Thursday, September 8, 2011

आम्दानी साझेदारी गर्ने सर्तमा एलटीईमा सहकार्य प्रस्ताव

काठमाडौं, २० भदौ
फिनल्यान्डको एक कम्पनीले नेपाल टेलिकमसँग ‘लङ टर्म इभोलुसन’ (एलटीई) सेवा सहकार्यमा सञ्चालन गर्न प्रस्ताव गरेको छ । टेलिकमले चालू आर्थिक वर्षमा एलटीई सेवा सञ्चालन गर्ने नयाँ कार्ययोजना सार्वजनिक गरेपछि यसै साता फिनल्यान्डको एक कम्पनीले आम्दानी साझेदारी (रेभिन्यु सेयरिङ) गर्ने सर्तमा यस्तो प्रस्ताव गरेको हो । सुरुमा एलटीई सेवा सञ्चालनका लागि फिनल्यान्डको कम्पनीले लगानी गरेपछि आम्दानी बाँडफाँट गर्नेगरी प्रस्ताव आएको सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्रीधर गौतमले बताए । “प्रस्ताव आएको हो, रेभिन्यु सेयरिङमा जान मिल्ने वा नमिल्ने विषयमा कम्पनीले अध्ययनपछि बोलपत्र प्रक्रियाबाट जानुपर्छ,” सचिव गौतमले कारोबारसँग भने । एलटीई थर्ड जेनेरेसन (थ्रीजी) मोबाइलपछिको फोरजी सेवा हो ।
टेलिकमले यसै महिनाको सुरुमा आह्वान गरेको १ करोड लाइनको विश्वव्यापी बोलपत्रमा पनि अन्तिम चरणमा एलटीई समावेश गरेको छ । सुरुका फेजमा जीएसएम मोबाइल टुजी र थ्रीजीको कामपछि अन्त्यमा एलटीईतर्फ केन्द्रित हुने योजना टेलिकमको छ । टेलिकमले चालू आवको सुरुवातसँगै एलटीई सेवा सुरु गर्ने योजना सार्वजनिक गरेपछि फिनल्यान्डको कम्पनीको चासो नेपालतर्फ बढेको हो । “हामी टेन्डरबिना काम अघि बढाउन सक्दैनौं, यस विषयमा परामर्शदाता नियुक्त गर्नुपर्छ,” कम्पनीका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले भने । टेलिकम र एनसेलले थ्रीजी सेवा विस्तार गरिसके पनि फोरजीका लागि भने दुवै कम्पनी अध्ययनकै क्रममा छन् । एलटीईको मुख्य विशेषता उच्च गतिमा डाटा सेवा चलाउन सक्नु हो । एनसेल र टेलिकम दुवै कम्पनी डाटामा फड्को मार्ने तयारीमा छन् । एलटीईका विषयमा नियामक निकाय दूरसञ्चार प्राधिकरणले पनि अध्ययन गरेको थियो । नेपालमा सेवा सञ्चालन स्वीकृत गर्न उपयुक्त हुने वा नहुने, कसरी, कुन सर्तमा लाइसेन्स दिने भन्ने विषयमा प्राधिकरणले परामर्शदाता  नियुक्त गरेको छ । अध्ययन प्रतिवदेन भने नआएको प्राधिकरणले जनाएको छ । एलटीई सेवा नेपालका लागि थ्रीजी मोबाइलपछिको चौथो जेनेरेसनमा आधारित पछिल्लो र नयाँ प्रविधि भएकोले यसमा दुवै कम्पनीको ध्यान केन्द्रित भएको हो ।
सन् २०११ को सुरुवातदेखि एलटीईको परीक्षण गर्ने तयारी गरेको एनसेलले हालसम्म फ्रिक्वेन्सी अन्योलसँगै दूरसञ्चार प्राधिकरणबाट अनुमति नपाउँदा सेवा सुरु गर्न सकेको छैन । 

No comments:

Post a Comment