस्तारका लागि कम्पनीले पहिलो चरणमा ‘लट थ्रि’अन्र्तगत १ सय ५० वटा बीटीएस टावर प्रतिस्थापन गरेको थियो । यसमध्ये १ सय ३७ वटा बीटीएस टावरमा टुजी तथा थ्रीजी र १३ वटामा थ्रीजी सेवाका उपकरण जडान गरिएका छन् । दोस्रो चरणमा अन्य बीटीएस टावर जडान गरिएको टेलिकमले जनाएको छ । कम्पनीले १ करोड जीएसएम लाइन विस्तार कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथबाहिरका क्षेत्रहरु, भक्तपुर जिल्लाको सहरी क्षेत्र तथा अरनिको राजमार्गको दुवैतर्फका जिल्लामा उपकरण जडानको काम गरिरहेको छ । गत फागुन २ गतेदेखि सुरु भएको बीटीएस प्रतिस्थापन अभियानले २ वर्षभित्र पूर्णता पाउने टेलिकमको दाबी छ । बीटीएस प्रतिस्थापन भएका क्षेत्रमा जीएसएम मोबाइल सेवाको गुणस्तर, क्षमता विस्तार र पुहँचमा वृद्धि हुनेछ ।

कम्पनीले देशभरको नेटवर्क हुवावेको बनाउन काम सुरु गरिसकेको छ । पछिल्लोपटक विस्तार गरिएका १ करोड जीएसएम लाइन, २० लाख आईपी सीडीएमए तथा सीडीएमएका टेन्डरहरु हुवावेले लगातार पाएको छ । जेडटीई कर्पाेरेसनले सन् २००७ मा पाएको ३५ लाख जीएसएम मोबाइलको नेटवर्कसमेत टेलिकमले हुवावेमा रुपान्तरण गर्दैछ । जेडटीईका उपकरण पुराना हुँदै जानु र नयाँ टेन्डर नपाउनुले हुवावेको नेवटर्क देशभर हुने भएको हो । जेडटीईका उपकरण ५ वर्ष प्रयोगमा आइसकेका छन् । दूरसञ्चार उपकरण ५÷५ वर्षमा परिवर्तन गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)को व्यवस्था छ । सोही व्यवस्थाबमोजिम कम्पनीले हुवावेको नेटवर्क बनाउन लागेको हो ।
टेलिकमले १ करोड जीएसएम मोबाइलको मेगा प्रोजेक्टमा प्याकेज ‘ए’ को ५२ लाख मोबाइल र प्याकेज ‘बी’अन्र्तगतको ४८ लाख गरी छुट्टाछुट्टै टेन्डर आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय बोलपत्रमा जेडटीई कर्पाेरेसन (चीन), हुवावे (चीन) र इरिक्सन (स्वीडेन)ले भाग लिएका थिए । ३ कम्पनीमध्ये प्याकेज ‘ए’ र प्याकेज ‘बी’ नै हुवावेले पाएको हो । १५ अर्ब रुपैयाँबराबरको लागतमा यो परियोजना हुन लागेको हो । १ करोड परियोजना सम्पन्न भएपछि देशभर हुवावेको नेटवर्क हुनेछ ।

No comments:

Post a Comment