Sunday, July 8, 2012

आधा जनसंख्याको हातमा मोबाइल

कारोबार संवाददाता काठमाडौं, २३ असार- सूचना प्रविधिको बढ्दो विस्तारसँगै नेपालमा मोबाइल बोक्नेको संख्यामा उच्च वृद्धि भएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल जनसंख्याको ५५.४ प्रतिशतले मोबाइल प्रयोग गरेका छन् । तर एकै व्यक्तिले एकभन्दा बढी सिमकार्ड प्रयोग गर्ने प्रचलन रहेको र सिमकार्डको लगत व्यवस्थित नहुँदा कति व्यक्तिको हातमा मोबाइल छ भन्ने एकिन भने हुन नसकेको बताइएको छ । केन्द्रीय तथ्यांक विभागले एक वर्षअघि सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको  जनसंख्या २ करोड ६६ लाख २० हजार छ । नेपालमा अर्थात् १ करोड ६६ लाख ४४ हजार लाइन टेलिफोन वितरण भएको छ । जसमध्ये ५५.४ प्रतिशत मोबाइल, ३.१९ साधारण टेलिफोन र ५.९५ लिमिटेड मोबिलिटी सेवाहरू छन् । पछिल्लो आधा दशकयता नेपालमा दूरसञ्चार सेवाको विस्तार तीव्र भएपछि  सर्वसाधारणमा मोबाइलको पहुँच बढेको छ । ग्राहकको आवश्यकता र रोजाइ दुवै मोबाइल भएकाले मोबाइलकै विस्तारमा जोड दिएको नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिके बताउँछन् । मोबाइलकै माग बढेकाले १ करोड मोबाइल थप्ने योजना टेलिकमले बनाएको छ । अहिले टेलिकमका ७६ लाख ३३ हजार  ग्राहकमध्ये ६० लाख मोबाइल ग्राहक छन् । उता एनसेलले पनि मोबाइल र इन्टरनेट विस्तारलाई जोड दिएको छ । एनसेलका ७८ लाख ८८ हजार ग्राहक छन् । एनसेलका सबै ग्राहक जीएसएम मोबाइलका ग्राहक हुन । यूटीएलका ६ लाख ग्राहक छन् । यूटीएलले सीडीएमए प्रविधिमा लिमिटेड मोबिलिटी सेवा दिएको छ ।

गत आर्थिक वर्षमा देशका सवै गाविसमा टेलिफोन सेवाको पहुँच पुगेको छ । ६ सेवा प्रदायक नेपाल टेलिकम, एनसेल, यूटीएल, स्मार्ट, एसटीएम र नेपाल स्याटेलाइटले नेपालमा दूरसञ्चार सेवा दिएका छन् । भिन्न नेटवर्कमा कल गर्दा धेरै शुल्क लाग्ने भएपछि दुईवटा सिमकार्ड प्रयोग गर्न मिल्ने मोबाइलको माग बढेको छ । सेवा प्रदायकको नेटवर्कमा कल गर्दा सर्वसाधारणले समान अवधि कुरा गर्दा धेरै पैसा तिर्नुपर्ने भएपछि सर्वसाधारणले दुईवटा सिमकार्ड प्रयोग गर्न थालेका छन् । साधारण टेलिफोन जडानदेखि प्रयोगसम्म मोबाइलभन्दा झन्झटिलो हुने भएकाले आकर्षण घटेको सम्बद्ध निकायहरू बताउँछन् । सरकारको बहुमत सेयर भएको टेलिकम र निजी क्षेत्रको एनसेलबीच दुई वर्षयता प्रतिस्पर्धा  बढेको छ । नेपालमा भ्वाइस सेवाको बजार अत्याधिक बढ्दै गए पनि डाटातर्फ भने बजार विस्तार हुन सकेको छैन । १८ प्रतिशतमा इन्टरनेटको पहुँच पुगे पनि अधिकांश प्रयोगकर्ताले मोबाइलमा जीपीआरएस प्रयोग गर्छन् । युवापुस्ताले मोबाइलमा जीपीआरएस जडान गरी इन्टरनेट चलाउने क्रम पछिल्लो समयमा ह्वात्तै बढेको छ । मोबाइलमै इन्टरनेट जडान भएपछि सहज, सरल र लोडसेडिङको समयमा समेत चलाउन सकिने भएपछि थप आकर्षण बढेको हो । डाटातर्फ कुल बजार हिस्सामध्ये ५७ प्रतिशत एनसेल, ४० प्रतिशत नेपाल टेलिकम, २ प्रतिशत यूटीएल र १ प्रतिशत आइएस्पीको छ ।  नेपालमा कुल जनसंख्यामध्ये ४८ लाख ६७ हजार ५ सय २४ जनामा इन्टरनेट सेवा पुगेको प्राधिकरणको प्रतिवेदनमा छ ।

No comments:

Post a Comment