Wednesday, April 4, 2012

टेलिकमको आम्दानी जीएसएममा निर्भर


काठमाडौं २१ चैत, सरस्वती ढकाल
नेपाल टेलिकमको आम्दानीको मुख्य स्रोत मानिएको ग्लोबल सिस्टम मोबाइल (जीएसएम) बाट प्राप्त हुने आम्दानीको वृद्धिदर सुस्त गतिमा छ । गत आर्थिक वर्ष ०६७÷६८ मा कम्पनीले जीएसएम सेवामा १३ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्ल्लो आर्थिक वर्ष ०६६/६७ मा कम्पनीले १२ अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको आम्दानी ३० करोड रुपैयाँ मात्रैले बढी हो ।आव ०६५/६६ मा कम्पनीले जीएसएम सेवाबाट ८ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो आवबाट ०६६/६७ मा आउँदा जीएसएम सेवामा झन्डै ३ अर्ब आम्दानी वृद्धि गरेको कम्पनीले ६७/६८ मा आउँदा ३० करोड रुपैयाँमै सीमित रह्यो । गत वर्ष टेलिकमले जीएसएम मोबाइलमा ग्राहक संख्या बढाउन नसक्दा आम्दानी वृद्धि हुन नसकेको हो ।अघिल्लो वर्षको तुलनामा महसुल घटेको र पर्याप्त लाइन वितरण हुन नसक्दा जीएसएम मोबाइलको आम्दानी वृद्धि कम भएको हो । चालू आवमा एक करोड लाइनको ठूलो परियोजना कार्यान्वयनमा आउन लागेकाले ग्राहक र नयाँ सेवा थपिनेछन् । “एक करोडको परियोजना कार्यान्वयन पछि जीएसएम मोबाइलको आम्दानी पनि बढ्नेछ,” प्रवक्ता थिकेले भने ।टेलिकमले साधारण टेलिफोन ४ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेकामा गत वर्ष आम्दानी घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको आम्दानी २४ करोड रुपैयाँले कमी हो । साधारण टेलिफोनको भ्वाइस बिजनेस मोबाइलतर्फ गएको हुनाले आम्दानी घटेको प्रवक्ता थिके बताउँछन् । त्यस्तै सीडीएम सेवातर्फ कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष आम्दानीमा २५ करोडल कमी आएको छ । कम्पनीले आर्थिक वर्ष ०६७÷६८ मा सीडीएमए सेवामा २ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड आम्दानी गरेको थियो । मोबाइलको पहुँच नपुग्दा गाउँमा सीडीएमए लोकप्रिय भए पनि पछिल्लो समयमा सीडीएमए प्रयोगकर्ता घट्दै गएपछि आम्दानी बढ्न नसकेको प्रवक्ता थिकेले बताए ।टेलिकमले आर्थिक वर्ष ०६७/६८ मा १२ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष ०६६/७७ मा १० अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको कम्पनीमा ०६७/६८ आउँदा १ अर्ब ३४ करोड रुपैयाँ वृद्धि भएको छ । ०६५/६६ मा कम्पनीले कुल आम्दानी २२ अर्ब २५ करोड रपैयाँ रहेकामा ०६६/६७ मा आउँदा २७ अर्ब २२ करोड रुपैयाँ भएको थियो एक वर्षको समयावधिमा झन्डै ५ अर्बले वृद्धि भएको थियो । कम्पनीका कुल ग्राहक ७४ लाखभन्दा धेरै छन् । कुल ग्राहक मध्येमध्ये ५८ लाख जिएसएम मोबाइल प्रयोगकर्ता छन् ।
टेलिकमको आम्दानी
सेवा               आम्दानी आव ०६७/६८     आम्दानी आव  ०६६/६७    वृद्धि/ घाटा
जीएसएम             १३ अर्ब ३० करोड      १२ अर्ब ९९ करोड                  ३० करोड वृद्धि
साधारण टेलिफोन    ४ अर्ब ८७ करोड       ५ अर्ब ११ करोड                  २४ करोड कमी
सीडीएमए            २ अर्ब ४३ करोड        २ अर्ब ६८ करोड                  २५ करोड कमी

No comments:

Post a Comment