Wednesday, July 18, 2012

पोस्टपेडमा धरौटीबिनै अन्तर्राष्ट्रिय कल सुविधाको तयारी

काठमाडौं, २ साउन - (कारोबार दैनिक)  नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलमा अन्तर्राष्ट्रिय कल सुविधा थप्ने भएको छ । कम्पनीले हाल लोकल सुविधा मात्रै दिएको पोस्टपेड मोबाइलमा अन्तर्राष्ट्रिय कल सुविधा थप गर्ने तयारी गर्ने जनाएको छ । कम्पनीका अनुसार अहिले प्राविधिक पक्षबाट काम अन्तिम चरणमा पुगेको छ । प्रावधिक रूपमा अन्तिम प्रतिवेदन आएपछि टेलिकम सञ्चालक समितिमा सुविधा थप गर्न प्रस्ताव लगिने भएको छ । “हामीले प्रतिस्पर्धी बजार र कम्पनीको आर्थिक स्वास्थ हेरी समय सान्दर्भिक सुविधा थप गर्दै आएका छौं,” कम्पनीका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने, “अहिले जीएसएम  पोस्टपेड मोबाइल लोकल कलमा राख्नुपर्ने १ हजार धरौटी साविकमै अन्तर्राष्ट्रिय कल सुविधा दिन लागिएको हो ।” पोस्टपेड मोबाइल लिन अहिले ग्राहकले २ हजार १ सय ३० रुपैयाँ तिर्दै आएका छन् । जसमध्ये स्वामित्व शुल्क १ हजार १ सय ३० र टक भ्यालु १ हजार रुपैयाँ हुन्छ । अन्तर्राष्ट्रिय सेवा लिन ग्राहकले ३ हजार धरौटी राख्नुपर्छ । टेलिकमले सन् १९९९ बाट पोस्टपेड मोबाइल सुरु गरे पनि ग्राहक भने बढ्न सकेका छैनन् । कम्पनीले पोस्टपेड सेवालाई सहज बनाउन कार्डमार्फत रिचार्ज गर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीका शाखा कार्यालय र बैंक काउन्टरसम्म ग्राहक बिल तिर्न जान नपर्ने भएको छ ।   प्रतिस्पर्धी बजारमा कम्पनीले एकपछि अर्का नयाँ–नयाँ सुविधा ल्याएर ग्राहकको ध्यान भने केन्द्रित गरिरहेको छ । कम्पनीले सोमबारदेखी नै देशभर लोकल कल बनाएको छ । एसटीडी कल सुविधा हटाउँदै कम्पनीले देशभर एक रुपैयाँ (कर बाहेक) मा कल गर्न मिल्ने सुविधा बनाएको हो ।

No comments:

Post a Comment