Tuesday, March 25, 2014

टेलिकमले आइटी कम्पनी चलाउने

नागरिक, प्रकट कुमार शिशिर मंगलबार चैत्र ११, २०७० 
काठमाडौँ टेलिकमले आइटी कम्पनी चलाउनेकाठमाडौं-भ्वाइस र डाटापछि नेपाल टेलिकमले इन्टरनेट सामग्रीमा लगानी गर्ने भएको छ। टेलिकमले इन्टरनेट सामग्री (कन्टेन्ट) बनाउन आइटी कम्पनीसमेत स्थापना गर्ने तयारी गरेको छ। टेलिकमले सहायक कम्पनीमार्फत निजीसँग साझेदारी गरी आइटी कम्पनी खोल्ने तयारी गरेको हो। इन्टरनेटमा आधारित हरेक कुरा निर्माण गर्न एक महिनाभित्र नयाँ कम्पनी स्थापना गर्ने प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए। टेलिकमको सहायक कम्पनी स्थापना खोलेर सूचना प्रविधिसम्बन्धी आवश्यक सेवा दिने गरी काम हुने उनले बताए। ‘सुरुमा इन्टरनेट कन्टेन्ट र विस्तारै अन्य सफ्टवेयर र हार्डवेयर निर्माण गर्ने गरी कम्पनी स्थापना गर्ने योजना बनाएका छौं,' भट्टराईले भने, ‘नेपालमा इन्टरनेट कन्टेन्ट धेरै खोजिन्छ, ती सबै खोजिने सामग्रीको सर्भर बाहिरकै हुन्छ। हामीले त्यसका लागि व्यान्डविथ खर्च गरिरहेका छौं।'  नेपालमा नै सर्भर रहने गरी इन्टरनेट कन्टेन्ट उत्पादन र प्रयोग गर्ने गरी कम्पनी स्थापना हुन लागेको उनले बताए। एक महिनाभित्र सहायक कम्पनी दर्ता गरी निजी कम्पनीलाई साझेदारीमा आउन सार्वजनिक आह्वान गर्ने भट्टराईले जानकारी दिए। ‘अहिले हामी यसैको अध्ययनमा छौं, एक महिनाभित्र नयाँ कम्पनी खोलेर निजी कम्पनी बोलाउँछौं। त्यसपछि जनशक्ति राख्ने र सेवा सुरु गर्ने लगायत काम हुन्छ।' टेलिकमले सुरुमा ४० करोड लगानी गरेर कम्पनी खोल्ने योजना बनाएको छ। उक्त कम्पनीमा टेलिकमको र निजीको आधा–आधा सेयर हुने छ।  टेलिकमका सहप्रवक्ता राजेश जोशीले नयाँ अवधारणा बनाउँदै सहायक कम्पनीमार्फत आइटी कम्पनी स्थापना गर्न लागेको बताए। टेलिकमले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल एप्सदेखि हार्डवेयरका काम र सेवा आफ्नै लगानीको कम्पनीबाट लिने योजना छ। ‘टेलिकमले अहिले जति सेवा तथा वस्तु लिएको छ, सबै बाहिरबाट किन्छ। अब नेपालबाट सम्भव हुने यहीँको कम्पनीसँग लिने र उसैसँग साझेदारी गर्ने रणनीति हो,' उनले भने। टेलिकमले एक समिति बनाएर यसको सम्भाव्यता अध्ययन गरिरहेको छ। ‘हामी कुनकुन काम लिन सक्छौं, कुनकुन काम गर्न सक्छौं त्यसैको अध्ययन भएको हो,' उनले भने।  नेपालमा सर्च इन्जिनबाट धेरै कुरा खोज्दा त्यो सर्भरमार्फत ब्यान्डविथ खर्च बढेकोले टेलिकमले क्यासे सर्भर राखेर नेपालमै सूचना बस्ने गरी कम्पनीमार्फत काम थाल्ने जनाएको छ। सहप्रवक्ता जोशीका अनुसार वार्षिक रुपमा नेपालबाट ठूलो रकम ब्यान्डविथमा खर्च भइरहेको छ। ‘एकचोटि लिइएको सूचना नेपालमै बस्ने र पुनः खोज्दा नेपालकै सूचना आउने गरी काम हुन्छ,' उनले भने।  अहिले नेपालको मौसम, युट्युबमा हेरेको भिडियोदेखि हरेक इन्टरनेट कन्टेन्ट बाहिरको सर्भरमा रहेकोले नेपाललाई कुनै फाइदा नभएको टेलिकमले जनाएको छ।  टेलिकमले डाटाको ग्राहक बढ्दै गएको र डाटा प्रयोगकर्ताका लागि पनि इन्टरनेट कन्टेन्ट तयार गर्ने योजना बनाएको जनाएको छ। ‘इन्टरनेट कन्टेन्ट उपभोक्ताले प्रयोग गर्दा टेलिकमलाई पनि फाइदा पुग्छ, त्यसैले हामीले त्यहीअनुसार काम गर्दै छौं,' प्रबन्ध निर्देशक भट्टराईले भने।

No comments:

Post a Comment