Tuesday, March 11, 2014

टेलिकमको ६ महिनाको आम्दानी १९ अर्ब ६९ करोड


सरस्वती ढकाल, Karobar काठमाडौं, २७ फागुन - नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले चालू आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्ष (०६९÷७०)को सोही अवधिमा कम्पनीले १८ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालू आवको आम्दानी गत आवको भन्दा १ अर्ब २६ करोड रुपैयाँले बढी हो । ६ महिनाको कुल आम्दानीमध्ये खुद नाफा ५ अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले साधारण टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए, एडीएसएल, वाइम्याक्स, ईभीडीओ तथा अन्तर्राष्ट्रिय र अन्तर्देशीय गरी दर्जनभन्दा धेरै सेवा दिइरहेको छ । चालू आवमा कम्पनीले २२ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ, जुन लक्ष्यको ३३ प्रतिशत हो । कम्पनीले चालू आर्थिक वर्षका लागि ६९ अर्ब ९५ करोड ६३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालू आवमा सरकारलाई २१ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ राजस्व बुझाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले सरकारलाई राजस्व तिर्ने कम्पनीमध्ये चालू आवमा पनि नेपाल टेलिकम पहिलो नै हुने दाबी गरे । “पहिलो ६ महिनामा भन्दा पछिल्लो ६ महिनामा कम्पनीको आम्दानी बढी हुन्छ । सुरुमा योजना निर्माण चरण हुन्छ भने पछिल्लो समय कार्यान्वयनको चरण हुन्छ,” उनले भने । गुणस्तर सुधार गर्दै मोबाइल तथा डेटा सेवाको विस्तारमा जोड दिइने उनले बताए । आव ०६८÷६९ मा कम्पनीको करपछिको मुनाफा ११ अर्ब ६० करोड ५२ लाख रुपैयाँ थियो । त्यस्तै ०६९÷७० मा १० अर्ब ५९ करोड मुनाफा कमाएको थियो । चालू आवमा करपछिको मुनाफा ११ अर्ब ९६ करोड २५ लाख रुपैयाँ हुने प्रक्षेपण कम्पनीले गरेको छ । चालू आवमा २९ लाख थप टेलिफोन वितरण गर्ने उसको योजना छ । जीएसएमतर्फ २० लाख लाइन, सीडीएमए ८ लाख र साधारण टेलिफोन २७ हजार वितरण गर्ने लक्ष्य कम्पनीको छ ।
आव ०७०÷७१ मा कम्पनीले ४१ अर्ब ६५ करोड रुपैयाँ कुल आम्दानी गर्ने लक्ष्य राखेको छ । यो ०६९÷७० को तुलनामा १०.७७ प्रतिशतले बढी हो । कम्पनीले ०६९÷७० मा ३८ अर्ब ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले चालू आवको बजेटमा पुँजीगत खर्च १९ अर्ब ४१ करोड रुपैयाँ र आयगत खर्च १० अर्ब ६८ करोड रुपैयाँ छुट्याएको छ । नेपाल सरकारलाई बुझाउने लाभांशका लागि ६१ करोड २४ लाख, बोनस तथा इन्सेन्टिभका लागि ८४ करोड, अन्य दायित्वका लागि ७ करोड, प्रसाशनिक सेयरिङ भुक्तानीका लागि १ अर्ब ६५ करोड र लगानीका लागि १५ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको छ । कम्पनीले प्याकेज ‘बी’अन्तर्गत काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा ४८ लाख लाइन विस्तारका लागि उपकरण जडान गर्ने तथा पुराना बीटीएसको सट्टामा नयाँ जडान गरी सेवा विस्तार गर्ने कार्यक्रमअनुरुप उपत्यकामा बीटीएस प्रतिस्थापन गरिसकेको जनाएको छ । प्याकेज ‘ए’अन्तर्गत पूर्वाञ्चल, मध्यमाञ्चल (उपत्यकाबाहेक), मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ५२ लाख लाइन विस्तार गर्न मुख्य उपकरण जडान गर्ने तथा पुराना बीटीएसको सट्टा नयाँ जडान गरी सञ्चालनमा ल्याउने जनाएको छ । टेलिकममा ९२ प्रतिशत सेयर सरकारको छ ।

No comments:

Post a Comment