Tuesday, March 18, 2014

नेपाल टेलिकमको(नमस्ते)सिमकार्ड अब किराना पसलमा पनि पाइने

काठमाडौँ ४ चैत्र, onlinesuchana.com सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले निजी क्षेत्रका रिचार्ज कार्ड विक्रेतालाई सिमकार्ड र रिमकार्ड बेच्न दिने भएको छ । निजी क्षेत्रका दूरसञ्चार सेवाप्रदायकले रिचार्ज कार्ड विक्रेतालाई सिमकार्ड बेच्न दिने गरेको भए पनि टेलिकमले हालसम्म यस्तो सुविधा दिएको थिएन । नयाँ प्रबन्धनिर्देशन नियुक्त भएर व्यवस्थापन परिवर्तन भएपछि टेलिकमले सिमकार्ड बिक्रीमा ‘आउट सोर्सिङ’ गर्न लागेको हो । टेलिकमले एक महिनाभित्र निजी क्षेत्रका रिचार्ज कार्ड विक्रेतालाई सिमकार्ड र रिमकार्ड बेच्न दिने प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिइन् । ‘हामीले ग्राहकलाई सजिलो होस् भनेर यस्तो व्यवस्था गर्न लागेका हौं’, प्रधानले भनिन्, ‘एक महिनाभित्र हाम्रा रिचार्ज कार्ड बिक्री गर्ने थोक विक्रेतालाई यस्तो सुविधा दिनेछौं ।’ उनले त्यसपछि क्रमश: अन्य विक्रेतालाई पनि सिमकार्ड बेच्न दिने जानकारी दिइन् । टेलिकमले जीएसएम र सीडीएमए दुवैखाले सेवाका पोस्टपेड र प्रिपेड सिमकार्ड एवं रिमकार्ड निजी क्षेत्रका विक्रेतालाई दिन लागेको हो । निजी क्षेत्रका विक्रेताले सिमकार्ड बेच्न थालेपछि नयाँ सेवा लिन ग्राहकले टेलिकमका काउन्टरमा पुग्नुपर्ने बाध्यता हट्नेछ । ‘हामीले मात्र बिक्री गर्दा सिमकार्ड र रिमकार्डका लागि समय र जनशक्ति धेरै खर्च भइरहेको छ, त्यसलाई व्यवस्थापन गर्न आउटसोर्सिङको अवधारणा ल्याइएको हो’, उनले भनिन्, ‘सञ्चालक समितिले निर्णय गरिसकेको छ, त्यसैअनुसार हामी आन्तरिक तयारीमा जुटेका छौं।’

टेलिकमले उपत्यकाभित्र एक सय ६६ वटा रिचार्ज कार्डका थोक विक्रेता नियुक्त गरेको छ । पहिलो चरणमा उपत्यकाभित्र यिनै थोक विक्रेतालाई सिमकार्ड बेच्न दिनेछ । टेलिकमले यसअघि ग्राहक सोधपुछ सम्बन्धि सेवा आउटसोर्सिङ गरिसकेको छ । टेलिकम आफैंले सञ्चालन गर्दाको तुलनाम यो सेवा निजी क्षेत्रलाई दिँदा प्रभावकारी भएको उपभोक्ताको प्रतिक्रिया छ। निजी क्षेत्रलाई दिँदा सेवा प्रभावकारी भएपछि टेलिकममा अरू सेवालाई पनि आउटसोर्सिङ गर्नुपर्ने बहस चल्न थालेको छ। सिमकार्ड आउटसोर्सिङ गरिएपछि ग्राहकले नागरिकता, फोटोलगायतका आवश्यक कागज बुझाएपछि तत्कालै सिमकार्ड पाउनेछन्। यसले सेवा छिटोछरितो बनाउन सजिलो हुने प्रधानले जानकारी दिइन्। टेलिकमले पहिलो चरणमा मुलुकभरका चार सय ४० कम्पनीलाई आफ्ना सिमकार्ड बिक्री गर्न दिनेछ। त्यसपछि भने साना विक्रेताले पनि टेलिकमको सिमकार्ड बेच्न पाउनेछन् उपत्यकाबाहिर टेलिकमका मध्यमाञ्चाल क्षेत्रमा ४०, पूर्वाञ्चाल क्षेत्रमा ७९, पश्चिमाञ्चल क्षेत्रमा एक सय १६, मध्यपश्चिमाञ्चलमा ४० र सुदूरपश्चिमाञ्चल क्षेत्रमा २६ वटा थोक रिचार्ज कार्ड विक्रेता छन्। टेलिकमले पहिलो चरणमा यी सबै विक्रेतालाई जीएसएम सिम र सीडीएमए रिमकार्ड बेच्न दिनेछ ।

No comments:

Post a Comment