Saturday, March 10, 2012

अछामभन्दा अमेरिका फोन गर्दा सस्तो

काठमाडौं, फागुन २८ (नागरिक)- अछामको साँफेबगरबाट काठमाडौं टेलिफोन कल गर्नुभन्दा अमेरिका गर्दा सस्तो भएको छ। त्यस्तै कपिलवस्तुबाट झापाको काँकडभिट्टाभन्दा क्यानडा कल गर्दा मिनेटको २५ पैसा सस्तो पर्ने भएको टेलिकमले हालै अमेरिका र क्यानडा कल गर्दा लाग्ने महसुल घटाएपछि देशभित्रै फोन गर्नुभन्दा विदेशमा कुराकानी गर्दा सस्तो भएको छ। काठमाडौंबाट सुदूरपश्चिमको अछाममा टेलिफोन कुराकानी गर्न प्रतिमिनेट झन्डै साढे दुई रुपैयाँ पर्छ। अमेरिका र क्यानडामा कुराकानी गर्दा भने मिनेटको दुई रुपैयाँ १७ पैसामात्र पर्छ। 'अन्तर्राष्ट्रिय रूपमा अहिले व्यान्डविथको मूल्य घटिरहेको हुँदा अमेरिका र क्यानडा कल सस्तो भएको हो,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने। टेलिकमले सुरुमा '१४२४' कोड नम्बर डायल गरेर अमेरिका र क्यानडा कल गर्दा पहिले लिँदै आएको प्रतिमिनेट करबाहेक चार रुपैयाँलाई अहिले घटाएर १ रुपैयाँ ७५ पैसामा झारेको छ। यसपछि नेपालभित्र ल्यान्डलाइनबाट एसटिडी गर्नुभन्दा अमेरिका सस्तो भएको हो। ५० किलोमिटरभन्दा टाढाका जिल्लामा एसटिडी कल गर्दा अमेरिकाभन्दा पनि महँगो परेको छ।
'अमेरिका र क्यानडा कल गर्दा मिनेटको १ रुपैयाँ ७५ पैसा भएपछि देशभित्रै एसटिडी पनि घटाएका छौं,' थिकेले भने। वार्षिक उत्सवका अवसरमा तीन महिनाका लागि टेलिकमले ५० किलोमिटरभन्दा टाढाको एसटिडीलाई मिनेटको १ रुपैयाँ ५० पैसामा झारेको छ। टेलिकमको मोबाइल र ल्यान्डलाइनबाट देशभित्रकै एनसेलको नम्बरमा फोन गर्दा अझै बढी महसुल लाग्दै आएको छ। टेलिकमको जिएसएम (नमस्ते) प्रिपेडबाट एनसेलका नम्बरमा कल गर्दा करबाहेकै साढे दुई रुपैयाँ महसुल लाग्छ। करसमेत जोड्दा मिनेटको ३ रुपैयाँ १० पैसा पर्छ। देशभित्रभन्दा पनि अमेरिका कल गर्दा सस्तो पर्नुमा ब्यान्डविथको भाउ सस्तो हुनु हो। पहिले स्याटेलाइटबाट मात्र आइएसडी कल हुनेमा अहिले समुद्रमा बिच्छ्याइएको अप्टिकल फाइबरबाट सिधै अमेरिका कल सस्तो भाउमा हुन सम्भव भएको हो। आइएसडी सस्तो हुनुमा अर्को कारण टर्मिनेसन चार्ज घट्नु पनि हो। नेपालबाट गएको कललाई विकसित देशमा ज्यादै कम टर्मिनेसन चार्ज लिइन्छ। 'हामीले पहिलेभन्दा ज्यादै थोरै मार्जिन (नाफा) मा आइएसडी कल गर्न दिइरहेका छौं,' थिकेले भने। केही वर्षअघि टेलिकमको आम्दानीमध्ये सबैभन्दा ठूलो हिस्सा आइएसडीबाटै आउँथ्यो। त्यतिखेर आम्दानीको ६० प्रतिशत आइएसडीबाट आउने गरेकोमा अहिले देशभित्रै मोबाइल र ल्यान्डलाइनको स्थानीय कल र विदेशबाट आउने कलबाट प्राप्त हुने स्रोत टेलिकमको मुख्य आर्थिक स्रोत भएको छ। अहिले विदेश कल गर्नेले साइबर क्याफे, स्काइप प्रयोग गर्न थालेपछि अमेरिका र क्यानडामा हुने कललाई टेलिकमले सस्तो बनाएको हो। 'मिनेटको करबाहेक १ रुपैयाँ ७५ पैसा गरेपछि मानिसले साइबर क्याफे जानेभन्दा पनि मोबाइलबाटै कुराकानी गर्न थालेका छन्,' उनले भने।  टेलिकमको प्रतिस्पर्धी एनसेल र युटिएलले समेत पछिल्लो समय अइएसडी कल व्यापक सस्तो बनाएका छन्। एनसेलबाट अमेरिका, भारत, साउदी अरेबिया, मलेसिया, अमेरिका, बहराइन, चीन, हङकङ, दक्षिण कोरिया, थाइल्यान्ड, बंगलादेश, क्यानडा र सिंगापुरमा कुराकानी गर्दा मिनेटको ६ रुपैयाँमात्र तिरे पुग्छ। युटिएलले अमेरिका, क्यानडा, चीन, सिङगापुर र हंगकङ कल गर्दा मिनेटको २ रुपैयाँ ५९ पैसामात्र लाग्ने स्किम ल्याएको छ। देशभित्र जुनसुकै स्थानमा कल गर्दा पनि युटिएलको फोनबाट १ रुपैयाँ ५० पैसामात्र लाग्छ। देशभित्रकै भन्दा युरोप, अमेरिकातर्फको टेलिफोन महसुल दर अझै सस्तो हुने प्रवृत्ति बढेको छ। साइबर क्याफेले अमेरिका कल गर्दा मिनेटको ५० पैसामात्र लिन थालेपछि त्यो बजारसमेत आफूले लिन अझै सस्तो बनाउने रणनीतिमा टेलिकम कम्पनी अघि बढेका छन्।

No comments:

Post a Comment