Tuesday, April 3, 2012

पोस्टपेडमा आगमन कल नकाटिने

काठमाडौं, चैत २२ (नागरिक)- मोबाइलमा आगमन कलसमेत काटिएर समस्या भोग्नु भएको छ? अब भने दुवैतर्फी सेवा काटिएर समस्या पोस्टपेड मोबाइलका उपभोक्ताले त्यस्तो समस्या भोग्नुपर्ने छैन। मोबाइल एकतर्फी भएको तीन महिनासम्म महसुल नतिरे पनि आगमन कल नरोकिने गरी टेलिकमले सुविधा थप्दैछ। 'पोस्टपेड मोबाइलप्रति ग्राहकको चासो बढाउन आगमन कल भने निषेध नगर्ने निर्णय सञ्चालक समितिबाट भएको छ,' टेलिकम स्रोतले भन्यो। मोबाइलबाट बाह्यागमन कल निषेध भएको तीन महिनासम्म महसुल नतिरे पनि आगमन कल नरोक्ने निर्णय भएको हो। अहिले पोस्टपेड मोबाइलमा धरौटी रकमको ७५ प्रतिशत समाप्त भएपछि पहिलोपटक एसएमएस आउँछ। धरौटीको ९० प्रतिशत सकिएपछि एकतर्फी (कलमात्र आउने) हुन्छ। धरौटी रकम सबै सकिएपछि दुवै प्रकारको सेवा काटिन्छ। त्यस्तो अवस्थामा काटिएको मोबाइलमा कल गर्दा 'आगमन कल निषेध गरिएको छ' सन्देश सुनिन्छ। टेलिकमको यो निर्णयबाट धरौटी रकम सकिएर कल गर्न नपाए पनि बाहिरबाट आउने कल भने निर्वाध रुपमा आइरहनेछ। यसबाट पोस्टपेड मोबाइलका डेढ लाख उपभोक्ताले राहत पाउने छन्। आगमन कल नकाट्दा टेलिकमको आम्दानीमा घट्नेभन्दा बढ्ने भएपछि यस्तो निर्णय गरिएको हो। 'कल गर्न नपाए पनि आगमन कलले गर्दा टेलिकमको आम्दानी बढाउन सहयोगै पुग्छ,' स्रोतले भन्यो। टेलिकम स्रोतका अनुसार पोस्टपेड मोबाइलको लाइन काटिएपछि पुनः जोड्न ५ सय ६५ रुपैयाँ तिर्नुपर्नेमा त्यसलाई घटाइएको छ। काटिएको लाइन फेरि जोड्न एक सय रुपैयाँमात्र लाग्ने गरी शुल्क घटाउने निर्णयसमेत सञ्चालक समितिले गरेको छ। 'पोस्टपपेड मोबाइलका उपभोक्ता बढाउने उद्देश्यले आगमन कल नकाट्ने र रि-कनेक्सन शुल्क घटाइएको हो,' टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने। पोस्टपेड प्रति उपभोक्ताको आकर्षण बढाउन केही महिनाअघि टेलिकमले प्रहरीलाई महसुलमा समेत छुट हुने गरी पोस्टपेड सेवा दिन थालेको छ। टेलिकमका झन्डै ६० लाख जिएसएम मोबाइल उपभोक्तामध्ये ५८ लाख प्रिपेडका छन्। पोस्टपेडबाट कल गर्दा मिनेटको एक रुपैयाँ लाग्छ भने प्रिपेडका उपभोक्ताले डेढ रुपैयाँ तिर्नुपर्छ। पोस्टपेडको महसुल तिर्न टेलिकमको काउन्टर र बैंकमा जानुपर्ने र एकतर्फी हुने हुँदा ग्राहकहरु आकर्षित भएका थिएनन्। अहिले टेलिकमले पोस्टपेड उपभोक्तालाई सुविधा थप्न प्रिपेडकै रिचार्ज कार्डबाट महसुल तिर्न सक्ने सुविधा राखेको छ। वैशाखदेखि लागु हुने गरी पोस्टपेडलाई दुईतर्फी नकाट्ने तयारी सुरु भइसकेको छ।

No comments:

Post a Comment