Sunday, April 8, 2012

माफ गर्नुहोला सम्पर्क हुन सकेन

योगेश खतिवडा काठमाडौ, चैत्र २५ - मोबाइलको महत्त्व नबुझेकी त होइनन् रक्षा भट्टराईले । तर शुक्रबारको दिनचाहिँ साँच्चै नै उनलाई मोबाइल सम्पर्कको खाँचो थियो । त्यही दिनचाहिँ झन ठूलो धोका पाइन् । अर्थात् लागेन फोन । मोटरसाइकल दुर्घटनामा परेपछि सबैभन्दा पहिले उनले आफ्नो उद्धारका लागि नजिकको आफन्तलाई सम्पर्क गर्न खोजेकी थिइन् । तर अहँ ! उही पुरानै रोग । 'सम्पर्क हुन सकेन ।' उनका देवरले पनि आफन्तलाई फोन थिचे । छेउमै उद्धार गर्न आइपुगेका ट्राफिक प्रहरीले पनि मोबाइलबाट सम्पर्क गरिदिन प्रयास गरे । ट्राफिकले नै मोबाइलको 'ट्राफिक जाम' बेहोर्नुपर्‍यो । 'आधा घन्टासम्म कसैको फोन लाग्न सकेन,' शुक्रबार दुर्घटनामा परी काठमाडौं मेडिकल कलेजमा उपचार गराएर घर फर्केकी भट्टराईले भनिन्, 'काठमाडौंमै आफ्ना आफन्तहरू भए पनि आज म असहाय र टुहुरीजस्ती भएँ ।' कसैलाई फोन नलागेपछि उनी र देवरलाई ट्राफिक प्रहरी र बटुवाले ट्याक्सीमा हालेर अस्पताल पठाएका थिए । अस्पतालमा पनि आगन्तुकले उनीहरूलाई डोर्‍याएर उपचार गराइदिएका थिए । 'इमर्जेन्सीमा पुगेर उपचार गर्न थालेपछि बल्लबल्ल फोन लाग्यो,' उनले भनिन्, 'त्यतिन्जेलसम्म मैले टेलिकमलाई लाख चोटि सरापिसकेकी थिएँ ।' यस्तो समस्या भोग्ने भट्टराई एक्ली होइनन् । उनको जस्तो गम्भीर अवस्थामा पनि फोन नलागेर दुःख पाउनेदेखि महत्त्वपूर्ण भेटघाट र मिटिङका लागि पनि सम्पर्क हुन नसकेर काम बिग्रेका कयौं उदाहरण छन् । यस्ता उदाहरणको फेहरिस्ता पस्कनुअघि टेलिकमका उही 'सदाबहार' प्रबन्ध निर्देशक अमरनाथ सिंहका बारम्बारका भनाइ फेरि कानमा गुन्जिन्छन् । उनले तीन महिना अघि मात्र पनि दोहोर्‍याएका थिए, 'अबको प्रतिस्पर्धा गुणस्तरीय सेवामा हुन्छ । हामी त्यसैमा केन्दि्रत भएका छौं ।'

