Tuesday, July 3, 2012

वाइम्याक्स छिटो ल्याउन निर्देशन


रामचन्द्र भट्ट, काठमाडौं, असार १८ - टेन्डर प्रक्रियाबाट निजी इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीलाई समेत वाइम्याक्स इन्टरनेटको लाइसेन्स दिन सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। वर्ल्डवाइड इन्टर अपरेटराबिलिटी फर माइक्रोवेभ एक्सेस भनिने वाइम्याक्स ब्रोडब्यान्ड इन्टरनेट प्रविधि हो। मन्त्रालयले प्राधिकरणलाई तत्काल टेन्डर गरेर बढी लाइसेन्स शुल्क तिर्ने आइएसपीलाई वाइम्याक्स सञ्चालन गर्न दिन निर्देशन दिएको हो।
'पहिले नै फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट पारित भएको मापदण्डअनुसार गर्न हामीले प्राधिकरणलाई पत्र पठाएका हौं,' मन्त्रालयका फ्रिक्वेन्सी महाशाखा प्रमुख सूर्यबहादुर राउतले भने। एक वर्षअघि समितिले नेपाल टेलिकम, निजी दूरसञ्चार कम्पनी र एउटा आइएसपीलाई यो प्रविधि चलाउन दिने निर्णय गर्दै फ्रिक्वेन्सीसमेत छुट्याइसकेको छ। वाइम्याक्स इन्टरनेटमा थ्रीजीपछिको प्रविधि हो। यसमा ३० देखि ४० मेगाबिट प्रतिसेकेन्ड स्पिडमा इन्टरनेट चलाउन सकिन्छ। थ्रीजी, वाइम्याक्स हुँदै अहिले एलटिई प्रविधि सुरु भइसकेको छ। भारत एलटिई प्रविधिमा गइसकेको छ। एलटिईमा वाइम्याक्सको भन्दा तीनगुणा बढी छिटो इन्टरनेट चलाउन सकिन्छ। वाइम्याक्स र एलटिई ताररहित प्रविधिमा इन्टरनेट चलाउन सकिने प्रविधि हुन्। यसबाट अहिलेभन्दा ग्राहकलाई व्यापक रुपमा गाउँसम्म बढाउन सकिने अपेक्षा आइएसपीहरुको छ। 'हामीले चलाइरहेको डायलअप प्रविधि लगभग विस्थापितै भयो, वाइम्याक्स चलाउन पाउने हो भने युवावर्गलाई आकर्षित गर्न सकिन्थ्यो,' इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले भने। गत वर्षको जेठमा भएको फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले वाइम्याक्स प्रविधि खुला गर्ने निर्णय गरेको थियो। बैठकले नेपाल टेलिकमलाई ३० मेगाहर्ज दिने निर्णय गर्नुका साथै प्रतिस्पर्धाको माध्यमबाट आइएसपीमध्येबाट एउटा र टेलिफोन कम्पनीमध्येबाट एउटालाई लाइसेन्स दिने निर्णय गरेको थियो।

२.३ गिगाहर्ज ब्यान्डका लागि समितिले न्यूनतम शुल्क प्रति पाँच मेगाहर्जको निम्ति २० लाख रुपैयाँ तोकेको छ। यस आधारमा नेपाल टेलिकमले प्रतिस्पर्धा बिनै पाएको ३० मेगाहर्जका लागि अहिले नै १ करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ। निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनीहरुले बढी शुल्क तिर्ने प्रतिबद्धता जनाए टेलिकमले समेत यही आधारमा बढी तिर्नुपर्छ। 
'प्राधिकरणले कम्पनी छनोट गर्ने टेन्डर प्रक्रिया अनुमोदनका लागि यहाँ पत्र पठाएको रहेछ, समितिले निर्णय गरिसकेकाले त्यही बैठकको निर्णयअनुसार गर्न हामीले निर्देशन दिएर फिर्ता गरिदिएका हौं,' राउतले भने।

