Saturday, September 24, 2011

पश्चिमाञ्चलमा टेलिकमका १४ लाख ४० हजार ग्राहक


अघिल्लो आवमा भन्दा २७ प्रतिशत बढी
भैरहवा, ५ असोजमनोरञ्जन शर्मा
पश्चिमाञ्चल विकास क्षेत्रमा नेपाल टेलिकमको ग्राहकको संख्या १४ लाख ४० हजार पुगेको छ । पश्चिमाञ्चलका १६ जिल्लामा सञ्चालित टेलिकमका आधारभूत टेलिफोन सेवा, जीएसएम÷सीडीएमए मोबाइल र इन्टरनेटलगायतका गरी ग्राहक संख्या यति पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा २०६७/६८ मा झन्डै २७ प्रतिशतले ग्राहक बढेको टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाले जनाएको छ । कार्यालयका निमित्त निर्देशक सानुमान महर्जनका अनुसार पश्चिमाञ्चलमा टेलिकमका सबैभन्दा बढी ११ लाख ८८ हजार ३५ जना प्रिपेड मोबाइलका उपभोगकर्ता छन् । आधारभूत टेलिफोन सेवा (पीएसटीएन) का ९६ हजार ४ सय ६४, प्रिपेड स्काईतर्फ १ लाख ५८ हजार ९ सय ७१, प्रिपिपेड सीडीएमएका ३१ हजार ३ सय ९१, पोस्टपेड सीडीएमएका ४ हजार ७८ र पोस्टपेड सीडीएमए मोबाइलका ४ हजार १ सय १२ ग्राहक छन् ।
“अघिल्लो आवको तुलनामा गत आवमा प्रिपेड मोबाइलका ग्राहक अत्यधिक बढेका छन्,” निमित्त निर्देशक महर्जनले भने, “यो अवधिमा प्रिपेडका २ लाख ५३ हजार ८ सय तथा पोस्टपेडतर्फ ६ हजार ६४ ग्राहक थपिएका छन् ।”
लुम्बिनी अञ्चलमा सबैभन्दा बढी ४ लाख ९५ हजार ४ सय ७८ प्रिपेडका ग्राहक छन् भने त्यसपछि गण्डकीमा ४ लाख ७८ हजार १ सय १० प्रिपेड मोबाइल प्रयोगकर्ता छन् । कार्यालयको तथ्यांकअनुसार लुम्बिनीमै टेलिकमका सबै खाले सेवा उपभोग गर्ने ग्राहक छन् । यसैगरी, असार मसान्तसम्म थ्रीजी फोनका ग्राहक १ हजार ४० र ईभीडीओको सेवा २ सय ४० जनाले लिएका छन् । पश्चिमाञ्चलमा थ्रीजी र ईभीडीओ सेवा पोखरामा मात्र उपलब्ध छ भने लुम्बिनीमा थ्रीजी सेवाको परीक्षण हँुदै छ । यस क्षेत्रमा एडीएसएल इन्टरनेट सेवा लिने ग्राहक ९ हजार १ सय ३८ छन् । पश्चिमाञ्चलमा टेलिकमको सेवा स्तरीय बनाउन जीएसएम मोबाइलका ४ सय १०, सीडीएमएका १ सय २२ बीटीएस टावरमध्ये २० वटा चालू अवस्थामा छन् । 

No comments:

Post a Comment