तर उनले भने जस्तो गुणस्तर सुधि्रयो त ? छैन । धेरै ग्राहकको गुनासो छ, 'मोबाइल त काम नलाग्ने भयो । गुणस्तर कहिले राम्रो हुने हो ?' अझ एक सातादेखि ग्राहकले धेरै पटक दोहोर्‍याउन थालेका छन्, 'मोबाइल जे कामका लागि किनेको त्यही गर्दैन ।' सिंहको भनाइ भनाइमै मात्र सीमित भइरहेको छ । सम्झँदा पनि 'कन्पारो' तातेर आउँछ । यही गुनासो र चिन्ता पोख्ने भीडका एक पात्र हुन् तिनकुनेका सुवास ढकाल । उनलाई कीर्तिपुर बस्ने साथीसँग दैनिकजसो कुराकानी गर्नुपर्छ । तर कुराकानी कहाँ सजिलो छ र ? कनेक्सनमा समस्या, नेटवर्क बिजी, नेटवर्क अनअभाइलेभल, तपाईले सम्पर्क गर्न खोज्नुभएको मोबाइलमा सम्पर्क हुन सकेन जस्ता साझा समस्याहरू । 'एकपटक डायल गर्दै फोन लाग्ने आशा त हुनै छाडिसक्यो,' उनले भने, 'लगातार डायल गरेपछि बल्ल फोन लाग्छ ।' अनि लागेर पनि समस्या त्यत्तिमै सकिँदैन । 'फोन लाग्यो भनेर खुसी भयो फेरि नसुनिने टेन्सन,' उनी भन्छन्, 'प्रस्ट सुनिँदैन । कहिले यताबाट बोलेको उता बुझिँदैन त कहिले उताको ।' तर उनी यही सेवा चलाउँछन् । कारण केही सस्तो पर्ला भनेर । 'अरू भन्दा कल शुल्क सस्तो छ भन्ने भएकाले यही चलाएको छु,' उनले भने, 'धेरै साथीहरूसँग टेलिकमकै सिम भएकाले अरू कम्पनीको लिँदा फोन गर्न महँगो पर्छ ।' नसुनेर एउटै काममा पटकपटक फोन गर्नुपर्दा भने पैसा र समय बर्बाद मात्र । 'फोन लागे पनि कुरा नहुने तर पैसा काटिनु त सोझै ठग्नु हो नि,' उनी भन्छन् । कुरा फोन गर्दा आउने समस्याको मात्र हैन । एसएमएस पनि उस्तै छ । कहीले पुग्छ टुंगो छैन । यसै कारणले बुधबार कोटेश्वरमा लोकेन्द्र शाक्यको भाइसँग झगडा पर्‍यो । 'बुधबार बेलुका खाना खान आउँदिन भनेर एसएमए पठाएको थिएँ,' उनले भने, 'तर बेलुका ढिला घर पुग्दा मेरा लागि खाना तयार थियो ।' म्यासेज पठाएको बताउँदा भाइले पत्याएन र उनले आफ्नो मोबाइलमा देखाउनुपर्‍यो । 'चार घन्टामा पनि डेलिभर नै भएको रहेनछ,' उनले भने, 'भोलिपल्ट बिहान भाइको मोबाइलमा म्यासेज आएको थियो ।' उनी शुल्क तिरेपछि गुणस्तरीय सेवा पाउनुपर्ने उपभोक्ताको अघिकार भएको बताउँछन् । 'नियामक निकायले उपभोक्ताको अधिकारमा काम गर्नुपर्ने हो,' पाँच वर्षदेखि मोबाइल बोकेका उनले भने, 'तर किन हो मैले मोबाइल बोक्न सुरु गर्दादेखि अहिलेसम्म समस्या सुल्भिmएको छैन ।'
प्रविधिको विस्तारसँगै भित्रिएको मोबाइलले धेरैको दैनिक सहज बनाएको छ । तर गुणस्तरहीन सेवाका कारण समयमा काम गर्न नसक्ने मात्र नभई बिनाकारण खर्च गर्नुपरेको छ । 'छिट्टै गुणस्तर सुधार हुन्छ,' भन्ने कुरा टेलिकमका उच्च अधिकारीको लामो समयदेखिको साझा उत्तर बनेको छ । तर कहिलेसम्म ? उत्तर उनीहरूसँग छैन । एक करोड मोबाइल ग्राहक थप्ने योजना साथ काम गरिरहेको यो कम्पनीले गुणस्तरीय सेवामा केन्दि्रत हुनुपर्ने जानकार बताउँछन् । 