नेपाल टेलिकमले आउँदो भदौदेखि वाइम्याक्स प्रविधिबाट इन्टरनेट सुरु गर्नेगरी तयारी गरिरहेको छ। गत फागुन पहिलो साता अमेरिकी कम्पनी एअरस्पानसँग वाइम्याक्स उपकरण आपूर्तिको सम्झौता टेलिकमले गरेको छ। एअरस्पानले यही माघभित्र देशका सबै गाविसमा इन्टरनेट पुर्‍याउनुपर्ने सर्त छ।
परीक्षणको रुपमा काठमाडौं लगायत ठूला सहरमा भने भदौभित्रै वाइम्याक्स चलाउने योजना टेलिकमको छ। वाइम्याक्समा एउटा ग्राहकले कम्तीमा २५६ किलोबिट प्रतिसेकेन्डको ब्यान्डविथ पाउँछन्।
टेलिकमले सेवा सञ्चालन गर्न लागिसक्दा समेत निजी टेलिफोन कम्पनी र आइएसपीलाई लाइसेन्स दिने प्रक्रिया नै सुरु नभएपछि दुई साताअघि आइस्पानले सञ्चार मन्त्रालयमा निवेदन दिएको थियो। प्राधिकरणले निजी कम्पनीलाई वाइम्याक्स लाइसेन्स दिन टेन्डर डकुमेन्ट बनाएर स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो।
मन्त्रालयका केही अधिकारीहरुले फ्रिक्वेन्सी नीति निर्धारण समितिमा यो विषयलाई राख्ने टिप्पणी लेखेपछि झन्डै चार महिनादेखि रोकिएको थियो। आइस्पानले ध्यानाकर्षण गरेपछि फाइलको विषयमा सोधपुछ भएको थियो। पहिले नै समितिले छुट्याइसकेको फ्रिक्वेन्सीलाई टेन्डर गरेर सेवा प्रदायक छनोट गर्दा हुने भन्दै मन्त्रालयले तत्काल अघि बढ्न निर्देशन दिएको हो।
'आउँदो साताभित्रै वाइम्याक्स टेन्डर गर्ने विषयमा केही टुंगो लाग्छ,' प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने। आइएसपीलाई मात्र सहभागी गराएर टेन्डर गर्ने कि टेलिफोन सेवा प्रदायकका लागि पनि गर्ने भन्ने विषयमा निर्णय गरेर प्रक्रिया सुरु हुने हुने बताए। 
दूरसञ्चार कम्पनीमध्येबाट वाइम्याक्स सेवा प्रदायक छनोट गर्न अहिले एनसेलमात्र उपयुक्त देखिएको छ। अरु कम्पनीहरु एकीकृत दूरसञ्चार नीतिमा गएमात्र नयाँ प्रविधि सुरु गर्न सक्ने प्रावधान छ।

एनसेलले भने वाइम्याक्सभन्दा पनि एलटिई (फोरजी) सुरु गर्न इच्छा देखाएको छ। 
आइएसपीहरुले प्रविधि तटष्ठताको आधारमा वाइम्याक्स दिनुपर्ने बताएका छन्। 'वाइम्याक्स लिएपछि एलटिई र यसपछिका प्रविधिको लाइसेन्स पनि दिनुपर्छ,' आइस्पान अध्यक्ष बोहोराले भने। अहिले वाइम्याक्समात्र सुरु गर्दा केही वर्षमै यो प्रविधि विस्थापित हुने भएकोले करोडौं रुपैयाँ लगानी खेर जाने हुँदा भविष्यको नयाँ प्रविधि समेत प्रयोग गर्न पाउनुपर्ने दावी आइस्पानको हो।

वाइम्याक्सको एउटा टावरले २० किलोमिटर टाढासम्म इन्टरनेट चलाउन सकिन्छ। सहरी क्षेत्रमा बिटिएसदेखि पाँच किलोमिटरसम्म इन्टरनेट चलाउन सकिन्छ। वाइम्याक्स इन्टरनेट चलाउन कस्टमर प्रेमिस इक्युपमेन्ट (सिपी) डिभाइस राख्नुपर्छ। यो डिभाइसमा सिमकार्ड राखेपछि त्यसले वाइम्याक्स सिग्नल टिप्छ।

No comments:

Post a Comment