Thursday, March 15, 2012

साउनदेखि आईपी सीडीएमए वितरण हुने

काठमाडौं, २ चैत, सरस्वती ढकाल
नेपाल टेलिकमले साउनदेखि इन्टरनेट प्रोटोकल प्रविधिमा आधारित सीडीएमए मोबाइल वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७०÷७१ को अन्त्यसम्म २० लाख लाइन आईपी सीडीएमए वितरण गर्ने टेलिकमको तयारी छ । यो परियोजनाको लागत २ अर्ब ५० करोड रुपैयाँ हो । कम्पनीले आह्वान गरेको प्रतिस्पर्धात्मक विश्वव्यापी बोलपत्रबाट चीनको निजी स्वामित्वको हुवावई कम्पनी छनोट भएको हो । हाल उपकरण जडान कार्य भइरहेको छ । हुवावईले आगामी आर्थिक वर्षभित्र काम पूरा गर्ने गरी टेलिकमसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत दुईवटा आयोजना कार्यान्वयन गरिने भएका छन् । पहिलो परियोजनामा १० लाख लाइन क्षमताको आईपी सीडीएमए प्रविधिको मोबाइल पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रमा उपलब्ध हुने सम्झौता भएको छ । त्यसैगरीे दोस्रो परियोजनाअन्तर्गत १० लाख क्षमताकै आईपी सीडीएम प्रविधिको सेवा पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा विस्तार गरिने लक्ष्य कम्पनीको छ ।
टेलिकमले अब जडान गर्ने अधिकांश बीटीएस आईपी प्रविधिमा आधारित हुन्छ । कम्पनीले उच्च गतिको इन्टरनेट चल्ने सीडीएम मोबाइल सेटसमेत बजारमा ल्याउने तयारी गरेको छ । आईपी सीडीएमए हाल प्रयोगमा रहेका मोबाइल सेट चल्ने भए पनि उच्च गति क्षमताका लागि कम्पनीले तयारी गरेको छ । अत्याधुनिक वायरलेस प्रविधिको यो सेवा मुलुकका सहरी क्षेत्रलगायत ग्रामीण र नगरोन्मुख क्षेत्रमा वितरण गरिने कम्पनीले जनाएको छ ।
पहिलो आयोजनाअन्तर्गत सहरी क्षेत्रमा शतप्रतिशत तथा ग्रामीणका साथै नगरोन्मुख क्षेत्रमध्ये ६० प्रतिशत ईभीडीओ प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध हुनेछ । यसैगरी दोस्रो आयोजनाअन्तर्गत सहरी क्षेत्रमा शतप्रतिशत तथा ग्रामीण एवं नगरोन्मुख क्षेत्रको ५० प्रतिशत क्षेत्रमा ईभीडीओ प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा पनि उपलब्ध गराउने सम्झौता भएको छ ।  यसबाट मुलुकको ग्रामीण तथा नगरोन्मुख क्षेत्रमा ब्रोडब्यान्ड सेवाको विस्तारमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । दुईपक्षीय सम्झौताबमोजिम पहिलो आयोजनाअन्तर्गत विराटनगर र काठमाडौंमा गरी दुईवटा एक्सचेन्ज स्थापित गरिनेछ भने दोस्रो आयोजनाअन्तर्गत पोखरा र नेपालगन्जमा दुईवटा एक्सचेन्ज स्थापित हुने भएको छ । प्रत्येक आयोजनाअन्तर्गत स्थापित एक एक्सचेञ्जमा अवरोध आए पनि सोही आयोजनाअन्तर्गत स्थापित अर्को एक्सचेञ्ज पूर्ण क्षमतामा सञ्चालन भई सेवाको निरन्तरता र विश्वसनीयता कायम गर्ने व्यवस्था हुने भएको छ । पहिलो आयोजना सम्झौता भएको मितिबाट १८ महिनाभित्र र दोस्रो आयोजना दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य लिएको कम्पनीले जनाएको छ । यस आयोजनाको सर्वेक्षण, जडान, परीक्षण र सेवा सञ्चालनमा ल्याउने जिम्मेवारी हुवावई कम्पनीको छ । यो योजना पूरा हँुदा टेलिकमका २० लाख ग्राहक थपिनेछन् । हालसम्म ७४ लाख ग्राहक भएको टेलिकमले जनाएको छ ।

No comments:

Post a Comment