Tuesday, March 13, 2012

टेलिफोन कम्पनी : बजार बढाउन साझेदार खोजी

रामचन्द्र भट्ट, नागरिक काठमाडौं, चैत १- मुलुकको संचार क्षेत्रमा राम्रो बजारको सम्भावना देखिएपछि टेलिफोन कम्पनीहरुले लगानी बढाउन साझेदार खोज्न थालेका छन्। सरकारले नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउन खोजे लगत्तै अरु साना टेलिफोन कम्पनीहरुले पनि साझेदार भित्र्याउने तयारी गरेका हुन्। टेलिकमसँग प्रतिस्पर्धा नगरे बजारको ठूलो हिस्सा गुम्ने डरले नेपाल स्याटेलाइट, एसटिएम र स्मार्ट टेलिकमले स्वदेशी-विदेशी लगानी (साझेदार) ल्याउन खोजेका हुन्।'पुँजी र अन्तर्राष्ट्रिय अनुभव भएका साझेदार कम्पनी नभई नेपाली लगानीले मात्र अघि बढ्ने अवस्था छैन,' नेपाल स्याटेलाइटका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले भने। नेपाल टेलिकमबाहेक अन्य सबैमा विदेशी कम्पनीको लगानी छ। टेलिकममा साझेदार ल्याउने घोषणा गत महिना प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए। यसलगत्तै साना कम्पनीले बजारमा टिक्न स्वदेशी र विदेशीसँग प्रस्ताव अघि बढाउन थालेका हुन्।
सञ्चार मन्त्रालयले टेलिफोन कम्पनीलाई एकीकृत लाइसेन्स दिएर सबै प्रकारका सेवा चलाउन दिने भनेपछि विदेशी लगानीकर्ताहरुले अहिले चासो दिएका छन्। सरकारको एकीकृत लाइसेन्स नीतिअन्तर्गत ३७ करोड लाइसेन्स शुल्क तिरे पछि ल्याण्डलाइन, मोबाइललगायत सबै सेवा चलाउन पाइन्छ। टेलिफोन कम्पनीहरुलाई अहिले बजारको अभाव छैन। नेपाल स्याटेलाइटले पुँजी र अनुभव भएको अन्तर्राष्ट्रिय साझेदार ल्याउने प्रक्रिया सुरु गरिसकेको छ। यसमा युरोपका बिभिन्न कम्पनीले लगानी गर्न चासो दिएको एक वर्ष देखि चर्चा छ। यो कम्पनीसँग जिएसएम मोबाइल लाइसेन्स नभएका कारण मात्र उनीहरु लगानी गर्न हिचकिचाएका थिए। व्यवसायीहरुका अनुसार अब एकीकृत लाइसेन्समा भएको प्रावधानले उनीहरु लगानीमा आकर्षित भएका छन्। अर्कोतिर देशकै सबैभन्दा पुरानो ग्रामीण दूरसञ्चार कम्पनी एसटिएम टेलिकममा पनि लगानी गर्न स्वदेशी र विदेशीहरुले चासो देखाएका छन्। अहिले यो कम्पनीसँग जिएसएम मोबाइल विस्तारका लागि चाहिने न्यूनतम फ्रिक्वेन्सी मात्र छ, थप फ्रिक्वेन्सी पाउने वित्तिकै लगानीकर्ता आउने निश्चित भएको कम्पनीका एक अधिकारीले बताए। ग्रामीण क्षेत्रमा भिस्याट प्रविधिबाट टेलिफोन सेवा सुरु गरेको एसटिएम टेलिकमले साना एक्सचेन्ज राखेर टेलिफोन सञ्चालन गरिरहेको छ। यो कम्पनीले जिएसएम मोबाइल चलाउन प्रारम्भिक रुपमा २.४ मेगाहर्ज फ्रिक्वेन्सी पाइसकेको छ। ६ मेगाहर्ज फ्रिक्वेन्सी पाए मोबाइल चलाउन सुरु गर्ने गरि एसटिएमले हुवावे, इरिक्सनसँग छलफल गरेको छ।  