Saturday, April 21, 2012

३९ लाखले चलाउँछन् मोबाइलमै इन्टरनेट

काठमाडौं, वैशाख ५ - मोबाइल टेलिफोनमै इन्टरनेट खोलेर रमाउने उपभोक्ता झण्डै ३९ लाख पुगेका छन्। यो संख्या मोबाइल प्रयोगकर्ताको २७ प्रतिशत हो। 'मोबाइल टेलिफोनबाट अहिले कुराकानी र एसएमएसपछि सबैभन्दा चलेको सेवा इन्टरनेट हो,' नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। टेलिकम देशको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक सरकारी कम्पनी हो।मोबाइल टेलिफोन कुराकानी गर्ने साधनमा मात्र सिमित छैन। जुन बेला नेपालमा मोबाइल टेलिफोन सुरु भएको थियो त्यतिखेर कुराकानीमात्र हुन्थ्यो। अहिले मोबाइलबाट जति कुराकानी हुन्छ त्यत्ति अरु सेवाको प्रयोग भइरहेको छ। एसएमएसलाई अहिले टेलिकमले सबैभन्दा ठूलो भ्यालु एडेड सर्भिसको रुपमा लिएको छ। एसएमएसबाट समाचार, मिसकल एलर्ट, राशीफल लगायतका सेवाहरु लिन सकिन्छ। टेलिकमले २०५६ वैशाखदेखि मोबाइल टेलिफोन सुरु गरेको हो। टेलिकमले चलाएको साढे ५ वर्ष पछिमात्र एनसेल (तत्कालिन स्पाइस नेपाल) ले मोबाइल सुरु गरेको हो। चार वर्षअघि सम्म मोबाइलमा भ्यालु एडेड सर्भिसको रुपमा एसएमएसमात्र रहेकोमा अहिले गीत डाउनलोड, तरकारीदेखि सुनको भाउ, एमएमएस, बिना इन्टरनेट फेसबुकमा स्टाटस अपलोड गर्न सकिने सेवाहरु सुरु भएको छ। मोबाइलको भ्यालु एडेड सर्भिसको प्रयोग वृद्धिसँगै यसबाट आम्दानी समेत बढेको छ। टेलिकमको आर्थिक वर्ष २०६७/६८ को विवरण अनुसार इन्टरनेट सेवाबाट ७४ करोड ४७ लाख रुपैयाँ कमाएको छ। यसमध्ये मोबाइलमा इन्टरनेटबाट ४ करोड ९१ लाख कमाएको थियो। मोबाइलका उपभोक्ता अहिले एक करोड ३८ लाख छन्। टेलिकमको जिएसएम मोबाइलबाट जिपिआरएस प्रयोगकर्ता वृद्धिसँगै यसको आम्दानी समेत बढेको छ। जिपिआरएसबाट गत वर्ष एक करोड ५२ लाख रुपैयाँ आम्दानी भएकोमा २०६७/६८ मा एक करोड ९७ लाख भएको थियो। सिडिएमए सेवातर्फ भने इन्टरनेटबाट हुने आम्दानी घटेको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेलका जिपिआरएस प्रयोगकर्ता सबैभन्दा धेरै छन्। एनसेलबाट जिपिआरएस सेवा लिने उपभोक्ता झण्डै २४ लाख छन्। जिपिआरएस लगायत नयाँ सेवा प्रयोग गर्न बजारमा पाइनेमध्ये स्तरीय मोबाइल सेट हुनुपर्छ। त्यसैले यो सेवा सहरी क्षेत्रमा बढी लोकप्रिय छ। एनसेल स्रोतका अनुसार यसका उपभोक्ताले मोबाइलबाट हेर्ने साइटमा सबैभन्दा बढी फेसबुक लगायत सामाजिक सञ्जाल हुन्। नेपाल टेलिकम र एनसेलपछि निजी क्षेत्रको अर्को मोबाइल कम्पनी नेपाल स्याटेलाइटले समेत जिपिआरएस सुरु गरेको छ। ग्रामीण क्षेत्रमा मोबाइल चलाएको भएपनि नेपाल स्याटेलाइटले नयाँ सेवाहरु दिइरहेको छ। 'अबको विश्व भनेको कुराकानीमा मात्र सिमित हुनेवाला छैन,' नेपाल स्याटेलाइटका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले भने। विकसित देशहरुमा मोबाइलबाट हुने आम्दानीमध्ये आधा कुराकानी र आधा इन्टरनेट लगायत अतिरिक्त सेवाबाट हुन्छ। नेपालमा साक्षरता वृद्धि, मोबाइलको पहुँच, इन्टरनेटमा स्थानीय सामाग्री थपसँगै प्रयोग बढ्ने अपेक्षा दूरसञ्चार सेवा प्रदायकको छ। 'मोबाइलमा अहिले कुराकानी मुख्य र डाटा अतिरिक्त सेवाको रुपमा छ,' थिकेले भने, 'अबको एक दशकमै मोबाइलमा डाटा मुख्य कुराकानी सहायक सेवा हुने संकेत देखिएको छ।' जापान लगायत विकसित देशहरुमा मोबाइलबाट कुराकानी, एसएमएस भन्दा पनि इन्टरनेटको अत्यधिक प्रयोग भइरहेको छ। मोबाइल बैंकिङ, मोबाइलबाट सबै खालका सेवाका प्रयोग गर्न सक्नेगरि प्रविधि विकास भइसकेको छ। मोबाइल क्षेत्रका जानकारहरुका अनुसार २०१७ सम्म विश्वमा फोरजी स्थिर हुनेछ। त्यसपछि अहिलेभन्दा कुराकानी अझै घटेर मोबाइलमा विभिन्न सेवाहरु थप हुनेछन्

No comments:

Post a Comment