Monday, July 16, 2012

टेलिफोनको भाउ घट्यो, बिजुलीको बढ्यो

काठमाडौं, साउन २ (नागरिक) - दुई ठूला सरकारी संस्थानमध्ये एउटाले आफ्नो सेवाको भाउ घटाएको छ भने अर्कोले बढाएको छ। नेपाल टेलिकमले देशभरि ल्यान्डलाइनबाट मोबाइलमा हुने कलको महसुल घटाएर मिनेटको एक रुपैयाँ गरेको छ। सबैभन्दा ठूलो संस्थान विद्युत प्राधिकरणले भने बिजुलीको भाउ २० प्रतिशत बढाएको छ। टेलिफोनमा कुराकानी गर्नेले पहिलेभन्दा सस्तोमा पाए पनि लोडसेडिङ भोगिरहेका बिजुलीका उपभोक्ताले भने अब आफ्नो बजेट बढाउनुपर्ने भएको छ। 'जुन संस्था आफ्नो सेवामा एकाधिकार कायम गरेर अघि बढेको छ, त्यो घाटामा छ,' उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील अधिवक्ता ज्योति बानियाँले भने, 'प्रतिस्पर्धामा आएको संस्था भने नाफामा गएर महसुल घटाउन सफल भएको छ।' टेलिफोनको क्षेत्रमा नेपाल टेलिकमले अन्य पाँचवटा कम्पनीसँग चर्को प्रतिस्पर्धा खेपिरहेको छ। प्राधिकरणको विद्युत उत्पादन, प्रशारण र वितरणमा कहीँ पनि प्रतिस्पर्धा छैन।  'प्रतिस्पर्धात्मक बजारतिर हामीले विद्युतलाई पनि लैजान सकेको भए टेलिफोनको जस्तै बिजुलीको भाउ पनि घट्न सक्थ्यो,' बानियाँले भने। टेलिकमले ल्यान्डलाइनबाट देशभरिको मोबाइलमा टेलिफोन गर्दा अब एसटिडी सुविधा नभए पनि लोकल सरहको शुल्कमा गर्न मिल्ने सुविधा सोमबारदेखि दिएको छ। लोकल कलअन्तर्गत मिनेटको एक रुपैयाँ तिर्नुपर्छ। करसमेत हिसाब गर्दा १ रुपैयाँ २३ पैसा हुन्छ।  टेलिकमले अन्तर्राष्ट्रिय टोल फ्री नम्बरमा समेत नेपालबाटै नि्कशुल्क कल गर्न सक्ने सुविधा दिएको छ। टोल फ्री नम्बर ठूला उद्योग,  कम्पनीहरुले आफ्नो सेवाबारे जानकारी दिन उपभोक्ता र सर्वसाधारणले निःशुल्क कल गर्न सक्ने टेलिफोन नम्बर हो। उता प्राधिकरणले भने घरमा बिजुली बाल्नदेखि लिएर कारखाना चलाउन समेत महसुल बढाएको छ। मासिक २० युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्ताले युनिटमा कम्तीमा २ रुपैयाँ २० पैसादेखि ५ रुपैयाँ ५० पैसा बढी तिर्नुपर्ने भएको छ। उपभोक्ताले घरमा बाल्ने बिजुलीको लागि प्रति युनिट ११ रुपैयाँसम्म तिर्नुपर्नेछ। 

मासिक २० युनिटसम्म बिजुली खपत गर्नेले अहिले तिरिरहेको ८० रुपैयाँमात्र तिरे हुन्छ। २१ देखि ५० युनिट खपत गर्नेले युनिटको ७ रुपैयाँ ३० पैसा तिर्नुपर्छ। आयोगका अनुसार ५१ देखि १५० युनिट प्रयोग गर्नेले ८ रुपैयाँ ६० पैसा तिर्नुपर्नेछ। मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्ताले ९ रुपैयाँ ५० पैसा पुगेको छ। २५१ युनिटभन्दा माथि प्रयोग गर्नेले भने युनिटको ११ रुपैयाँ महसुल बढाउने निर्णय असार दोस्रो साता विद्युत महसुल निर्धारण आयोगले गरेको छ। बिजुलीको नयाँ महसुल दर अनुसार धेरै बिजुली खपत गर्ने उपभोक्तालाई निकै महंगो पर्ने भएको छ। ५ एम्पिएरसम्म मासिक न्यूनतम शुल्क ८० रुपैयाँ लाग्नेछ। यसबाट २० युनिट छुट ग्राहकले पाउनेछन्। त्यस्तै १५ एम्पिएरका ग्राहकले मासिक ३ सय ६५ रुपैयाँ तिरेर ५० युनिटसम्म छुट पाउनेछन्। पहिले यो मासिक २ सय ९९ रुपैयाँ थियो। ३० एम्पिएरका ग्राहकले न्यूनतम ७ सय ९५ रुपैयाँ तिर्नुपर्ने र त्यसबाट एकसय युनिटसम्म छुट पाउने नयाँ व्यबस्था आयोगले गरेको छ। पहिले यो ६ सय ६४ रुपैयाँ थियो। ६० एम्पियरका ग्राहकले न्यूनतम एकहजार सातसय ६५ रुपैयाँ तिर्नुपर्नेछ। अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको संस्थानको विवरण अनुसार टेलिकम सबैभन्दा नाफामा गएको र प्राधिकरण सबैभन्दा घाटामा सञ्चालित संस्थानका रुपमा उल्लेख गरिएको छ। बिजुलीको महसुल बढाउँदा पनि प्राधिकरणका अधिकारीहरु भने प्राधिकरण नाफामा पुग्न नसक्ने बताउँदै आएका छन्

No comments:

Post a Comment