Saturday, April 28, 2012

टेलिकमले १४९८ फोन सोधपुछको टेन्डर गर्ने

काठमाडौं, वैशाख १७ (नागरिक)- सम्झौता भएको आठ महिनामै शुल्क बढाउन माग गरेपछि नेपाल टेलिकमले निजी क्षेत्रलाई जिम्मा दिएको सोधपुछ सेवा टेन्डर गर्ने भएको छ। मोबाइलको सोधपुछ नम्बर १४९८ सञ्चालन गर्न दिएको एक वर्षमै निजी कम्पनीले बढी शुल्क मागेपछि टेलिकमले अर्को कम्पनीलाई दिने योजना बनाएको छ। 'जसले सस्तो दरमा यो सेवा दिन्छ उसैलाई दिने गरी प्रक्रिया अघि बढाउन लागेका छौं,' टेलिकम स्रोतले भन्यो। गत भदौ १९ देखि हरिदेवी स्टोर्सले मोबाइल टेलिफोनको सोधपुछलगायत अरु सेवा टेलिकमसँग सम्झौता गरेर लिएको थियो। त्यसअघिनै यो कम्पनीले ल्यान्डलाइनको नम्बर सोधपुछ सेवा (१९७) को जिम्मा लिएर चलाएको थियो। १९७ को सोधपुछ सेवा भने टेलिकमले २०६२ पुसदेखि चलाउँदै आएको छ। आठ महिनाअघिको सम्झौताअनुसार एक कल रिसिभ गरेर जवाफ दिँदा हरिदेवी स्टोर्सले एक रुपैयाँ १० पैसा पाउने उल्लेख छ। अहिले यो कम्पनीले प्रतिकल एक रुपैयाँ ३० पैसा मागेको छ। 'सम्झौता भएको एक वर्ष पुग्न अझै चार महिना बाँकी छ, अहिले नै बढी शुल्क मागेपछि हामीले विकल्प खोज्नुपरेको हो,' टेलिकमका ती अधिकारीले भने। १४९८ लाई टेलिकम आफैंले सञ्चालन गर्दाभन्दा अहिले उपभोक्ताले १४९८ को सेवा छिटो पाउँदै आएका छन्। मोेबाइलबाट यो नम्बरमा कल गर्दा मोबाइलको बिल, लक-अनलक नम्बर, कालोसूची, हराउँदा ब्लक गर्न सकिने सुविधा यो नम्बरका कल गरेपछि पाउन सकिन्छ। 
यो विषय टेलिकम सञ्चालक समितिमा समेत पुगिसकेको छ। सञ्चालक समितिले नै बढी शुल्क दिनेभन्दा टेन्डर गरेर जुन कम्पनीले सस्तोमा दिने प्रस्ताव गर्छ त्यसैलाई दिने भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। कम ग्राहक भएको हुँदा टेलिकमले सिडिएमएको सोधपुछ सेवा दिएवापत कम्पनीलाई प्रति कल एक रुपैयाँ ३० पैसा दिन्छ। बढी ग्राहक भएको हुँदा जिएसएमको सोधपुछ (१४९८) र ल्याण्डलाइनको सोधपुछ (१९७) लाई भने प्रति कल एक रुपैयाँ १० पैसा दिने सम्झौतामा उल्लेख छ। टेलिकम स्रोतका अनुसार १९७, १९१ र १४९८ मा गरी मासिक १० लाख कल हुन्छ। सोधपुछ नम्बरमा कल गर्दा उपभोक्ताले कुनै शुल्क तिर्नुपर्दैन। टेलिकमले नै ती नम्बरमा भएका कलको विवरण राखेर कम्पनीलाई पैसा दिदै आएको छ। बिहान ७ देखि बेलुकी ८ बजेसम्म खुला हुने १४९८ सेवा प्रयोगकर्ताले कुनै महसुल तिर्नुपर्दैन। निजी कम्पनीले चलाएको हुँदा सार्वजनिक बिदा र बन्दका दिन पनि यो सेवा सञ्चालन हुँदै आएको छ। टेलिकमका केही अधिकारीहरुले एक मिनेटको भन्दा प्रतिकल २०/२५ सेकेन्डको बनाउन सकिने प्रस्ताव गरेका थिए। त्यसलाई समेत सञ्चालक समितिले अस्वीकार गरेपछि अब टेन्डर गरेर नयाँ कम्पनी छान्ने तयारी गरिएको छ। 'पुरानै रेटमा सेवा सञ्चालन गर्न तयार भए तत्काल टेन्डर नगर्न पनि सकिन्छ, बढी रकम माग्ने हो भने थोरै शुल्कमा सेवा दिने नयाँ कम्पनी छनोट गरिनेछ,' स्रोतले भन्यो। टेलिकमका जिएसएम मोबाइल उपभोक्ता ६० लाख र सिडिएमए ८ लाख ४८ हजार छन्। 

के हो १४९८?
१४९८ नम्बर टेलिकमले मोबाइलको समस्या सुन्न व्यवस्था गरेको लाइन हो। यसमा फोन गर्दा पैसा तिर्नुपर्दैन। यो नम्बरमा सम्पर्क भएर समस्या समाधान होइन, गुनासो गर्ने मौकासमेत उपभोक्ताले पाएका छैनन्। टेलिकमको वेबसाइटमा १४९८ लाई ग्राहक सेवा केन्द्र नम्बर उल्लेख छ। यसमा फोन गर्दा जिएसएम पोस्टपेड र प्रिपेड मोबाइलका गुनासो र सूचनाहरु प्राप्त हुने जनाइएको छ। गत भदौ १९ देखि निजी टेलिकमले सम्झौता गरेर यो सेवा निजी कम्पनीलाई दिएको छ। मोबाइलको सोधपुछ सेवालाई कसरी प्रभावकारी रुपमा चलाउन सकिन्छ भन्नेबारे अध्ययन गर्न काठमाडौं क्षेत्रीय प्रमुख मधुसूदन कर्माचार्यको संयोजकत्वमा कार्यदल गठन भएको थियो। कार्यदलले प्रभावकारी बनाउने एउटै उपायको रुपमा निजी क्षेत्रलाई दिनुपर्ने प्रतिवेदन दिएको थियो। १४९८ बाट मोबाइलको बिल, लक-अनलक नम्बर, कालोसूचीमा राखेकोलगायत मोबाइलका सबै जानकारी पाउन सकिन्छ। त्यतिमात्र होइन यो नम्बर सुरु गर्दा मोबाइलको टावर बन्द भएको, कुन ठाउँमा नेटवर्क समस्या छ भन्ने जानकारीसमेत दिने उद्देश्य थियो। यो सेवा भने आंशिक रुपमा मात्र चलाएको छ। 

No comments:

Post a Comment