Wednesday, September 7, 2011

टेलिकमका अधिकांश सेवामा छुट दिने तयारी

एसएमएसमा ५० प्रतिशत छुट, आधारभूत टेलिफोनबाट अर्काे अञ्चलमा गर्दा १ रुपैयाँमात्र लाग्ने, सीडीएमए स्काई फोनमा ६ सयमा ५ सय रुपैयाँको टकटाइम

काठमाडौं, २० भदौ
नेपाल टेलिकमले सर्वसाधारणलाई राहत दिनुपर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनअनुसार आफ्ना अधिकांश सेवामा छुट दिने भएको छ । प्रधानमन्त्रीले सबै मन्त्रालयसँग राहत प्याकेजको कार्ययोजना माग गरेपछि सूचना तथा सञ्चार मन्त्रालयमातहत रहेको टेलिकमले पनि आफ्ना अधिकांश सेवामा छुट दिने भएको हो । कम्पनीले साधारण टेलिफोन (पीएसटीएन), ग्लोबल सिस्टम मोबाइल (जीएसएम) कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) मोबाइल, जनरल पकेट रेडियो सर्भिस (जीपीआरएस), इभोलुसन डाटा अप्टिमाई (इभीडीओ) लगायत सेवामा राहत उपलब्ध गराउन लागेको छ । सीडीएमए स्काई फोन सेवाको हालको ग्राहक शुल्क १ हजार १ सय ३५ रुपैयाँलाई घटाएर ६ सय रुपैयाँ कायम गरिएको छ । यसमा ५ सय रुपैयाँ बराबरको टकटाइम उपलब्ध गराउने जनाइएको छ ।
आधारभूत टेलिफोनबाट अन्तरदेशीय कलमा कम्पनीको जीएसएम र सीडीएमएमा कल गर्दा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले हालसम्म प्रतिमिनेट २ रुपैयाँ (करबाहेक) लाग्दै आएकोमा राहतस्वरूप ५० प्रतिशत छुट दिने भएको हो । कम्पनीको आधारभूत टेलिफोनबाट अर्काे अञ्चलमा रहेको कम्पनीकै आधारभूत, सीडीएमए तथा भी–स्याट सेवामा कल गर्दा हालसम्म लाग्दै आएको २ रुपैयाँ प्रतिमिनेटलाई घटाएर १ रुपैयाँ ५० पैसा कायम गरेको छ । कम्पनीले यो व्यवस्था व्यावसायिक प्रवद्र्धनका लागि तीन महिना लागू हुनेगरी मन्त्रालयमा पठाएको छ ।

टेलिकमले जीपीआरएस, थ्रिजी डाटा सेवाको महसुल सय किलोबाइटको १० पैसामात्र लाग्ने जनाएको छ । हालसम्म प्रति सय किलोबाइट्स १५ पैसा लाग्छ । कम्पनीले नजिकिँदै गरेको दसैं, तिहार एवं छठ पर्वको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवामा ५० प्रतिशत छुट दिएको छ । हाल प्रतिएसएमएस १ रुपैयाँ (करबाहेक) लाग्दै आए पनि चाडपर्व छुटस्वरूप ५० पैसामात्र लाग्ने भएको छ । यो सुविधा आगामी असोज ११ गतेदेखि कात्तिक ९ गतेसम्म लागू हुनेछ ।
कम्पनीले जीएसएम १ सय तथा २ सयको रिचार्ज कार्डमा ५ प्रतिशत टक बोनस उपलब्ध गराउनेछ । त्यसैगरी, सीडीएमए सेवाको २ सय रुपैयाँको रिचार्जमा पनि ५ प्रतिशत टक बोनस दिने व्यवस्था गरेको छ । कम्पनीले आधारभूत सेवातर्फ २०६७ असार मसान्तसम्मको बक्यौता महसुल २०६८ मंसिरसम्म चुक्ता गरे  जरिवाना मिनाहा गर्ने व्यवस्था गरेको छ ।
कम्पनीले पछिल्लो समय सञ्चालनमा ल्याएको सेसन इनिसियसन प्रोटोकल (सिप) फोनको ग्राहक कार्डमा २० प्रतिशत छुट दिने भएको छ । कार्डको मूल्य ५ सय रुपैयाँ छ । यो व्यवस्था असोज १५ देखि एक महिनासम्म ग्राहकले ३ सय रुपैयाँमा सिप फोन कार्ड पाउनेछन् । मन्त्रालयले टेलिकमलगायत अन्य मातहतका कार्यालयबाट दिन सक्ने राहत प्याकेज बनाई प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ ।

3 comments:

  1. internet ma pani vari chut huna paryo ra speed badau nu paryo

    ReplyDelete
  2. ADSL ma pani chaiyo..

    ReplyDelete
  3. ADSL ko kunai sunwai bhayena....

    ReplyDelete