Saturday, March 3, 2012

१५ अर्ब लगानीमा १ करोड मोबाइल थप्ने तयारी

सरस्वती ढकाल, काठमाडौं, १८ फागुन
नेपाल टेलिकमले तीन वर्षभित्र १ करोड लाइन मोबाइल फोन वितरण गर्ने भएको छ । यो महत्वाकांक्षी योजना चालू आर्थिक वर्षमा सुरु गर्ने लक्ष्यअनुसार चाँडै दुई चिनियाँ कम्पनीसँग सम्झौता गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ । यो परियोजनामा टेलिकमको झन्डै १५ अर्ब रुपैयाँ लगानी हुनेछ ।कम्पनीले सम्झौता भएको ६ महिनापछि यो परियोजनाअन्तर्गतका थप मोबाइल वितरण सुरु गर्ने तयारी गरेको छ । टेलिकमका अनुसार नीति, कार्यान्वयन, परीक्षण, अनुगमनदेखि परियोजना समाप्त हुँदासम्म विभिन्न सात चरणमा काम पूरा गर्ने लक्ष्य छ । टेलिकमको यो परियोजना पूरा भए शतप्रतिशत ग्राहकले इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । हालको जीपीआरएसभन्दा छुट्टै प्याकेज ल्याई इन्टरनेटमा सर्वसाधारणको पहुँच बढाउने योजना कम्पनीको छ । हाल झन्डै ८० प्रतिशतले कुराकानी (भ्वाइस)का लागि मात्रै मोबाइल प्रयोग गर्दै आएका छन् भने २० प्रतिशतले भ्वाइस र डाटा सेवा दुवै लिन्छन् । चीनको सरकारी स्वामित्वको जेडटीई कर्पाेरेसन र निजी स्वामित्वको हुवावई टेक्लोलोजी लिमिटेडले १ करोड मोबाइल थप गर्ने पूर्वाधार तयारीको ठेक्का पाएका छन् । टेलिकमले गरेको विश्वव्यापी टेन्डरमा आवेदन दिएका तीन कम्पनीमध्ये चीनका हुवावई र जेडटीईले कम दर प्रस्ताव गरेका थिए । आवेदन दिनेमा स्विडेनको इरिक्सन पनि थियो ।
टेलिकमले काठमाडौं उपत्यका र पश्चिमाञ्चललाई एउटा र त्यसबाहेकका अन्य क्षेत्रलाई अर्काे समूहमा वर्गीकरण गरी टेन्डर आह्वान गरेको थियो । टेलिकम स्रोतका अनुसार दुई कम्पनीमध्ये कसलाई कुन समूह दिने निर्णय भइसकेको छ्रैन । समूह ‘ए’ अन्तर्गत राजधानी र पश्चिमाञ्चलबाहेकका क्षेत्रमा थ्रीजी र २.७५ जी मोबाइल विस्तार गरिनेछ । यसमा अधिकांश २.७५ जी हुनेछ । कम्पनीले यो परियोजनामा ल्याउन लागेको २.७५ जी मोबाइलमा भ्वाइस र उच्च गतिको इन्टरनेटलगायत मोबाइलका अन्य ‘फिचर’ चलाउन सकिनेछ । हालको टुजीभन्दा यो धेरै आधुनिक र क्षमतायुक्त भएको टेलिकमका उच्च अधिकारीहरू बताउँछन् । २.७५ जी मोबाइलमा हालकै टुजी मोबाइल सेट प्रयोग गर्न सकिन्छ । “थ्रीजीमा रुपान्तरित हुन नसक्ने तर थ्रीजीको ‘फ्लेवर’ चाहनेका लागि २.७५ जी उपयुक्त हुन्छ,” टेलिकमका उच्च अधिकारी भने, “सबै थ्रीजी नै ल्याउने हो भने हालको ४० लाखभन्दा धेरैको सेट परिवर्तन गराउनुपर्छ, यो सम्भव छैन ।”
समूह ‘बी’ अन्तर्गत काठमाडौं उपत्यका र पश्चिमाञ्चलमा समेत २.७५ जी मोबाइल वितरणमा जोड दिने लक्ष्य छ । १÷२ प्रतिशतको हाराहारीमा मात्र पछिल्लो प्रविधि फोरजी पनि विस्तार हुनेछ । फोरजी प्रयोगकर्ता धेरै नहुने भएकाले कम्पनीले टुजीलाई नै प्राथमिकतामा राखेको हो ।
ग्राहकको मागलाई महत्व दिई नयाँ योजना ल्याउन लागिएको टेलिकमले जनाएको छ । “माग बढ्दै गएपछि थ्रीजीमा अपग्रेड गर्नेतर्फ ध्यान दिनैपर्छ, अहिलेको मागमा टुजीकै बहुमत छ,” ती अधिकारीले भने । उनका अनुसार टुजीलाई पुरानो प्रविधि भन्न मिल्दैन । यो परियोजनामा हालको टुजी मोबाइलभन्दा गुणस्तरीय सेवाका तथा साथै उच्च गतिको इन्टरनेट चलाउन सकिनेछ ।
जेडटीईले टेलिकमको १० लाख सीडीएमए, हाल राजधानीमा वितरण भइरहेको ३५ लाख जीएसएम लाइन, एडीएसएललगायतका परियोजनाको ठेक्का यसअघि नै पाइसकेको छ । त्यसैगरी २० लाख आईपी सीडीएमए, फिक्स्ड लाइनमा समेत हुवावईले काम गर्दैछ । २० लाख आईपी सीडीएमए यतिबेला उपकरण जडानको प्रक्रियामा छ ।
टेलिकमले अहिलेको प्रणालीलाई विस्थापन गर्दै नयाँ पूर्वाधार विस्तार र ग्राहक बढाउने योजना बनाएको छ । यो परियोजनामा २ हजारभन्दा धेरै बीटीएस टावर थपिनेछन् । हालसम्म टेलिकमका करिब १ हजार ८ सय बीटीएस टावर छन् । टेलिकमको पछिल्लो अध्यावधिक तथ्यांकअनुसार उसका ग्राहक ७५ लाखको हाराहारीमा छन् ।
टेलिकम देशकै ठूलो दूरसञ्चार सेवाप्रदायक हो । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत यो कम्पनी सरकारलाई राजस्व तिर्नेमा पनि अगाडि छ ।

No comments:

Post a Comment