Wednesday, March 28, 2012

महँगो ‘इन्टरकनेक्सन’ले सिमकार्ड बिक्री बढ्यो

काठमाडौं, १५ चैत, सरस्वती ढकाल
एउटा कम्पनीको मोबाइलबाट अर्कोमा फोन गर्दा तिर्नुपर्ने अतिरिक्त शुल्कका कारण उपभोक्ताले धेरै कम्पनीको सिम प्रयोग गर्नुपर्ने बाध्यता छ । सामान्यतया दुईवटा मोबाइल कम्पनीका सिमकार्ड प्रयोग गर्ने क्रम बढेको छ । एउटा सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अर्काे कम्पनीको नेटवर्कमा कल गर्दा लाग्ने महसुल उही कम्पनीको नेटवर्कभन्दा धेरै भएपछि मोबाइल प्रयोगकर्ताले दुईवटा सिमकार्ड प्रयोग गर्न थालेका हुन् । भिन्न नेटवर्कमा कल गर्दा न्यूनतम प्रतिमिनेट ५० पैसा मोबाइलमा र १४ पैसा साधारण टेलिफोनमा सर्वसाधारणले करबाहेक धेरै महसुल तिर्नुपर्छ । भिन्न नेटवर्कमा कल गर्दा धेरै शुल्क लाग्ने भएपछि दुईवटा सिमकार्ड प्रयोग गर्न मिल्ने मोबाइलको माग बढेको छ । अधिकांश मोबाइल व्यापारी दुईवटा सिमकार्ड लाग्ने मोबाइलको बिक्री बढेको बताउँछन् । नेपाल टेलिकम, एनसेल, यूटीएल, स्मार्ट टेलिकम, एसटीएम टेलिकमले दूरसञ्चार सेवा दिएका छन् । सबै कम्पनीबाट भिन्न नेटवर्कमा कल गर्दा लाग्ने शुल्क फरक–फरक छ । नेपाल टेलिकमको नेवटर्कभित्रै कुरा गर्दा प्रतिमिनेट पोस्टपेडबाट पोस्टपेड १ रुपैयाँ र प्रिपेडमा १ रुपैयाँ ५० पैसा प्रतिमिनेटमा कुरा भए पनि एनसेलमा गर्दा सर्वसाधारणले २ रुपैयाँ १० पैसा तिर्नुपर्छ । टेलिकमले आफ्नो नेटवर्कभित्र कुरा सस्तो र स्पष्ट आवाज सुनिए पनि अन्य नेटवर्कमा भने केही समस्या भएको स्वीकारेको छ । एनसेलबाट एनसेलमै कल गर्दा १ रुपैयाँ ९९ पैसा प्रतिमिनेट महसुल भए पनि एनसेलबाट टेलिकमको जीएसएम नेटवर्कमा कल गर्दा २ रुपैयाँ ५३ पैसा लाग्छ । भिन्न सेवा प्रदायकको नेटवर्कमा कल गर्दा सर्वसाधारणले समान अवधि कुरा गर्दा धेरै पैसा तिर्नुपर्ने भएपछि सर्वसाधारणले दुईवटा सिमकार्ड प्रयोग गर्न थालेका हुन् । कम्पनीले आफ्नै नेटवर्कमा कुरा गर्दा स्पष्ट आवाज सुनिए पनि भिन्न अपरेटरमा फोन लाग्न समस्या हुने र लागे पनि आवाज प्रस्ट नसुनिने समस्या छ । एनसलेबाट साधारण टेलिफोन र सीडीएमए तथा यूटीएलमा गर्दा २ रुपैयाँ १३ पैसा प्रतिमिनेट तिर्नुपर्छ । टेलिफोनबाट टेलिफोन (टेलिकम) मा एक रुपैयाँ प्रतिमिनेट लाग्छ । टेलिकमबाट यूटीएलको पोस्टपेड तथा टेलिफोनमा कल गर्दा १ रुपैयाँ र प्रिपेडमा गर्दा १ रुपैयाँ ३० पैसा लाग्छ । नेपाल दूरसञ्चार प्राधिकरणले कुल जनसंख्याको ५८ प्रतिशतमा टेलिफोनको पहुँच पुगेको प्रतिवेदन सार्वजनिक छ । यो वास्तविकताभन्दा निकै कम भएको विज्ञहरू बताउँछन् ।

No comments:

Post a Comment