Saturday, March 31, 2012

सिडिएमए र ल्याण्डलाइनको कमाई घट्यो

काठमाडौं, चैत १९ (नागरिक) - सिडिएमए मोबाइलमा उपभोक्तालाई आकर्षित गर्ने नयाँ सेवा थप्न नसकेपछि नेपाल टेलिकमले यसबाट गर्ने कमाई घटेको छ। अघिल्लो वर्षको भन्दा नेपाल टेलिकमको आम्दानी एक अर्ब ३५ करोड रुपैयाँले बढेपनि सिडिएमएको आय २५ करोड रुपैयाँले घटेको छ। आर्थिक वर्ष २०६६/६७ मा सिडिएमएबाट २ अर्ब ६८ करोड रुपैयाँ कमाएको टेलिकमले २०६७/६८ मा २ अर्ब ४३ करोडमात्र आम्दानी गरेको थियो। 'पहिले गाउँमा निकै माग भएको सिडिएमए प्रति अहिले चासो घट्दै गएको छ,' टेलिकम वायरलेस सेवा निर्देशनालय प्रमुख अनुपरञ्जन भट्टराईले भने। समय अनुसार सिडिएमएमा आधुनिक सुविधाहरु थप नहुनु र अन्य सेवा प्रदायकहरुले गाउँमा समेत मोबाइल सुरु गरेपछि सिडिएम प्रति उपभोक्ताको चासो घटेको हो। ल्याण्डलाइनको आम्दानी पनि ठूलो मात्रामा घटेको छ। ल्याण्डलाइनको आम्दानी ५ अर्ब ११ करोडबाट घटेर ४ अर्ब ८७ करोडमा झरेको छ। टेलिकमले ल्याण्डलाइनका ग्राहक बढाउन यसमा नयाँ सेवा थप्न सकेकोे छैन। एक वर्षमा ल्याण्डलाइनका ग्राहक २० हजार थपिएपनि आम्दानी भने घटेको छ। 'ल्याण्डलाइनको चार्म बढाउनेगरि कुनै योजना सुरु गर्न टेलिकमले सकेको छैन, भएका सबै योजनाहरु अख्तियार, संसदीय समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयले रोकेपछि आम्दानी समेत घटेको हो,' टेलिकमका अर्का एक अधिकारीले भने। टेलिकमले ल्याण्डलाइन फोनबाट टेलिभिजन हेर्न मिल्ने र अहिले एडिएसएलभन्दा उच्च गतिमा इन्टरनेट चलाउन सकिने एनजिएन प्रविधि ल्याउने तयारी गरेकोमा अनियमितताको शंकामा अख्तियारले रोक लगाएको थियो। टेलिकमसँग ल्याण्डलाइन, जिएसएम मोबाइल र सिडिएमए मोबाइल गरि तीन प्रकारको टेलिफोन सेवामात्र छ। ल्याण्डलाइनमा एडिएसएल इन्टरनेट दिएपनि त्यो सबैको लागि आवश्यक नपर्ने भएकोले गाउँघरमा त्यति माग छैन। 

दुई प्रकारका टेलिफोनको आम्दानी घटेपनि जिएसएम मोबाइलको आम्दानी झण्डै ३१ करोडले बढेको छ। टेलिकम स्रोतका अनुसार सिडिएमए अन्तरगत डब्लुएलएल फोनका ग्राहक ह्वात्तै घटेका छन्। २०६७ असारमा एकलाख ७४ हजार डब्लुएलएलका ग्राहक रहेकामा २०६८ असारमा एकलाख ५७ हजारमात्र छन्। डब्लुएलएल भनेको घरमा राख्ने फिक्स सेट भएको सिडिएमए सेवा हो। सिडिएमए मोबाइलका ग्राहक एक वर्षमा एकलाख ५ हजार थपिएका थिए। जवकी टेलिकमका मात्र जिएसएमका ग्राहक एक वर्षमा ११ लाख ६१ हजार थपिएका छन्। 'जिएसएम मोबाइलमा जसरी राम्रा, आकर्षक स्मार्टफोनहरु उपलव्ध छन्, सिडिएएममा त्यो सुविधा ज्यादै कम छ,' वायरलेस निर्देशनालय प्रमुख भट्टराई भन्छन्। अहिलेको युवा पुस्तामा स्मार्टफोन बोक्ने र त्यसमा नेटसर्फ गर्ने चासोले गर्दा सिडिएम प्रति चासो कम छ। त्यसैले गर्दा टेलिकमको आम्दानी हुने प्रमुख स्रोत सिडिएमए प्रति युवापुस्ताको मोहभंग भएको अनुभव उनको छ। टेलिकमले गत आवमा २६ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष २५ अर्ब ५ करोडमात्र थियो। ल्याण्डलाइन र सिडिएमको आम्दानी घटेको र जिएसएमबाट थोरैमात्र बढेपछि अन्तर्राष्ट्रिय आगमन कल भने एकअर्ब ५४ करोड रुपैयाँले थपिएको छ। अन्तर्राष्ट्रिय आगमन कलबाट टेलिकमले गत वर्ष ५ अर्ब ८० करोड रुपैयाँ कमाएको थियो

No comments:

Post a Comment