एसटिएम स्रोतका अनुसार ठूलो पूँजी भिœयाउन साझेदार ल्याउने तयारी भइरहेको छ। नेपालमा अहिलेसम्म टेलिफोन कम्पनीमा स्वदेशकै व्यबसायीक घरानाको लगानी छैन। दूरसञ्चार सेवा प्रति सर्वसाधारणको चासो बढेपछि यस्ता घरानाले लगानी गर्न चासो दिइरहेका छन्। स्रोतका अनुसार केही कम्पनीमा साझेदारी गर्न चौधरी ग्रुप, खेतान समूहजस्ता व्यवसायिक घरानाले चासो देखाएका थिए। सरकारले नयाँ लाइसेन्स नखोले पछि पुरानै कम्पनीहरुमा साझेेदार वा पुरै स्वामित्व लिएर चलाउने तिर समेत कुराकानी अगाडि बढेको स्रोतले बतायो। एसटिएम टेलिकममा अमेरिकी, स्मार्टमा सिंगापुर र नेपाल स्याटेलाइटमा बहुमत नेपालीको सेयर छ। दूरसञ्चार कम्पनीका लागि अर्बौ रुपैयाँ लगानी गर्नुपर्छ। अहिलेका कम्पनीहरुले आक्रामक रुपमा सेवा विस्तार गर्न स्वदेशी पुँजी जुटाउन नसकेपछि ठूला विदेशी दूरसञ्चार कम्पनीसँग साझेदारी गर्न प्रस्ताव गरेका छन्। 'अहिलेसम्म हामीले दुईअर्ब रुपैयाँ लगानी गरिसक्यौं, ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न अन्तर्राष्ट्रिय कम्पनी ल्याउनुपर्ने भएको छ,' स्मार्टका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्यले भने 'यसबारेमा पहल सुरु भएको छ।'
मुलुकका २५ जिल्लामा टेलिफोन पुर्‍याउन स्मार्टले दुई अर्ब रुपैयाँ लगानी गरिसकेको छ। स्रोतका अनुसार ७५ वटै जिल्लामा मोबाइल टेलिफोन पुर्‍याउन कम्तिमा १० करोड डलर लगानी गर्नुपर्छ। यति रकम स्वदेशी लगानीकर्ताबाट मात्र जुट्न सक्ने अवस्था छैन।  सरकारको ९२ प्रतिशत सेयर भएको टेलिकमको मोबाइल र ल्याण्डलाइन ७५ जिल्लामा पुगिसकेको छ। तत्कालिन स्पाइस नेपालको ८० प्रतिशत सेयर युरोपको टेलिया सोनेराले किनेपछि एनसेल आक्रामक बजार विस्तारमा छ। टेलिकम जस्तो पूँजी र देशभरि नेटवर्क भएको कम्पनीलाई समेत गुणस्तर कायम गर्दै नयाँ सेवा ल्याउन रणनीतिक साझेदार आवश्यक छ। अहिले मोबाइलमा दोस्रो पुस्ता (टुजी) मा मात्र प्रतिस्पर्धा छ। टेलिकम र एनसेल दुबैले थि्रजी सेवा सुरु गरे पनि प्रतिस्पर्धा छैन। नयाँ कम्पनीहरुले विदेशी पूँजी र प्रविधि ल्याएर टेलिकम र एनसेलसँग आक्रामक प्रतिस्पर्धा गर्नु पर्ने अन्यथा बजार हिस्सा गुमाउनु पर्ने अवस्था छ। 'टेलिकम र एनसेललाई जत्तिकै व्यबहार गरे हामी पनि प्रतिस्पर्धामा जान तयार छौं,' स्मार्टका बज्राचार्यले भने। यो कम्पनीमा सिंगापुरको लालसाहु कम्पनीको लगानी छ। उनले थप फ्रिक्वेन्सी पाए विदेशी कम्पनीहरु जति पनि लगानी गर्न तयार रहेको बताए। विदेशी लगानीकर्ता आउने लगभग निश्चित भइसकेको नेपाल स्याटेलाइटले यो वर्ष सुदूरपश्चिममाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा मोबाइल विस्तार गर्ने योजना बनाएको छ। मध्यपश्चिममा मात्र सेवा रहेको यो कम्पनीका उपभोक्ता झण्डै डेढलाख छन्।

No comments:

Post a Comment