Thursday, April 5, 2012

टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४५ रुपैयाँ नगद लाभांश दिने


आक्रामक विस्तार योजना
काठमाडौं, २२ चैत (कास) ः नेपाल टेलिकमले एक सेयरबराबर ४५ रुपैयाँ लाभांश दिने भएको छ । टेलिमकको बुधबार भएको वार्षिक साधारणसभाले लाभांश प्रस्ताव स्वीकृत गरेको हो । आव ०६७/६८ को नाफाबाट प्रतिफल दिन लागिएको हो । गत आवमा टेलिकमले १२ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । सेयरधनीहरूले शुक्रबारदेखि एनएमबी बैंकबाट लाभांश रकम लिन सक्नेछन् । बैंकका जनुसुकै शाखाबाट रकम लिन सकिने टेलिकम सचिव बुद्धिप्रसाद आचार्यले बताए । अघिल्लो आवमा टेलिकमले प्रतिसेयर ४० रुपैयाँ लाभांश दिएको थियो । टेलिकममा ९१.५ प्रतिशत सरकार, ५ प्रतिशत टेलिकम कर्मचारी र ३.५ प्रतिशत सर्वसाधारणको सेयर छ । यसका साढे ३३ हजार सेयरधनीमध्ये २८ हजार सर्वसाधारण, ५ हजार ५ सय कर्मचारी र सरकारको स्वामित्व छ । टेलिकम सञ्चालक समितिका अध्यक्ष अवनिन्द्रकुमार श्रेष्ठले प्रतिकूल अवस्थामा समेत टेलिकमको नाफा उच्च रहेको दाबी गरे । “उर्जा संकट, इन्धन मूल्यमा देखिएको अस्वाभाविक वृद्धि, उच्च मुद्रास्फीति, दूरसञ्चार सेवामा बढ्दो प्रतिस्पर्धामा समेत कम्पनीले आम्दानीको दायरा फराकिलो बनाएको छ,” उनले भने । सूचनाको पहुँचमा रहेको खाडल र सूचनाको प्रवाहमा रहेको अवरोधलाई क्रमशः न्यूनीकरण गर्दै दूरसञ्चार क्षेत्रमा टेलिकमले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । ऊर्जा संकट बढ्दै गएको अवस्थामा वैकल्पिक ऊर्जाको माध्यमबाट भए पनि सेवाको गुणस्तरमा टेलिकमले ध्यान दिनुपर्ने श्रेष्ठले बताए । गत वर्ष २९ अर्ब ८५ करोड रुपैयाँ कारोबार गरेको टेलिकमले १ करोड करोड लाइन थप गर्ने, सीडीएमए सेवातर्फ २० लाख लाइन थप गर्ने, सबै गाविसमा द्रुत गतिको इन्टरनेट सेवा पु¥याउन वाइम्याक्स विस्तार गर्ने जनाएको छ । यसै वर्षभित्र एकीकृत बिलिङ प्रणाली सुरु गर्ने, जीएसएम तथा सीडीएमए मोबाइलको गुणस्तर सुधार गर्न बीटीएस थप गर्ने उसको योजना छ । टेलिकमको रणनीतिक साझेदारका लागि बेग्लै समिति गठन भई कार्यरत रहेको र केही महिनामै यसको परिणाम आउने सभामा जानकारी दिइयो ।

No comments:

Post a Comment