Friday, March 30, 2012

मोबाइल किन्दा के हेर्ने ?


नागरिक, मोबाइल किन्नु सामान्यदेखि लिएर मध्यम वर्गीय परिवारका लागि योजनै बनाउनुपर्ने विषय हो। उच्चवर्गका लागि दसौं हजार रुपैयाँ मूल्य पर्ने मोबाइल सेट सामान्य भए पनि मध्यम र निम्न वर्गकाले सामान्य सेट किन्दा पनि आफ्नो खल्तीलाई निकै ध्यान दिनुपर्छ। गार्टनर नामक सूचना प्रविधिको अनुसन्धानकर्ता संस्थाले गरेको अध्ययनले युरोपिएन र अमेरिकनले वर्षमा औसत दुईवटा मोबाइल सेट फेर्छन्। नेपालमा एकपटक किनेको सेट सालाखाला तीन वर्षसम्म चल्ने व्यवसायीको अनुमान छ। सेट आफैंमा महँगो र पटकपटक किन्ने साधन अझै पनि नेपालमा भइसकेको छैन। त्यसो हुँदा मोबाइल किन्दा धेरैकुरा ख्याल गर्नुपर्छ। एकपटक किनिसकेपछि चित्त बुझेन भने नेपालमा फिर्ता गर्ने चलन नभएकाले निकै विश्लेषण गरेर आफ्नो आर्थिक क्षमता, चाहिएको सुविधा, त्यसको सञ्चालन विधि सबै बुझेर मात्र किन्दा धोका पाइँदैन।

स्टाइल
मोबाइल फोन किन्दा कुन स्टाइलको आफूलाई मन पर्छ त्यो निधो गर्नुपर्छ। फ्िलपफोन, क्यान्डिबार अहिले सबैभन्दा चलेका मोडल हुन्। केही वर्षअघिसम्म स्लाइडर सेट निकै चल्तीमा थियो। अहिले यसको बजार घटेको छ। स्विभिल फोन पनि केही वर्ष अघिसम्म चलेको डिजाइनमा पर्थ्यो। अहिले बजारमा यसको उपस्थिति निकै कम छ। 
सर्ट, पाइन्ट, ज्याकेटको खल्तीमा राख्न फ्िलपफोन सबैभन्दा उपयुक्त हो। स्त्रि्कन र नम्बरप्याड नथिचिने भएकाले यो सेट खल्तीमा राख्न उपयुक्त सेट हो। 
नेपाली बजारमा क्यान्डिबार फोन सबैभन्दा चलेको मोडलमा पर्छ। चलाउन सजिलो र कतैबाट झरे पनि हम्मेसी नबिग्रने भएकाले यो लोकप्रिय भएको हो। 
एलजी र सामसुङले आफ्ना केही मोडललाई ...स्लाइडर' मा ल्याएका छन्। कम्प्युटरको जस्तै क्वेर्टी किप्याड भएकाले यसमा टाइप गर्दा निकै सजिलो महसुस गर्नेहरु धेरै छन्। मोबाइल किन्दा यी मोडलमध्ये आफूलाई कुन ठिक लाग्छ त्यसको निर्णय गर्न सक्नुपर्छ।

सुविधा
मोबाइल किन्दा मूल्यमा प्रभाव पार्ने आधार त्यसमा रहेका सुविधा हुन्। मोबाइलमा रहेका विभिन्न एप्लिकेसनले मूल्य सस्तो र महँगो पार्छ। मोबाइल किन्दा आफूलाई के चाहिएको हो त्योभन्दा बढी सुविधा भएको किन्नु बालुवामा पानी हाल्नु सरह हो। 
मोबाइलका व्यापारीले ग्राहकलाई जहिले पनि महँगो सेट किन्न मानसिक दबाब दिइरहेका हुन्छन्। तर आफूलाई जे चाहिएको हो त्योमात्र किन्ने हो भने अनावश्यक लगानीबाट जोगिन सकिन्छ। 
इमेल चलाउन, विभिन्न इन्टरनेटका साइटहरु हेर्ने हो भने स्मार्टफोन उपयुक्त हुन सक्छ। इमेल, इन्टरनेट प्रयोग नगर्नेहरुले स्मार्टफोनमा लगानी गर्नु पैसा खेर फाल्नु हो। गीत सुन्न, भिडियो क्लिप्सहरु हेर्ने, सामान्य तस्बिरहरुमात्र खिच्न ४/५ हजार रुपैयाँमा पाइने मध्यमस्तरका सेट पर्याप्त हुन्छ।

