Monday, April 2, 2012

सेवा प्रदायकहले चौबीसै घन्टा प्रहरीलाई कल विवरण दिनुपर्ने

काठमाडौं, चैत २१ (नागरिक)- दूरसञ्चार सेवा प्रदायकहरूले अब अपराध अनुसन्धान गर्ने निकायलाई चौबीसै घन्टा विवरण उपलब्ध गराउनुपर्ने भएको छ। दूरसञ्चार प्राधिकरणले सबै टेलिफोन कम्पनीलाई हप्तामा सातै दिन र चौबीसै घन्टा कर्मचारीलाई खटाएर प्रहरीले खोजेको अवस्थामा विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।'दूरसञ्चार ऐन अनुसार सबै सेवा प्रदायकले अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने हिसाबले कल विवरण र ग्राहकको सूचना तत्काल उपलब्ध गराउन सक्ने अवस्थामा रहनुपर्नेछ,' प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने। प्राधिकरण सञ्चालक समितिको बैठकले शुक्रबार मोबाइल, ल्यान्डलाइनबाट भएको 'कल डिटेल' तत्काल दिनसक्ने अवस्था बनाउन निर्देशन दिने निर्णय गरेको हो। टेलिफोन दुरुपयोग गरी धम्क्याउने, अपहरण गर्ने, भिओआइपी कल वाइपास गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्न प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो। प्रहरीले सेवा प्रदायकबाट आवश्यकता अनुसार यस्तो विवरण नपाएको गुनासो गर्दै आएको छ। मागेको विवरण भोलिपल्ट, पर्सिपल्ट मात्र पाउँदा अपराधी भागिसकेको हुने भएकाले त्यस्तो विवरण रहने ठाउँमा चौबीसै घन्टा कर्मचारी खटाउनु पर्ने आवश्यकता देखिएको न्यौपानेले बताए।
मोबाइलको कल विवरणका साथै कुन ठाउँबाट कल गरेको भनेर 'लोकेसन', एसएमएसलगायत दर्ता फर्मको विवरणसमेत सेवा प्रदायकले दिनुपर्नेछ। नेपाल टेलिकम, एनसेल, युटिएल, नेपाल स्याटेलाइट टेलिकम, एसटिएम टेलिकम र स्मार्ट टेलिकमले देशमा टेलिफोन सेवा चलाइरहेका छन्। सुरक्षा निकायसँग समन्वयलगायत टेलिफोन, इन्टरनेटमार्फत हुने अपराधिक गतिविधि नियन्त्रणमा गर्नुपर्ने कार्यबारे प्रतिवेदन तयार गर्न प्राधिकरणले उच्चस्तरीय कार्यदलसमेत गठन गरेको छ। प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालको संयोजकत्वमा गठित कार्यदलमा सञ्चार, गृह र प्रहरी प्रधान कार्यालयका प्रतिनिधि छन्। कार्यदललाई तनि महिनाको कार्यादेश छ। टेलिफोन कम्पनीहरूले आफ्ना ग्राहकका लागि जागरुकता अभियानसमेत सुरु गर्नुपर्ने प्राधिकरण प्रवक्ता न्यौपानेले जनाए। 

No comments:

Post a Comment