'गुणस्तरीय सेवाको विस्तार गर्न सक्यो भने मात्र ग्राहक थपिन्छन्,' सञ्चार मन्त्रालयका एक अधिकारीले भने, 'अहिलेको जस्तै सेवा हुने हो भने भएका पनि घट्न बेर छैन ।' मोबाइल सेवा निर्देशनालयका निर्देशक विष्णु कसजू भने मोबाइल गुणस्तरहीन भएको स्विकार्दैनन् । 'सबैतिर समस्या आएको त थाहा छैन,' उनले भने, 'कुनै निश्चित ठाउँमा समस्या आएको होला ।' उनले मोबाइल नेटवर्कमा समस्या आएको गुनासो कतैबाट पनि नआएको बताए । केही क्षेत्रमा समस्या भए त्यसलाई छिट्टै सुधार गर्ने बताए । उनले एसएमएसमा बिहीबार समस्या आएको बताउँदै थपे, 'एसएमएसमा अहिले समस्या छैन ।' टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बिटिएस टावर थप्नुपर्ने ठाउँमा त्यो काम पूरा नभएकाले त्यस्ता क्ष्ाेत्रमा मात्र समस्या आएको बताए । 'टावर थप गर्नुपर्ने ठाउँमा थपेर अप्टिमाइजेसनको काम गरिरहेका छौं,' उनले भने, 'त्यस्ता क्षेत्रमा छिटै समस्या सुल्भिmन्छ ।' यस्तो क्षेत्रबाट अर्को ठाउँमा जाँदा फोन काटिने समस्या पनि देखिएका उनले बताए । टावर थप्ने र त्यसलाई अप्टिमाइजेसन गर्ने काम तीव्र गतिमा भइरहेको उनको भनाइ छ । गुणस्तरीय सेवा ग्राहकले नपाएको गुनासो गर्ने ठाउँ नेपाल दूरसञ्चार प्राधिकरणले केही पनि ठोस काम गरेको छैन । 'पुसमा आएको गुणस्तर अध्ययन प्रतिवेदनले दूरसञ्चार सेवा गुणस्तरीय नभएको देखाएको छ,' प्राधिकरणका उदय रेग्मीले भने, 'अध्ययनका क्रममा सोधिएको प्रश्नमा प्रायः ग्राहकले सेवाप्रति सन्तुष्ट नभएको बताएका छन् ।'प्रतिवेदन सार्वजनिक पछि प्राधिकरणले ६ महिनाभित्र गुणस्तर सुधार गरी प्रतिवेदन बुझाउन भनेको छ । 'असारमा सेवा गुणस्तरीय भएको प्रतिवेदन बुझाउनुपर्छ,' उनले भने, 'त्यसपछि पुनः गुणस्तरको अध्ययन गरिने छ ।' यसो त प्राधिकरणले यसअघि पनि गुणस्तर अध्ययन गर्न लगाएको थियो । त्यसबेला पनि गुणस्तरीय दूरसञ्चार सेवा नभएको प्रतिवेदन आएपछि उसले सुधारका लागि निर्देशन दिन बाहेक केही काम गरेन । 'सुधारका लागि निर्देशन दिएपछि सुधार भए नभएको पनि हेर्नुपर्छ,' प्राधिकरणका एक अधिकारीले भने, 'कम्पनीहरूमा प्राधिरकणले निर्देशन दिन्छ र चुप लागेर बस्छ भन्ने मानसिकता विकास भइसकेकाले सुधारमा केही काम नगरेका हुन् ।' उनले प्राधिकरणले गुणस्तरको अनुगमन र कारबाही प्रक्रिया अगाडि बढाए मात्र यसमा सुधार आउन सक्ने बताए ।मुलुकका आधा जनसंख्या -१ करोड ३८ लाख) को पहुँचमा मोबाइल सेवा पुगेको छ । त्यसमा झन्डै ७० लाख ग्राहक नेपाल टेलिकमका छन् । टेलिकमका साथै अन्य कम्पनीका ग्राहकले गुणस्तरीय सेवा पाउनु प्राधिरकणले काम गर्नुपर्छ । अनि कम्पनीहरू पनि बजारमा टिकिरहन यसप्रति संवेदनशील हुनुपर्छ

No comments:

Post a Comment