Friday, September 30, 2011

एक करोड मोबाइल पहिलेभन्दा महंगो


काठमाडौं, असोज १४ (नागरिक)- नेपाल टेलिकमको अहिलेसम्मकै सबैभन्दा ठूलो एक करोड मोबाइल उपकरणको ठेक्का यसअघिका भन्दा महंगो पर्ने भएको छ। बिहीबार खोलिएको टेन्डरमा सबैभन्दा सस्तो दिन प्रस्ताव गर्ने हुवाईले २० करोड ८३ लाख डलर प्रस्ताव गरेको छ। प्रतिलाइनको हिसाबले यो २० डलर ८३ सेन्ट (एकहजार पाँचसय ६२ रुपैयाँ) पर्ने भएको छ। 'नयाँ प्रविधिले यसपटक पहिलेभन्दा मूल्य बढेको छ,' टेलिकमका एक अधिकारीले भने। विगतमा मोबाइल उपकरण आपूर्तिको टेन्डर पाउन लागतभन्दा पनि सस्तोमा दिन प्रतिस्पर्धा हुने गरेकोमा यसपटक त्यो नभएकोले मूल्य बढेको अनुमान टेलिकम अधिकारीले गरेका छन्। स्रोतअनुसार ६० प्रतिशत टुजी र ४० प्रतिशत थि्रजीका लागि गरिएको टेन्डरमा दुई चिनिया कम्पनीबीच यसपटक पनि प्रतिस्पर्धा भएको छ। हुवाईले २० करोड ८३ लाख डलरमा एक करोड मोबाइल उपकरण दिने प्रस्ताव गरेकोमा जेडटिईले २५ करोड ७३ लाख डलर
प्रस्ताव गरेको छ।  टेलिकम स्रोतका अनुसार दुई प्याकेजमध्ये सस्तो मूल्य प्रस्ताव गर्ने हुवाईकै दर (प्रतिलाइन २० डलर ८३ सेन्ट) मा दिन चाहे दोस्रो हुने जेडटिईले समेत मोबाइल उपकरण बेच्न पाउनेछ। तर जेडटिई आफैंले प्रस्ताव गरेको प्रतिलाइन २५ डलर ७३ सेन्ट भने पाउनेछैन। प्रतिस्पर्धामा युरोपको कम्पनी एरिक्सन तेस्रो भएको छ। एरिक्सनले प्रतिलाइन ३८ डलर ५३ सेन्ट प्रस्ताव गरेको छ। चारवटा कम्पनीले टेन्डर फर्म किनेका थिए। अन्तिम समयमा अल्काटेलले भने प्रस्ताव पेस गरेन। 'दुई चिनियाबीच नै प्रतिस्पर्धा हुने र आफूले नपाउने निश्चित देखेपछि अल्काटेलले प्रस्ताव गरेन,' स्रोतले भन्यो। चिनिया उपकरण अरूभन्दा तुलनात्मक रूपमा सस्तो हुने भएकाले नेपालमा दूरसञ्चार उपकरणको ठेक्कामा युरोपियन र अमेरिकन कम्पनी प्रतिस्पर्धा नै गर्न नसक्ने अवस्था आएको छ। यो योजनाको लागि टेलिकमले ३० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरेको थियो। तर प्रतिस्पर्धामा हुवाईले अनुमान गरेभन्दा १० करोड डलर कममा प्रस्ताव गरेको छ। टेलिकमले ब्रिजिङ प्रोजेक्टका लागि किन्न लागेको ११ लाख ५२ हजार मोबाइल उपकरण भन्दा पनि यस पटक महंगो पर्ने भएको छ। ब्रिजिङ प्रोजेक्टका लागि टेलिकमले प्रतिलाइन १३ डलर ४४ सेन्ट (एकहजार आठ रुपैयाँ) दरमा किन्न लागेको छ। स्रोतअनुसार विगतमा जस्तो यसपटक दुई चिनिया कम्पनीबीच तीव्र प्रतिस्पर्धा नभएकाले पहिलेभन्दा महंगो परेको छ। प्रतिस्पर्धामा सबैभन्दा सस्तो मूल्यमा दिन प्रस्ताव गर्नेकै मूल्यमा दोस्रोलाई समेत झन्डै आधा मोबाइल उपकरण आपूर्तिको ठेक्का दिने तयारीपछि यी दुई कम्पनी मिलेको दाबी स्रोतको छ। 'दुई कम्पनीबीच प्रतिलाइन ५ डलरमात्र फरक पर्नुले मिलेमतो भएको अनुमान गरेका छौं,' टेलिकम अधिकारीले भने। एकातिर पहिलेभन्दा मूल्य बढ्नु र अर्कातिर ब्रिजिङ प्रोजेक्टका लागि दिन तयार भएको मूल्यभन्दा दोब्बर मूल्य जेडटिईले यसपटक प्रस्ताव गरेको छ। ब्रिजिङ प्रोजेक्टका लागि त्यही उपकरण साढे १३ डलरमा दिन तयार जेडटिईले अहिले प्रतिलाइन २५ डलर ७३ सेन्टमा मात्र दिन सक्ने प्रस्ताव गरेको छ।नयाँ प्रस्तावले हुवाईलाई भन्दा पनि जेडटिईलाई बढी फाइदा हुने अनुमान गरिएको छ। प्याकेज 'ए' अन्तर्गत ५२ लाख र 'बी' अन्तर्गत ४८ लाखमध्ये हुवाईले ५२ लाख र जेडटिईले ४८ लाख लाइनको ठेक्का पाउने सम्भावना बढेको छ। जेडटिईले हुवाईले प्रस्ताव गरेको मूल्यमा नयाँ ४८ लाख उपकरण प्रतिलाइन झन्डै २१ डलर र पुरानो ब्रिजिङको साढे ११ लाख उपकरण साढे १३ डलरमा बेच्ने मौका पाउने भएको छ। टेलिकम अधिकारीले जेडटिईको ब्रिजिङ प्रोजेक्टभन्दा एक करोडको नयाँ उपकरण सस्तो पर्ने अनुमान गरेका थिए।

No comments:

Post a Comment