Friday, March 30, 2012

अझै बाँकी छ मोबाइलको बजार


काठमाडौँ- दूरसञ्चार प्राधिकरणले यही महिना सार्वजनिक गरेको प्रतिवेदनअनुसार मोबाइल फोनको घनत्व ५२ प्रतिशत पुगेको छ। यसको अर्थ १ सय जनामा ५२ वटा मोबाइल फोन सञ्चालनमा छ। ल्यान्डलाइन समेत लिने हो भने १ सयबराबर ५९ वटा टेलिफोन पुगिसकेको छयसका आधारमा अझै पनि ४८ प्रतिशत नेपालीको हातमा मोबाइल फोन छैन। यही तथ्यांक ४८ प्रतिशतलाई लक्ष्य गरी अहिले कम्पनीहरू प्रतिस्पर्धा गर्दैछन्। विकसित देशमा मान्छेभन्दा मोबाइल फोन बढी छन्। युरोपका अधिकांश देशमा १ सयबराबर कम्तिमा १ सय ५० मोबाइल फोन पुगेको छ। यही वर्ष भएको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६६ लाख पुगेको छ। सबैको हातमा मोबाइल पुग्न अझै १ करोड २७ लाखले सेवा पाउनुपर्छ। यसले गर्दा नेपालमा मोबाइल टलिफोनको बजार अझै पनि 'सेच्युरेसन' (परिपक्व) हुन बाँकी नै छ। ७० प्रतिशत टेलिघनत्व पुगेपछि बजार सेच्युरेसनमा जाने दूरसञ्चार क्षेत्रका विज्ञहरू बताउँछन्। अहिले जिएसएम र सिडिएमए गरी मोबइलका उपभोक्ता १ करोड ३८ लाख पुगेका छन्। नेपालमा मोबाइलको घनत्व दर ५२ प्रतिशत भए पनि सहरी क्षेत्र र सदरमुकाम नजिकका स्थानमा मात्र पहुँच पुगेको छ। सहरी क्षेत्रमा बस्ने अधिकांशसँग दुई-तीनवटासम्म मोबाइल फोन छन्। गाउँमा अझै पनि सेवा पुग्न सकेको छैन। ग्राम्रीण क्षेत्रका लागि भनेर दुईवटा सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिइसकेको छ। 
एसटिएम टेलिकम र स्मार्ट टेलिकम गाउँमै सेवा दिन स्थापना भएका कम्पनी हुन्। नेपाल स्याटेलाइट टेलिकम पनि सुरुमा ग्रामीण क्षेत्रमा सेवा सुरु गरेर विस्तारै सहरमा आउन स्थापना भएको कम्पनी हो। 'हामीलाई अहिले त्यत्ति सहज वातावरण छैन,' स्मार्ट टेलिकमका प्रमुख कार्यकारी अधिकृत सुवास वज्राचार्य भन्छन्। साँच्चै विकट गाउँमा लगानी गर्न नेपाल टेलिकम र एनसेलले सकिरहेका छैनन्। गाउँकै लागि भनेर लाइसेन्स दिए पनि फ्रिक्वेन्सी, अन्तरआबद्धतालगायत पूर्वाधारमा सरकार र प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह नगर्दा सेवा विस्तारमा अवरोध पुगेको छ। नेपाल टेलिकमले २०५६ सालमा मोबाइल टेलिफोन सुरु गरेको हो। तर, त्यतिखेर मोबाइल लिन ५१ हजार रुपैयाँ तिर्नुपर्थ्यो। मोबाइलको आक्रामक विस्तार भने २०६१ मा प्रिपेड सेवा सुरु भएपछि मात्र भएको हो। २०६२ असोजमा एनसेलले सेवा सुरु गरेपछि अझै मोबाइल सर्वसाधारणको पहुँचको साधन बन्यो। मोबाइल सेवा पुग्नु कुराकानी गर्ने साधन बढ्नुमात्र होइन। दुई वर्षअघि विश्व बैंकले गरेको अध्ययनअनुसार १ सयजनामा १० वटा मोबाइल बढ्दा त्यसले कूल राष्ट्रिय उत्पादनमा एक प्रतिशतले योगदान गर्छ। मोबाइलबाट विदेशमा पैसाको भुक्तानी गर्ने 'मोबाइल मनी' सेवा सुरु भएको छ। अफ्रिकी देशमा यो निकै लोकप्रिय भएको छ। भारतमा पनि यो सेवा सुरु भइसकेको छ। नेपालमा भने केही बैंकले यो सेवा सुरु गरेका छन्। तर, त्यसका लागि बैंकिङ च्यानल अनिवार्य प्रयोग गर्नुपर्छ। 
मोबाइल सेवा विस्तारसँगै त्यसले राजस्व, रोजगारी, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत पूर्वाधारमा समेत सहयोग पुग्ने गरेको छ। अहिले प्रतिमहिना डेढ लाख मोबाइल फोन देशमा भित्रिरहेको छ। त्यसले सिधैं राजस्वमा योगदान गरिरहेको छ भने हरेक सिमकार्ड जारी भएअनुसार अप्रत्यक्ष रूपबाट पनि थपिन्छ। सेवा प्रदायकमध्ये सबैले 'लेबल प्लेइङ फिल्ड' (समान व्यवहार) पाउने र विश्वमा मोबाइलमा भित्रिएका नयाँ प्रविधिलाई सेवा प्रदायकले सञ्चालन गर्ने हो भने मोबाइल सेटको बजार वर्षेनि २० लाखका दरले बढ्दै जाने अनुमान व्यवसायीहरूको छ।

No comments:

Post a Comment