Saturday, September 17, 2011

एक करोड मोबाइल टेन्डरमा चलखेल

रामचन्द्र भट्ट, काठमाडौं, असोज १ - सार्वजनिक लेखा समितिले नेपाल टेलिकमका टेन्डर प्रक्रिया छिटो गरेर मोबाइलमा नयाँ प्रविधि ल्याउन दिएको निर्देशनविपरीत व्यवस्थापनले एक करोड लाइन मोबाइल खरिदमा १० दिनको म्याद थपेको छ।  टेलिकमले एक करोड लाइन जिएसएम मोबाइल किन्न गरेको टेन्डरको म्याद १० दिन लम्ब्याएको छ। यो टेन्डर खोल्ने म्याद असोज २ गते रहेकामा बढाएर १२ गते पुर्‍याइएको हो।
 टेलिकमले गरेका टेन्डरहरु म्याद थप्दै समयमा नखुल्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायतमा उजुरी पर्दा कुनै पनि समयमा पूरा भएका छैनन्। मोबाइल खरिद गर्न भएका टेन्डर समयमा मूल्यांकन हुन नसक्दा टेलिकमका धेरै आयोजना रोकिएका छन्। गत महिना टेलिकमका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले संसदको सार्वजनिक लेखा समितिमा 'ब्रिजिङ प्रोजेक्ट' ल्याउन नसके मंसिरदेखि मोबाइलको सिमकार्ड बाँड्न नसकिने जानकारी दिएका थिए। टेलिकमले एक करोड जिएसएम मोबाइल ल्याउनु अघि ब्रिजिङ प्रोजेक्टको रुपमा ११ लाख ५० हजार लाइन किन्ने निर्णय गरेको छ। लेखा समितिले ब्रिजिङ प्रोजेक्टको रुपमा नयाँ लाइन किन्न भन्दा पनि समयमै टेन्डर गर्न र मूल्यांकन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। तर टेलिकम सञ्चालक समितिले एक करोड लाइन खरिद कार्यक्रमलाई ढिला गर्न अनावश्यक रुपमा १० दिन म्याद थपेको आरोप कर्मचारीले लगाएका छन्। 'अहिले टेलिकम प्लान होलिडेको अवस्थामा छ, अनावश्यक रुपमा टेन्डरको म्याद थप्दा झनै ढिला हुने अवस्था आउँछ,' टेलिकम वर्कर्स युनियनका अध्यक्ष मनिल ओझाले भने। चाँडो एक करोड लाइन मोबाइल किनेर मागअनुसार वितरणको क्षमता बनाउनुपर्नेमा टेन्डरको म्याद यस्तै गरी थप्दै जाँदा समयमा कुनै पनि आयोजना सुरु नहुने अवस्था आउने उच्च अधिकारी नै बताउँछन्। टेलिकमको प्रतिस्पर्धी एनसेलले गत वर्ष विस्तार र नयाँ आयोजनामा साढे सात अर्ब रुपैयाँ खर्च गरेको छ। तर टेलिकमले भने चार अर्ब रुपैयाँमात्र विस्तारमा खर्च गरेको थियो। गत वर्ष नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) खरिद गर्न टेलिकमले गरेको टेन्डरलाई अख्तियारले रद्द गर्न निर्देशन दिएपछि त्यसबाट धेरै योजना प्रभावित भएका छन्। तारवाला टेलिफोनमा ल्याउन लागिएको एनजिएन प्रविधिबाट केबुल टिभी, उच्च गतिको इन्टरनेट र टेलिफोन एकैपटक चलाउन सकिन्छ । एनजिएनको लागि प्रतिस्पर्धा गरेका जेडटिई र हुवाईबीच अस्वस्थ प्रतिस्पर्धाले गर्दा टेलिकमले यो योजना रद्द गर्नुपर्ने अवस्था आएको हो। त्यतिखेर पनि टेलिकमले दुईपटक टेन्डरको म्याद थप गरेको थियो। टेलिकमले किन्न लागेको एक करोड लाइन मोबाइलका लागि अहिलेसम्म दुई चिनियाँसहित चारवटा कम्पनीले चासो देखाएका छन्। हुवाई, जेडटिई, इरिक्सन र अल्काटेलले चासो दिएर टेन्डर फर्म किनिसकेका छन्। हुवाई र जेडटिई चिनियाँ कम्पनी हुन्। इरिक्सन र अल्काटेल युरोपिएन कम्पनी हुन्। 'टेन्डर फर्म किन्ने चारवटै कम्पनीले म्याद थप्न माग गरेकाले १० दिन थपिएको हो,' टेलिकमका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले भने। टेलिकम स्रोतका अनुसार चारवटा कम्पनीले चलखेलका लागि १० दिनदेखि दुई महिनासम्मको म्याद थप्न माग गरेका छन्। यही मागअनुसार टेलिकम सञ्चालक समितिले लेखा समितिको निर्देशन र चासोविपरीत थप म्याद दिएको हो। एक करोड लाइन मोबाइल खरिद योजनामा पनि चिनियाँसहित युरोपिएन कम्पनीको चलखेल बढेको छ। जस्ले सस्तो दिने प्रस्ताव गर्छ त्यसैको किन्नुपर्ने व्यवस्थाअनुसार टेलिकमले गुणस्तरीय भने किन्न नसक्ने अवस्था छ। यो योजनाका लागि टेलिकमले ३० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरेको छ। तर प्रतिस्पर्धामा आउँदा भने दुई चिनियाँ कम्पनीबीच चर्को प्रतिस्पर्धा हुने सम्भावना रहेको टेलिकम अधिकारीहरु बताउँछन्। 'उसै त समयमा मूल्यांकन, उपकरणको हस्तान्तरण, जडान गर्न नसकिएको अवस्थामा एक पछि अर्को गर्दै टेन्डरको म्याद थप्नाले टेलिकमलाई नियतवशः पछि धकेल्ने काम भइरहेको छ,' ओझाले भने। प्रबन्ध निर्देशक गोयलले भने विगतमा टेन्डरहरु भन्दा यसपटक कडाइ गरेर ४५ दिनको मात्र म्याद दिइएको बताए। 'सबैतिरबाट टेलिकमले चाँडो आयोजना सम्पन्न गर्न चासो र सुझाव आइरहेको अवस्थामा अरु म्याद थप हुँदैन,' गोयलले भने, '१० दिनभन्दा अरु म्याद कुनै पनि अवस्थामा दिइँदैन।'

No comments:

Post a Comment