विशेषता
मोबाइल किन्दा विचार गर्नुपर्ने अर्को पक्ष भनेको त्यसमा रहेको वारेन्टी, ग्यारेन्टी, ब्याट्रीको आयु हो। प्रयोगकर्ताको पेसा, देशको अवस्थाका आधारमा पनि कस्तो सेट किन्ने भन्ने निर्धारण गर्छ। जस्तो कि हाम्रोजस्तो लोडसेडिङ धेरै हुने देशको लागि लामो समयसम्म टिक्ने ब्याट्री, धुलो र पानी पसिहाल्यो भने पनि नबिग्रने सेट उपयुक्त हुन्छ। 
धेरैको योजना हुन्छ विदेश जाँदा चिनोको रुपमा मोबाइल किन्ने। विदेशमा किन्दा नेपालमा भन्दा सस्तो त पाउन सकिएला। तर ख्याल गर्नुपर्ने विषय के हो भने हाम्रो देशको मोबाइल नेटवर्क र फ्रिक्वेन्सी ब्यान्डसँग मिल्छ कि मिल्दैन? युरोप र अमेरिकामा प्रयोग भएको फ्रिक्वेन्सी ब्यान्ड र हाम्रो ब्यान्ड फरक छ। त्यसो हुँदा यहाँ ल्याएपछि मोबाइल सेटले काम नगरेर फिर्ता गर्नुपर्ने अवस्था आउने छ। 
विदेशमा किन्ने हो भने जिएसएम ९०० र १८००, थि्रजी फ्रिक्वेन्सी व्याण्डा चल्ने सेटमात्र किन्नुपर्छ। 
नेपालमा आधिकारिक रुपमा मोबाइल सेट बिक्री गरिरहेका कम्पनीहरुले सेटलाई यहाँ बिक्री सुरु गर्नु अघिनै एकदेखि दुई महिना लगाएर परीक्षण गर्छन्। सामसुङले उत्पादन गर्ने सबै प्रकारमा मोबाइल सेटलाई नेपालमा बिक्रीमा पठाउनु अघि देशका विभिन्न स्थानमा पुगेर परीक्षण गरिसकेपछि उपयुक्त देखियो भनेमात्र ल्याउँछ।
मोबाइल किन्दा ब्याट्रीको आयुमा धेरै ख्याल गर्नुपर्छ। लामो समयसम्म टिक्ने ब्याट्री किन्दा धोका पाइँदैन। भारतीय मोबाइलको बिक्री बढ्नुमा लामो समयसम्म टिकाउ ब्याट्री प्रमुख कारण हो। कुराकानी गर्दा सात दिनसम्म टिक्ने ब्याट्री भएका सेट भारतीय कम्पनीहरुले उत्पादन गरिरहेका छन्।

प्रयोजन
मोबाइल कुराकानी गर्ने साधनमात्र रहेन। यसबाट इन्टरनेट चलाउनदेखि लिएर वाइफाईको हटस्पटसमेत चलाउन सकिन्छ। भिडियो कुराकानीदेखि मोबाइलमै टेलिभिजन हेर्न सकिन्छ। 
मोबाइल किन्दा यीमध्ये आफ्नो आवश्यकता के हुन् विश्लेषण गरेरमात्र मूल्य तिर्नु उपयुक्त हुन्छ। त्यसबाट गरेको लगानीबाट उचित फाइदा उठाउन सकिन्छ। 
इन्टरनेट चलाउने हो भने सिडिएमएको इभिडियो, थि्रजी सबैभन्दा उपयुक्त हो। गाउँमा चलाउने हो भने सिडिएमए फोन ठिक हुन्छ। राजधानी र पोखरामा चलाउने हो भने थि्रजी उपयुक्त हो। थि्रजीबाट मोबाइलमा इन्टरनेट सर्फिङसमेत सबैभन्दा स्पिडमा हुने भएकाले आइफोन, आइप्याड, सामसुङ ग्यालेक्सीका लागि निकै राम्रो हुन्छ। 
मोबाइलको प्रयोग गर्न उचित रुपमा गर्ने हो भने त्यसले मानिसको जीवनलाई सहज बनाउँछ। त्यसो हुँदा आफूलाई आवश्यक पर्ने फिचर्स र तिर्न सक्ने मूल्यलाई हेरेर मात्र मोबाइल सेट किन्नु उचित हुनेछ।

No comments:

Post a Comment